सार्दी (नवलपरासी) । नवलपरासी (पूर्व) को दुम्कीबासबाट १२ किलोमिटर उत्तरपश्चिम लागेपछि देखापर्छ एउटा छुट्टै आधुनिक संसार । हेर्दा लाग्छ कुनै व्यवस्थित सहरमा आइपुगिएछ । जंगलबीचबाट खोलिएको करिब १२ किलोमिटर कच्ची बाटो छिचोलेपछि जहाँ पुगिन्छ त्यसले जो कोहीलाई मोहित तुल्याउँछ । लाग्छ कुनै सुविधासम्पन्न तारेहोटलको परिसरमा प्रवेश गरिएछ । तर यो स्थानमा न कुनै तारेहोटल छ न कुनै मानव बसोबासको आधुनिक सहर । यहाँ स्थापित छ, नेपालकै सबैभन्दा ठूलो सिमेन्ट कम्पनी होङ्सी शिवम् सिमेन्टको फ्याक्ट्री ।
चीनको होङ्सी होल्डिङ ग्रुपको सहायक कम्पनी हङकङ रेड लायन सिमेन्ट नम्बर ३ लिमिटेडको ७० प्रतिशत र शिवम् होल्डिङ नेपालको ३० प्रतिशत गरेर कुल ३६ अर्ब लगानीमा स्थापित हुँदै गरेको होङ्सी शिवम् सिमेन्ट कम्पनी नेपालमा हालसम्मकै ठूलो सिमेन्ट उत्पादक कम्पनीको रूपमा परिचित छ । पहिलो चरणको निर्माणपछि पूर्ण रूपमा सञ्चालनमा आइसक्दा यस कम्पनीले दैनिक ६ हजार मेट्रिकटन क्लिंकर सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ भने अबको तीन वर्षपछि यसले दैनिक १२ हजार मेट्रिकटन उत्पादन गर्ने लक्ष्य बोकेको छ ।
सिमेन्ट उद्योग भन्नेबित्तिकै हाम्रो मानसपटलमा धुलो उडेको र वातावरण प्रदूषणको दृश्य नाच्ने गर्छ । सिमेन्ट कारखानाले धुलो पैदा गरेर वातावरणलाई दूषित गर्ने भएकाले मानव बस्ती भएको स्थानमा सिमेन्ट कारखाना नराखियोस् भन्ने चाहन्छौ । वातावरण प्रदूषण हुने कारणले नै चोभारको हिमाल सिमेन्ट कारखाना पुन सञ्चालनमा आउन सकेन । उक्त सिमेन्ट कारखाना हाल खण्डहरमा परिणत भएको छ । तर होङ्सी शिवम् सिमेन्ट कारखानाको अवस्था बेग्लै छ । मुलुककै सबैभन्दा ठूलो सिमेन्ट कारखाना रहेको स्थानमा धुलो आँखाले खोज्दा पनि भेटिँदैन । कारखानामा ग्रिन अवधारणा अनुरूप न्यून मात्रामा वातावरण प्रदूषण हुनेगरी अत्याधुनिक प्रविधिहरू जडान गरिएका छन् ।
त्यतिमात्रै होइन सिमेन्ट प्लान्टले उत्पादन गर्ने धुलो र तापक्रमलाई ‘कम्प्रेस’ गरेर उद्योगलाई चाहिने कुल विद्युतीय ऊर्जाको एक तिहाइ विद्युत् ऊर्जा उत्पादनको प्रबन्ध मिलाइएको छ । यसलाई ‘वेस्ट हिट टु पावर जेनेरेसन’ प्रविधि भनिन्छ । ‘उद्योगलाई चाहिने कुल विद्युतीय ऊर्जा ८० मेगावाट हो, त्यसको एक तिहाइ यही प्रविधिबाट उत्पादन गर्छौ, प्लान्टबाट उत्पन्न हुने तापलाई कम गरेर हामीले त्यसबाट हाल सात मेगावाट बिजुली उत्पादन गरिरहेका छौं, पूर्ण क्षमतामा कारखाना चलेपछि १२ मेगावाट विद्युत् उत्पादन हुनेछ’, होङ्सी शिवम् सिमेन्टका प्रबन्ध निर्देशक विपेङ लाईले भने । त्यतिमात्रै होइन कारखानामा प्रयोग हुने पानीलाई समेत खेर जान नदिएको उनले सुनाए । ‘पानीलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याइरहेका छौं’, उनले भने ।
