देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रातभरीमा विवाद मिलाएर बन्दसत्र भोलि गर्ने तयारी

देशान्तर

काठमाडौं । नेपाल काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको बन्दसत्र भोलि बुधबार हुने भएको छ ।

महाधिवेशन प्रतिनिधि विवादका कारण निर्धारित समयमा हुन नसकी स्थगित हुँदै आएको नेवि सङ्घको महाधिवेशनको बन्दसत्र भोलि दिउँसो १२ बजेपछि हुने अध्यक्ष रन्जित कर्णले जानकारी दिए ।

सङ्घको महाधिवेशन उद्घाटन यही साउन २३ गते भए पनि निर्धारित समयमा बन्दसत्र हुन नसक्दा मुलुकभरबाट आएका हजारौँ विद्यार्थी नेता कार्यकर्ता निर्वाचन हुने÷नहुने भन्ने अन्यौलमा देखिन्छन् ।

सङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले आज रातभरिमा विवादित जिल्लाका महाधिवेशन प्रतिनिधिको विवाद टुङ्गो लगाई भोलि बन्दसत्र गर्ने तयारीका साथ काम गरिरहेको जनाएको छ ।

प्रतिनिधि विवादित ११ जिल्लामध्ये आधाभन्दा बढी जिल्लाको विवाद मिलिसकेको र बाँकी पनि समाधानउन्मुख रहेको समिति सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।

पार्टीले नेवि सङ्घको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न नेता डा प्रकासशरण महतको संयोजकत्वमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेको निर्देशन समिति गठन गरेको थियो ।  

समयमा महाधिवेशन प्रतिनिधिको विवाद टुङ्गोमा नपुग्दा यही साउन २३ देखि २५ गतेसम्म निर्धारित महाधिवेशन लम्बिने निश्चित भएको छ । महाधिवेशनका लागि सङ्घले भृकुटीमण्डप हलको भाडा तीन दिनसम्म मात्र बुकिङ गरेको थियो ।

महाधिवेशन लम्बिदा दैनिक रु ४० लाख खर्चको भार थपिएको प्रवक्ता युपी लामिछानेले बताए । सङ्घमा करिब तीन हजार ४०० महाधिवेशन प्रतिनिधि रहने अनुमान गरिएको छ ।  

समयमै बन्दसत्र हुनुपर्ने माग गर्दै आज दिनभरि नै महाधिवेशन स्थल भृकृटीमण्डपमा विद्यार्थीले नाराबाजी गरेका थिए । ‘समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि ११औँ महाधिवेशन’ भन्ने नाराका साथ नेवि सङ्घको महाधिवेशन उद्घाट्न यही साउन २३ गते भएको हो ।

 

]]>