देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रामविलासका हत्यारालाई केन्द्र र प्रदेश दुबै सरकारले जोगाउन खोजेः उपसभापति निधि

देशान्तर

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाहीको रामनगर घटनाका दोषीलाई संघीय सरकार र प्रदेश सरकार दुबैले जोगाउन खोजेको आरोप लगाएका छन्।

उनले कांग्रेस कार्यकर्ता राम विलास महतोलाई हत्या गरेका व्यक्तिहरुको नाम प्रहरीले समेत पहिचान गरिसके पनि केन्द्र सरकारले दोषीलाई नसमात्न निर्देशन दिएको आरोप लगाए।

शनिवार जनकपुरमा जनकपुर युथ क्लबको नवनिर्मित भवन र १३ औं साधारणसभाको उद्घाटन गर्दै निधिले प्रदेश सरकारले पनि अपराध नियन्त्रण गर्न कुनै कदम नउठाएको भन्दै प्रदेश सरकारको भूमिकामाथि समेत प्रश्न गरे।

‘रामविलास महतोलाई हत्या गर्ने र वडाध्यक्षमाथि आक्रमण गर्ने व्यक्तिलाई पीडितहरुले स्पष्ट पहिचान गरिसकेका छन्। प्रहरीले समेत पहिचान गरिसकेको छ। तर, केन्द्र सरकारले नसमात्न निर्देशन दिएकाले प्रहरीले उनीहरुलाई नसमातेको हो,’ पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका निधिले भने,‘दुबै सरकार अपराधीहरुलाई जोगाउन खोज्दै छन्। प्रदेश सरकार पनि किन चुप छ? प्रदेश सरकारले पनि जवाफ दिनुपर्छ।’

उनले संघीय शासन प्रणाली सुदृढ गर्न तथा संघीयता बचाउन कांग्रेसले प्रदेश सरकारलाई प्रदेश प्रहरी ऐन लगायतका आवश्यक कानुन निर्माणमा सहयोग गरेको उल्लेख गरे। हत्या, हिंसा बलात्कारका घटनाहरु बढेपनि सरकारले केही गर्न नसकेको भन्दै उनले केन्द्र र प्रदेश दुबै सरकारमाथि आक्रोश व्यक्त गरे।

‘हत्या, हिंसा, बलात्कारका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको छन्, केन्द्र सरकार यसलाई नियन्त्रण गर्न असफल भएको छ। तर, के प्रदेश सरकारको केही जिम्मेवारी छैन?,’उनले भने।

उपसभापति निधिले प्रदेश २ लाई ‘मिथिला प्रदेश’ नामाकरण गर्न प्रदेश सरकारलाई सुझाब दिए।