होङ्सी शिवम् सिमेन्ट कम्पनी यति कुराले मात्र नेपालको लागि नौलो छैन । यसमा जडित सम्पूर्ण प्रविधि त नौलो र अत्याधुनिक छँदैछ, आयोजना निर्माण र सञ्चालनको दृष्टिले पनि यो कम्पनी नेपालका परियोजनाविद्हरूलाई पाठ सिकाउने खालको छ । नेपालमा एउटा रोग छ, आयोजना सुरु हुने तर निर्माण सम्पन्न हुन वर्षांै लाग्ने । निर्माण सुरु भएर आयोजना सम्पन्न हुँदासम्म पटकपटक समय थपिने र त्यही अनुपातमा लगानी पनि वृद्धि हुँदै जाने । तर होङ्सी शिवम् सिमेन्टले आयोजना निर्माण सुरु गरेको १४ महिनामै उत्पादन सुरु गरेर नेपालका परियोजना सञ्चालकहरूलाई राम्रो पाठ सिकाएको छ । २०७२ साउन १२ गते लगानी बोर्डबाट वैदेशिक लगानी स्वीकृति पाएको कम्पनीले लगानी बोर्डसँग २०७४ भदौ १८ गते आयोजना लगानी सम्झौतामा हस्ताक्षर गरेको थियो । पहिलो चरण अन्तर्गत ९० विगाहा जमिन लिएर २०७३ साल माघ २१ गतेदेखि कम्पनीले आयोजना निर्माण कार्य सुरु ग¥यो । निर्माणकार्य आरम्भ गरेको करिब १४ महिनापछि कम्पनीले सिमेन्टको परीक्षण उत्पादन सुरु गर्यो भने गत जुनदेखि बजारमा सिमेन्टको बिक्री वितरण नै सुरु गरेर आश्चर्यचकित तुल्याएको छ ।
तर विडम्बना, नेपाल सरकारले कम्पनीलाई उपलब्ध गराइदिने पूर्वाधार भने अहिलेसम्म पनि पुर्याउन सकेको छैन । सम्झौताबमोजिम नेपाल सरकारले महेन्द्र राजमार्गदेखि कारखानासम्म र कारखानादेखि खानी भएको स्थानसम्म करिब ३५ किलोमिटर सडक निर्माण र आवश्यक विद्युत् उपलब्ध गराइदिनु पर्ने थियो । यो दुवै पूर्वाधार सरकारले २४ महिनामै उपलब्ध गराउने वाचा गरेको थियो । तर २७ महिना वितिसक्यो । तर सरकारले ती पूर्वाधार उपलब्ध गराउन अझै आठ महिना लाग्ने देखिएको छ । विद्युत् अभाव र सडकको स्तर राम्रो नहुँदा कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको प्रबन्ध निर्देशक विपेङको गुनासो छ । ‘विद्युत् अभावमा हामीले थर्मल प्लान्ट चलाउनु परिरहेको छ, यसले हाम्रो लागत बढेको त छ नै साथै वातावरण पनि बिगारिरहेको छ, जुन हामी चाहँदैनौं’, उनले भने, ‘हामीले नचाहँदा नचाहँदै पनि डिजेल डढाउनु परिरहेको छ, जबकि हामी वातावरण विनाश गर्न चाहिरहेका छैनौं, त्यसैले जतिसक्दो चाँडो नेपाल सरकारले हामीलाई सर्तबमोजिमको विद्युत् उपलब्ध गराइदेओस् भन्ने चाहन्छौं ।’
