काठमाडौं । ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको शनिबार राति ९ बजेर २० मिनेट जाँदा ललितपुरको खुमलटारस्थित निवासमा निधन भएको छ । विसं. २०६९ सालको पुस महिनामा विराटनगरमा एउटा कार्यक्रममा सहभागी भइरहेकै समयमा उनलाई मस्तिष्कघात भएको थियो ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य बास्तोला पूर्वपरराष्ट्रमन्त्री र भारतका लागि पूर्वराजदूतसमेत रहेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालासँग समेत अन्तरंग सम्बन्ध भएका बास्तोलाका बारेमा स्वयं बीपीले ‘अत्यन्त तेजस्वी युवक’ भनेर प्रशंसा गरेका छन् ।
भारतको राजनीतिक आन्दोलन र पत्रकारितामा लामो समयसम्म संलग्न रहेका भोला चटर्जी (सन् १९२२—१९९२) ले अक्टोबर १९७९ देखि नोभेम्बर १९८१ सम्म पटक–पटक गरी श्रृंखलावद्ध रुपमा बीपी कोइरालासँग अन्तर्वार्ता लिएका थिए ।
सोही टेप अन्तर्वार्ताकै आधारमा प्रश्नोत्तरकै रुपमा लेखिएको उनको पुस्तक ‘बीपी कोइराला स् पोट्रेट अफ ए रिभोल्यूशनरी’ प्रकाशित भएको थियो । पछि त्यसलाई ज्ञानचन्द्र आचार्य, प्रल्हादकुमार प्रसाई, रुद्रकुमार नेपाल र मुक्तिनाथ भट्टले संयुक्त रुपमा अनुवाद गरेकोमा साझा प्रकाशनले पुस्तकका रुपमा २०५१ सालमा पहिलो संस्करण प्रकाशित गरेको थियो ।
एक प्रसंगमा बंगलादेशमा स्वतन्त्रता सेनानीलाई आफूले हतियार पठाएको बीपीले बताएका छन् । सन् १९७१ मा बीपीले चक्र बास्तोला र सुशील कोइरालालाई एक ट्रक हतियारसहित बंगलादेश पठाएको पुस्तकमा चर्चा रहेको छ । पुस्तकमा रहेको प्रश्नोत्तर जस्ताको तस्तैः
बीपी ठीक संख्या त सम्झन्नँ तर एक ट्रक अर्थात् मसँग बनारसमा भएजति सबै नै पठाइएको हो । त्यसको सातआठ लाख रुपियाँ जति परेको हुन पर्छ । उनीहरुको उद्देश्य पूरा भएपछि ती हतियार फिर्ता हुन्छन् भन्ने मैले सोचेको थिएँ । त्यसका अतिरिक्त उनीहरुलाई तालिम दिन मैले केही प्रशिक्षकहरुपनि पठाउनु परेको थियो ।
हाम्रा दुई युवाहरु चक्र र सुशील कोइराला त्यो ट्रकसँगै बंगलादेश गए । साथै, क्यान्सर रोगले हालै देहान्त भएका हाम्रा प्रशिक्षक कर्णेल राईलाई पनि मैले पठाउनुपरेको थियो तर राई फर्केर त्यहाँको स्थिति निराशाजनक भएको मलाई बताए । भारत सरकारले उद्धार नगर्ने हो भने तिनीहरु(युवा बंगलादेशी स्वतन्त्रता सेनानीहरु) सखापै हुने देखिन्थ्यो । यो प्रयास निरर्थक थियो र उनीहरु सबै मारिन सक्थे । उनीहरुसँग सामरिक महत्वको एउटै मात्र नदीको पुल उडाउन पुग्ने बिस्फोटक सम्म पनि थिएन ।
बंगलादेशको पार्वतीपुर नजीक एउटा ठूलो छाउनी थियो । पाकिस्तानी सेना रातको समयमा त्यहाँबाट निस्केर नजीकका गाउँहरुमा विध्वंश गरी बिहानपख ब्यारेकमा फर्कन्थे । त्यहाँको एउटै मात्र पुललाई स्वतन्त्रता सेनानीहरुले ध्वस्त गर्न सकेका भए सायद केही गर्न सकिन्थ्यो । उनीहरुले यसलाई ध्वस्त गर्न हातेबम प्रयोग गरे तर सफल भएनन् । ठूला हतियार नपाएसम्म यो संभव छैन भन्ने उनीहरुको भनाइ थियो । त्यसैले उनी केही हप्तापछि फर्के ।
बीपी र बास्तोलामा । उनले बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति शास्त्रमा एम् ए गरेका छन् । उनी अत्यन्तै तेजस्वी युवक छन् । अर्का युवा सुधीर उपाध्याय पनि सुशील र चक्रका साथ बंगलादेश गएका थिए ।
चटर्जीः जयप्रकाशले बंगलादेशका स्वतन्त्रता सेनानीहरुलाई हातहतियार दिन तपाईंलाई भन्नु भएअनुसार तपाईंले एक ट्रक हातहतियार र आवश्यक प्रशिक्षण दिन आफ्ना केही मानिसहरु बंगलादेश पठाउनुभएको हो भन्ने कुरा यस विवरणका आधारमा जयप्रकाशबारेको मेरो अध्ययनमा के मैले समाबेश गर्न सक्छु ?
बीपीः हुन्छ, समावेश गर्न सक्नुहुन्छ । बंगलादेशको घटनापछि मैले फेरि हातहतियार जम्मा गर्न थालें । हाम्रो विचार नेपालको भित्री भागको एउटा जिल्ला कब्जा गर्ने र त्यहाँ मोर्चा खडा गरी अन्यत्र फैलिंदै जाने थियो । साथै हाम्रो मुख्यालय पनि भारतीय भूमिबाट त्यहीं सार्ने विचार थियो । त्यस निम्ति हामीले ओखलढुंगा छान्यौं र हाम्रा मानिसले त्यहाँ सेनाका केही व्यक्तिहरुसँग सम्पर्क गरे ।
सैनिकहरुले शुरुमा हाम्रा मानिसहरुलाई साथ दिन मानेनन् तर कुनै प्रभावकारी आक्रमण भएमा बागी शक्तिलाई मद्यत गर्ने वचन दिए । हामीले पहिले आक्रमण गरी त्यसपछि थप सैन्यबल पठाउने योजना गरेका थियौं । तदनुसार पहिलो समूह हामीले पठायौं । साभार
प्रतिक्रिया