काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि प्रारम्भ गरेको छ । समितिले पाकिस्तान, ब्राजिल र संयुक्त अधिराज्य बेलायतका लागि प्रस्तावित राजदूत तथा संयुक्तराष्ट्र सङ्घीय कार्यालय, भियनामा खटिएर जाने स्थायी प्रतिनिधिको आज सुनुवाइ गरिरहेको छ । परराष्ट्र सेवामा रहेकी सहसचिव सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाश सुवेदी र डा दुर्गाबहादुर सुवेदीको आज सुनुवाइ भइरहेको छ ।
समितिले प्रस्तावित राजदूतमध्ये सेवा लम्साल अधिकारीबाट सुनुवाइ प्रारम्भ गरेको हो । त्यसअघि बैठकको प्रारम्भमा उजुरीकर्तालाई बोलाएर जानकारी लिइएको थियो । प्रस्तावित राजदूतमाथि विभिन्न विषयसँग जोडेर नौवटा उजुरी परेका छन् । सरकारले परराष्ट्र सेवाका आठ र राजनीतिक पृष्ठभूमि भएका परराष्ट्र सेवा बाहिरका १४ गरी २२ जनाको नाम राजदूतको लागि प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले लामो समयदेखि खाली रहेका राजदूत पदमा नियुक्तिका लागि विभिन्न व्यक्तिको नाम छनोट गरी संसदीय सुनुवाइका लागि पठाइएको हो । संसदीय सुनुवाइ समिति गठनमा भएको ढिलाइ तथा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले सुनुवाइको काम ओझेलमा परेको थियो । राजदूत सरकारका प्रतिनिधिका रुपमा रहने भएकाले सरकारले आफू अनुकूलका व्यक्तिलाई राजदूतको रुपमा पठाउने चलन रहिआएको छ ।
]]>
प्रतिक्रिया