देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कृष्णाष्टमीमा सरस्वती–पुत्र

देशान्तर

भर्खर बित्यो कृष्णाष्टमी । कृष्ण जन्मेको दिन, म पनि पाटनको कृष्ण मन्दिर गएको छु । अब धेरै दिन भयो, नगएको । पाटनको कृष्ण मन्दिरको कलात्मकताले हामीलाई मात्र होइन विश्वलाई नै मुग्ध पारेको छ । त्यसमाथि कृष्णाष्टमीका दिन त्यहाँ दर्शनार्थीको सबैभन्दा बढी उपस्थिति हुन्छ, त्यो आस्था त छँदैछ । हामी अन्य बेला पनि त्यता जाँदा कृष्ण मन्दिर जान छुटाउँदैनथियौं । एक पटक भारतका एक ठूला कवि सर्वेश्वरदयाल सक्सेनासँग पनि म पाटनको कृष्ण मन्दिर गएको छु । उनले विधिपूर्वक नुहाएर त्यहाँ दर्शन गरेका थिए । मैले सुनेको उनी यी सब मान्दैनन् । बाहिर निस्केपछि मैले सोधें– “आप भी यह सब मानते है ?”

सर्वेश्वरले भने– “मानता नही हुँ, लेकिन दूसरो की आस्था पर भी श्रद्धा रखता हुँ ।”

त्यो उनको उत्तरबाट म आजसम्म पनि प्रभावित छु, त्यति उपयुक्त थियो ।
……..
जन्माष्टमीका दिन नै भारतको बेतियामा हिन्दीका एवं यशश्वी कवि गोपालसिं नेपाली जन्मेका थिए, यो पनि सम्झन्छु । गोपालसिं नेपाली रेलबहादुरसिंका छोरा हुन् । उनका पिता गोरखा रेजिमेन्टमा थिए । पछि उनी बेतिया महारानीको सेवामा बसे । त्यही गोपालसिं नेपाली सन् १९११ जन्माष्टमीका दिन । उनी स्कुल त राम्ररी पढ्न सकेनन्, म्याथ र साइन्स कमजोर थियो । त्यसैका कारण उनी ‘टेस्ट’ परीक्षासम्म मात्र पढे । सेन्ट–अप हुन सकेनन् । त्यसपछि पढ्न छाडिदिए । तर त्यसबखतसम्म उनी हिन्दीमा कविता राम्रो लेख्न थालिसकेका थिए । आफ्नो प्रथम कविता पाठका साथै उनी प्रेमचन्दजस्ता ठूला लेखकबाट प्रशंसा पाउन सफल भएका थिए । प्रसाद–पन्त–निराला अनि दिनकर प्रभाकर मापदे, केदारनाथ सिंबाट उनी पर्याप्त प्रशंसा बटुल्न थालेका थिए । केदारनाथ सिंहले भनेका छन्, उनको नेपालसँग सम्बन्ध त छ, तर कसरी र कस्तो छ, त्यो म जान्दिनँ ।

नेपालीको आमाको नाउँ सरस्वती देवी थियो । आमाको मृत्यु भएपछि बाबुले अर्को बिहे गरेका थिए । त्यसपछि घरमा हुन थालेको कलहले पनि नेपाली दिक्क मान्दथे । भाइबहिनीहरू पर्याप्त थिए । पछि तिनको जिम्मा पनि उनीमाथि आयो । उनका सन्तान भएपछि उनको जिम्मेदारी झन् बढ्यो । सम्भवतः कविका रूपमा नाम कमाइसकेका नेपाली फिल्म–लाइनमा पनि गए ।

त्यस समयका सारा कवि र श्रोताहरू उनका कविता मन पराउँथे । उनले नेपालीमा पनि कविता र गद्य लेखेका छन् ।
एक पटक एक ठूला कवि उनीकहाँ गए । उनले खाना खाउँ भने । तर ती कवि चिया मात्र खाएर फर्के । बरु गोपालसिंलाई नै भोजनका लागि आमन्त्रित गरेर हिँडे । भोलिपल्ट आमन्त्रणअनुसार नेपाली भोजन गर्न गए । भोजनमा धेरै व्यञ्जनहरू थिए, जुन कवि–पत्नीले आफ्नै हातले तयार गरेकी थिइन् । फर्कंदा नेपालीले कविलाई धन्यवाद दिए । उनले भने, यसरी त म नाफै नाफामा हुने भएँ । कविले भने, कसरी ?

नेपालीले भने, मैले जाबो चियाको बदला, यति भव्य भोजन पाएँ
………..

गोपालसिं नेपालीले, कथा, सिकार कथा र निबन्ध पनि लेखेका छन् । उनका कथा उनको समयका दृष्टिले, अलग्ग खालका छन् । स्त्री–पुरुष सम्बन्धको जटिलता तिनमा दर्शाइएका छन् । प्रेमका विभिन्न स्वरूपको दर्शन पनि तिनमा हुन्छ । उनका ती कथाहरू, फिल्मी खालका चलनचल्तीका कथा होइनन्, जस्तो कि प्रेम–कथा भनेको सुन्दा आम धारणा हुन्छ । नेपालीले कथा मात्र लेखेका भए पनि हिन्दीका विशिष्ट कथाकार बन्ने थिए भन्ने मलाई लाग्दछ । उनका कथामा सम्बन्धको जटिलता त छ, तर भाषाको जटिलता भने छैन जस्तो त्यसबखतका अन्य केही छायावादी कविले लेखेका कथामा पाइन्छ । कथैका दृष्टिले पनि नेपाली एकदम अघि देखिन्छन् । तर उनको त रगतमै कविता बग्दथ्यो, त्यसकारण त्यता धेरै लागेनन् । त्यसैले आज उनी त्यसकालका हिन्दीका अति विशिष्ट गीतकार र कविका रूपमा प्रसिद्ध छन् । शारदा सिन्हाले यिनका गीतहरू अत्यन्त राम्ररी गाएकी छिन् । उनी एक विशिष्ट गायिका हुन् ।