आजदेखि राष्ट्रकवि माधव घिमिरेले आफ्नो सयौं वर्षको थालनी गरेका छन्, कविलाई शतशत शुभकामना ! १०० वर्षको सक्रिय जीवन पाउनु भनेको मानव जीवनमा महत्वपूर्ण कुरो हो ।
मैले सय वर्ष बाँच्ने मान्छे त देखेको छु, भेटेको पनि छु, तर ती साहित्य क्षेत्रका होइनन् । साहित्यकारका रूपमा सय वर्ष टेक्ने कवि माधव घिमिरे नै हुन् । त्यसले गर्दा म बढी खुसी छु । आफूले भेटिरहेको, कुरा गरिरहेको, स्नेहसमेत दिइरहेका परिचित एक कविलाई सय वर्षको भएको हेर्न पाउनु एउटा नितान्त उत्साजनक कुरो लागिरहेको छ ।
घिमिरेजीका कविताहरूसित त म पहिलेदेखि नै परिचित हुँ, उनीलाई भेटेको भने थिइनँ । भेट सम्भवतः २०२३ सालतिर भयो कि ? उनी त एकेडेमीमा सुरुदेखि नै थिए । मलाई अहिले त्यति सम्झना भएन, झापाको ऐतिहासिक सातदिने सेमिनारमा उनी थिए कि थिएनन् ।
थिए भने पहिलो भेट त्यही भएको हुनु पर्दछ, होइन भने, पछि एकेडेमी आउने जाने क्रममा । क्रमशः मेरो ‘नमस्कार’को उनी जवाफ दिन थाले । त्यसपछि नमस्कार फर्काउँदा, मुसुक्क हाँस्न थाले । त्यसपछि उभिएर कुरा पनि गर्न थाले । प्रज्ञा प्रतिष्ठानको उनको कक्षमा म गएको पनि छु ।
उनको कुरा पनि सुनेको छु । उनी काव्यका विभिन्न शैलीबारे कुरा गर्दथे । संस्कृत काव्य–परम्पराको कुरा गर्दथे । कालिदासको कुरा गर्दथे, अनि देवकोटाको कुरा पनि गर्दथे । यो त स्वाभाविक नै थियो ।
मलाई आश्चर्य र रमाइलो केमा लाग्दथ्यो भने, उनीलाई पाश्चात्य साहित्यको पनि राम्रो ज्ञान थियो । मलाई भेट्दा प्रायः अस्तित्ववादको बारेमा कुरा गर्दथे । यो त धेरै पछिसम्म पनि हुन्थ्यो ।
यता आएर भेटघाट कम भएकाले कुरा त्यति हुन पाउँदैन । तर कुनै पनि कार्यक्रममा भेट्दा मैले नमस्ते गरेपछि उनको अनुहारमा एक परिचित भाव आइहाल्छ । कहिले बोलेर– “सञ्चै छ”, भन्छन्, म भन्छु– “सञ्चै छ कविजी ।” कहिले भने, तपाईं पनि अनुमान गर्न सक्नुहुन्छ त्यो मुद्रा, जुन उनी मेरा लागि प्रयोग गर्दछन् ।
दुवै हात उचालेर, शिर दुईतिर हल्लाएर ‘सब ठीक छ ?’ भन्ने मुद्रा । म पनि त्यसको जवाफ, त्यसैगरी मुन्टो हल्लाएर, हात उचालेर, ‘ठीक छ कविज्यू’ भन्ने मुद्रामा संकेत गर्छु ।
माधव घिमिरे नेपालका ठूला कवि हुन्, यसमा अर्को राय नै छैन । गीतकारका रूपमा पनि उनी अद्भुत छन् । उनका गीति–नाटक र अन्य गीतहरू यसका प्रत्यक्ष प्रमाण हुन् । ‘मालती मंगले’ त मैले एकाधिक पटक हेरेको छु ।
‘अश्वत्थामा’ काव्य त, एकेडेमीबाट नोबेल पुरस्कारका लागि सिफारिस गरिएको थियो । ‘गौरी’ उनको नेपालीमा सर्वाधिक बिक्ने काव्यमध्ये पर्दछ । आफ्नो लेखनमा उनी सधैं उत्कृष्ट रहे । ‘रितम्भरा’ महाकाव्य लेख्दैछन्, त्यसको प्रतीक्षा छ ।
उनी एकेडेमीमै भएको बेला मेरो एक उपन्यास ‘स्वर्गीय हीरादेवीको खोज’ विद्वतवृत्ति अन्तर्गत छापिएको थियो । २०४५ मा छापिएको त्यस उपन्यासको भूमिका माधव घिमिरेले लेखेका थिए । त्यसबाट उनको गद्य पनि शक्तिशाली छ भन्ने देखिन्छ ।
यस्ता कविजी हाम्रो युगका प्रतिनिधि मात्र होइन, अभिभावक पनि हुन् । उनी आज सय वर्षमा टेकेका छन्, उनलाई म सय नमस्कार गर्दछु । उनको सक्रियता, दीर्घता, सिर्जना र अभिभावकत्व नेपाली साहित्यले पाइरहोस्, आजको दिनमा म यही कामना गर्न चाहन्छु ।
प्रतिक्रिया