देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यो वर्षको वडादसैंमा नहोस् दुर्घटना

देशान्तर

दसैं निसन्देह नेपालीहरुको सबैभन्दा ठूलो चाड हो । हिन्दूहरुले धुमधामका साथ मनाउने यो पर्वमा अन्य धर्म समुदायका मानिसहरुपनि रमाएकै हुन्छन् । आफूभन्दा अग्रज र अभिभावकको हातबाट टिका, जमरा र आशीर्वाद थाप्नु दसैं मुख्य पक्ष हो ।

दसैंको धार्मिक, सांस्कृतिक महत्वका साथै इष्टमित्र आफन्तजनबीच भेटघाटको अवसर जुटाउने सन्दर्भ पनि दसैं नै हो । त्यसैले गाउँ छोडेर सहर, सहर छोडेर राजधानी र देश छोडेर विदेश पुगेकाहरुसमेत दसैंमा घर फर्कन्छन् । दसैं नेपालीहरुले सबैभन्दा बढी यात्रा गर्ने अवधि हो । दसैं बिदाको सदुपयोग गर्दै घुमफिर गर्न रुचाउनेले पनि यो अवधिमा यात्रा बढी गर्दछन् ।

सामान्य अवस्थामा पनि सडक सुरक्षा नेपालमा महत्वपूर्ण बहसको विषय हो । सुरक्षित यात्राका लागि नेपाली सडक र यातायात प्रणाली सधैं कमजोर नै ठहरिदै आएका छन् । वर्षेनी सडक दुर्घटना र क्षतिको ग्राफ बढ्दो छ । अझ दसैंका बेला बढी सडक दुर्घटना हुने गरेको पाइन्छ । हाम्रा सडकहरुको अवस्था अझैं दयनीय छ । जति नै समृद्धिका कुरा गरेपनि सडक सञ्जाल व्यवस्थित र सुरक्षित छैनन् ।

तराईका केही जिल्लाहरुमा चिल्ला सडक देखिएपनि पहाडी क्षेत्रमा अझैं डरलाग्दो भीरको छेउबाट सवारी चल्नुपर्ने बाध्यता छ । सडक सञ्जालको विस्तार भएपनि निकासका लागि मात्रै खनिएका बाटोमा यात्रुबाहक सवारी चल्नुपर्दा यात्रुहरुको सुरक्षा स्वभाविक खतरामा पर्दछ ।

नेपालमा वर्षेनी सरदर १ हजार ८ सय भन्दा बढी व्यक्तिहरुको मृत्यु सडक दुर्घटनाका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । पछिल्लो समय यो संख्या बढेर वार्षिक २ हजार पुगिसकेको छ । सन् २०११ देखि २०२० सम्मको दशकलाई संयुक्त राष्ट्रसंघले विश्व सडक सुरक्षा दशकका रुपमा घोषणा गरेपनि नेपालमा सडक सुरक्षाको क्षेत्रमा उल्लेखनीय काम हुन सकेको छैन ।

नेपाल सरकारले २० वर्ष पुराना सवारी साधन चल्न नदिने घोषणा गरेको वर्षौ बितिसकेपनि हालसम्म पूर्ण कार्यान्वयन हुन सकेको छैन । देशका अधिकांश स्थानमा सडक रुग्ण अवस्थाका छन् । रुग्ण सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर गुड्ने थोत्रा सवारी साधनहरु सडक दुर्घटनाका मुख्य कारक हुन् ।

सडक सुरक्षाको विषयलाई यातायात व्यवसायी, यातायात मजदुर र यात्रु समेतले चासो दिएको पाइदैन । दसैंका समयमा मात्रै १५ लाखभन्दा बढी सर्वसाधारणले काठमाडौं उपत्यका छाड्दैछन् । दसैं मान्न घर जाने र फर्कने दुवै बेलामा टिकट र गाडीका लागि यात्रुहरुले सधै सास्ती खेप्दै आएका छन् । त्यो भन्दा सास्ती बाटो र सवारीको दुरावस्थाका कारण छ ।

दसैंमा जति नै आशीर्वाद पाएपनि यात्रामा सधै ज्यानको जोखिम लगाउन नेपाली बाध्य छन् । सरकारले दसैंलाई लक्षित गरेर सुरक्षित यात्राका लागि प्रयास गरेको बताएपनि त्यो प्रभावकारी हुन सकेको छैन ।

ट्राफिक प्रहरीका अनुसार सडक र सवारीको अवस्थाबाहेक चालकको मनोविज्ञान, मादक पदार्थ सेवन, तीव्र गति जस्ता कारणले सवारी दुर्घटना बढी हुने गरेका छन् । दसैं र तिहारबीचको अवधि नेपालमा सबैभन्दा धेरै दुर्घटना हुने अवधिका रुपमा रहेका छन् । यस्तो अवस्थामा सुरक्षित यात्राका लागि सबैपक्ष सचेत हुन जरुरी देखिन्छ ।

दुर्घटना न्यूनीकरणका लागि तत्काल गर्न सकिने, छोटो अवधिमा गर्न सकिने र दीर्घकालीन रुपमा गर्न सकिने खलका कार्ययोजनाहरु लागु गरिनुपर्छ । यात्रु, चालक, ट्राफिक र सुरक्षाकर्मीले आ–आफ्नो भूमिका सही ढंगबाट निर्वाह गर्न जरुरी छ । सार्वजनिक सवारीसंगै निजी सवारी चलाउनेले पनि संयमित हुन जरुरी छन् ।

दुर्घटनामा दुई प्रांग्रे सवारीको संख्या बढ्दै गएकोले दुई प्रांग्रे सवारी चलाउनेले पनि सडकमा सवारी चाप बढी हुने दसैंको समयमा सुरक्षित यात्राका लागि सजगता अपनाउनुपर्छ । मापसे गरेर सवारी चलाउनु हँुदैन भने सवारी र सडकको अवस्थाबारे सचेत हुनुपर्छ ।

क्षमताभन्दा बढी यात्रु बोक्ने वा तीव्र गतिमा सवारी हाँक्नेलाई निरुत्साहन गर्नुपर्छ । यसका लागि ट्राफिकले पनि विशेष कदम चाल्न आवश्यक छ । समग्रमा दसैंमा बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नैपर्छ । शुभ दसैं ।