मानव सभ्यताको विकाससँगै मानव समाजमा विभिन्न रीति, चाडपर्व, चालचलन पनि प्रचलनमा आए । भूगोल, वातावरण, समाजअनुसारका रीतिथिति र चाडपर्व मनाउन थाल्यो मानिसले । कतिपय यस्ता चाडपर्व सांस्कृतिक, सामाजिक, मानवीय महत्त्वका रहे भने कतिपय विशुद्ध धार्मिक । यीसँगै संस्कृति र सभ्यताको पनि विकास हुँदै आयो ।
विश्वका सबैजसो समाजमा आआफ्नै संस्कृति र सभ्यता कायम छन् । ती संस्कृति र सभ्यताप्रति ती समाज, समुदायले गर्व गर्छन्– चाहे त्यस्ता संस्कृति मानवीय, सामाजिक र अन्य हिसाबले आजको समयमा गलत नै किन नभनिऊन् । आफ्ना परम्परा र संस्कृति अनि सभ्यताप्रति इमानदार र वफादार रहेकै छन् मानिसहरू ।
यद्यपि, कतिपय यस्ता संस्कृति, संस्कार र परम्परा पनि जीवित छन् मानव समाजमा कि ती आधुनिक विकसित समाजमा पाच्य वा स्वीकार्य हुन गाह्रो छ । तथापि, मानिसले तिनलाई त्याग्न वा तोड्न सकेको छैन ।
यस्ता संस्कृति र परम्परा आज ‘कुरीति’, ‘कुसंस्कार’, ‘असभ्यता’मा रूपान्तर हुँदै गएका छन् । हाम्रा संस्कृति र सभ्यतामा पनि यस्ता कुराहरू छन् र तिनलाई त्याग्दै वा परिमार्जन गर्दै जानु जरुरी छ ।
हरेक वर्ष यो समय नेपालीहरूका लागि अत्यन्तै महत्वपूर्ण दुई ठूला चाडको समय हो । बडादशैं र शुभदीपावली वा दशैं र तिहारको समय हो यो समय । शास्त्रहरूमा जे जसरी यी चाडपर्वको उल्लेख गरिए पनि समय विकासको यो चरणमा आइपुग्दा परम्परा र सभ्यता अनि संस्कृतिमा पनि रूपान्तरण र परिमार्जन आवश्यक छ ।
यसर्थ हाम्रा समाजमा चलनमा रहेका यस्ता चाडपर्वलाई मानवीय हित, लोककल्याण, आपसी सद्भाव वृद्धि, सिर्जनात्मक ऊर्जा, शान्ति र समृद्धिका निम्ति उपयोग गरिनु उत्तम हुनेछ ।
मुलुक लामो समयको हिंसा र द्वन्द्वको चपेटाबाट भर्खर तङ्ग्रिँदै आएको छ । सामाजिक, राजनीतिक, आर्थिक विचलनका घटना परिघटना अझै फाट्टफुट्ट देखिँदै आएका छन् । गणतन्त्र स्थापनाको लामो समय मुलुकको मूल कानुन निर्माणकै लागि बित्यो ।
बल्लतल्ल मुलुकले नयाँ संविधान प्राप्त गरेर संविधानबमोजिम तीनवटै निर्वाचन सम्पन्न भई सरकार बनेर काम गर्न थालेको पनि एक वर्ष बितिसकेको छ । तर मुलुकले शान्ति, स्थिरता र समृद्धिको बाटो समाउन भने सकेको छैन– अपेक्षाकृत रूपमा ।
यसका अनेकौं कारणमध्ये लामो समयको द्वन्द्वको धङधङी, राजनीतिक दल र तिनका नेताहरूमा हराउन नसकेको दम्भ, असहिष्णुता, पदीयलोलुपता आदि पनि हुन् । दलहरू र तिनका नेतृत्वमा सद्भाव र जिम्मेवारीबोध नहुनु नै यसको प्रमुख कारक हो पछिल्लो समय । यसप्रति जिम्मेवार दल र तिनका नेतृत्व सचेत हुनै पर्छ ।
आफू बाँचेको समाजलाई कसरी सुन्दर, शान्त र समृद्ध बनाउने भन्ने कुरा तत्तत् समाजका मानिसको काम हो । समाज परिवार परिवार मिलेर बनेको हुन्छ, परिवार व्यक्ति व्यक्ति मिलेर बनेको हुन्छ । यसर्थ समाजको पहिलो पक्ष व्यक्ति, त्यसपछि परिवार र समग्र समुदायले नै सामाजिक सुव्यवस्थामा क्रियाशीलता देखाउन आवश्यक हुन्छ ।
हामीकहाँ विशेषगरी २०४६ सालयता विचलित राजनीतिका कारण बढेको व्यक्तिगतदेखि पारिवारिक र सामाजिक बेमेलसम्मलाई हटाएर सबैमा सद्भाव, बन्धुत्व, आत्मीयता, हार्दिकता र इमानदारी विकास गर्न दशैं, तिहार, छठजस्ता चाडपर्वले सहयोग गरून् ।
मानवीय र सामाजिक हितका निम्ति रामरमाइलोसँग यी चाडपर्वहरू मनाऔं । हाम्रा संस्कृति र परम्परा हाम्रा पहिचान हुन्, सभ्यता हुन्, अमानवीय र अस्वाभाविक परम्परा र रीतिथितिमा सुधार गर्दै यिनको संरक्षण गरौं, संघारमै आइसकेको बडादशैंको हार्दिक शुभकामना ।
प्रतिक्रिया