काठमाडों । राष्ट्रिय खेलकुद परिषदले आसन्न आठौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपालीको टोली पनि सहभागी गर्ने निर्णय गरेको छ । आगामी माघ २२ देखि प्रदेश नम्बर ५ का बिभिन्न जिल्लामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ ।
पहिलो पटक संघीय संरचना अनुरुप आयोजना गर्न लागिएको प्रतियोगितामा सात प्रदेश र तीन बिभागीय टोलीको सहभागिता रहनेछ ।सहभागितामा अर्को एउटा टोली थप्ने निर्णय राष्ट्रिय खेलकुद परिषदले हालै गरेको छ । अब आठौं राष्ट्रिय खेलकुदमा ११ टोलीको सहभागिता रहनेछ ।
राखेप सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुदमा ११ टोलीको सहभागिता रहने निश्चित भएको पुष्टि गरे । उनले भने, ‘हामीले एनआरएनका अध्यक्ष भवन भट्टसँग पनि ओपचारिक कुराकानी गरिसकेका छौं, एनआरएनका खेलकुद बिभागका प्रमुखसँगको छलफल पनि एनआरएनको टोली आउने निश्चित भएको छ ।’
आर्थिक र अन्य कारणहरुले पलायन भएका प्रतिभालाई राष्ट्रिय खेलकुद हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा निश्चित बनाउनका लागि गैरआवासीय टोलीको सहभागिता खोजिएको सदस्य सचिव विष्टले बताए ।
‘बिदेशमा बसेर खेललाई निरन्तरता दिइरहेका र नेपाली नागरिकता भएका सबै खेलाडीले यस प्रतियोगितामा सहभागिता जनाउन पाउँछन् ।’ सदस्य सचिव विष्टले भने ।
सदस्य सचिव विष्टले बिदेशमा धेरै नेपाली प्रतिभा रहेको भन्दै उनीहरुलाई मुलुकका लागि खेल्ने अवसर प्रदान गरिएको बताए ।
प्रतिक्रिया