होङ्सी शिवम् सिमेन्ट कम्पनीको कारखाना नवलपरासी (पूर्व) मा रहे पनि यसको चुनढुंगा खानी भने पाल्पा जिल्लामा रहेको छ । कारखानाबाट खानीसम्मको दूरी २८ किलोमिटरको रहेको छ । खानीमा १२ करोड टन चुन ढुंगा रहेको जनाइएको छ । परियोजनाको पहिलो चरण लगानी सम्झौता भएको मितिले अढाइ वर्षमा सम्पन्न हुनेछ । कम्पनीले कुल ९० बिगाहामध्ये १५० हेक्टर सार्वजनिक र १४७ हेक्टर निजी जग्गा अधिग्रहण गरेको छ । खानी क्षेत्रमा रहेका निजी जग्गा र घर भएकाहरूलाई त्यही बराबरको जमिन र पक्की घर कारखाना भएको सुगम स्थानमा बनाएर बस्ती स्थान्तरणको कार्य अघि बढाइएको छ । यसले गर्दा स्थानीयवासीहरू हर्षित छन् । उनीहरूले योग्यता र क्षमताअनुसारको रोजगारीसमेत कम्पनीमा पाएका छन् । कम्पनीमा हाल चार सयभन्दा बढीले रोजगारी पाएका छन् भने कारखानाको निर्माण पूरा भएर पूर्ण क्षमतामा सञ्चालन हुँदा एक हजारभन्दा बढीले रोजगारी पाउने जनाइएको छ ।
यसैगरी नेपाल सरकारले परियोजना लगानी सम्झौता दस्तुरबापत सात करोड ३५ लाख प्राप्त गरिसकेको छ भने राजस्व, आयकर, भन्सार एवं अन्य आर्थिक लाभ गरेर चार अर्ब नौ करोड रुपैयाँ प्रतिवर्ष प्राप्त गर्ने लगानी बोर्ड नेपालले जनाएको छ । कम्पनीबाट हाल नेपाली मापदण्ड अनुरूप उच्च गुणस्तरको ओपीसी र पीपीसी सिमेन्ट उत्पादन भइरहेको छ । त्यस्तै यसले चिनियाँ मापदण्डको सिमेन्ट पनि उत्पादन गर्ने जनाएको छ । कारखानामा ६ सेट अटोमेटिक सिमेन्ट प्याकेजिङ मेसिन र १२ सेट सिमेन्ट बोरा लोडिङ मेसिन जडान गरिएका छन् जसले दैनिक कुल १० हजार टनभन्दा बढी सिमेन्ट ट्रान्सपोर्ट गर्न सक्छ ।
पाँच वर्षपछि सबै व्यवस्थापकीय जिम्मेवारी नेपालीलाई सुम्पने चिनियाँ प्रबन्ध निर्देशक विपेङले बताए । कारखानामा उत्पादनको सबै अनुगमन टीसीएस (भिडियो) सिस्टमबाट गरिँदै आइएको छ । कारखानाले हाल प्रतिघन्टा ४०३ मेट्रिकटन कच्चा पदार्थ खपत गर्ने गरेको पनि उनले जानकारी दिए । कच्चा पदार्थ ओसार्न हाल दैनिक २२० वटा ट्रक खानी क्षेत्रमा चल्ने गरेको उनले बताए । हाल बजारमा अन्य सिमेन्टकै मूल्यमा बिक्री वितरण गर्दै आएको होङ्सी शिवम्ले विद्युत्का लागि थर्मल प्लान्ट सञ्चालन गर्नु नपरे सस्तोमा सिमेन्ट बेच्न सकिने प्रबन्ध निर्देशक विपेङको भनाइ छ ।
प्रतिक्रिया