देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेविसंघ ११औं महाधिवेशन : पेलेरै जाने देउवाको तयारी

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूको विरोधका बाबजुद संस्थापन पक्षले पेलेरै नेविसंघको निर्वाचन गराउने तयारी गरेको छ । टीका लगाएर नेतृत्व चयन गर्ने प्रथा अन्त्य गर्न जसरी पनि निर्वाचन गराउन सभापति शेरबहादुर देउवाले निर्देशक समितिलाई निर्देशन दिएको स्रोतको दाबी छ । सोहीअनुसार केन्द्रीय निर्वाचन समितिले निर्वाचनको कार्यतालिकासमेत प्रकाशित गरेको छ ।

तर, पौडेल पक्षधर विद्यार्थीहरूले भने महाधिबेशन प्रतिनिधि चयन गर्दा आफूखुसी ३ सयभन्दा बढी फर्जी प्रतिनिधि थपिएको भन्दै फर्जी प्रतिनिधि खारेज नभएसम्म चुनावमा भाग नै नलिने बताएका छन् । यता, निर्देशन समितिका संयोजक डा. प्रकाशशरण महतले आइतबार पत्रकार सम्मेलन गरी भोलि (मंगलबार) जसरी पनि निर्वाचन हुने जानकारी दिएका छन् ।

डा. महतले विवादित जिल्लाको सहमतिमै प्रतिनिधि छनोट गरिएको बताउँदै भने, ‘टीका लगाएर नेविसंघमा नेतृत्व चयन गर्ने परम्परा तोड्ने चाहना पार्टी सभापति देउवाको छ । अहिले महाधिवेशन स्थगन हुने कुरा कसैले पनि सोच्नुहुँदैन । सबैले महाधिवेशन सफल पार्न सहयोग गर्नुपर्छ ।’

डा. महतले विभिन्न बखेडा झिकेर प्रक्रिया सुरु हुन नदिए टीका लगाउने प्रथा दोहोरिने चेतावनीसमेत दिए । उनले भने, ‘टीका लगाउनुपर्ने अवस्था दोहोर्याउनु नपरोस् । यस्तै अवस्था रहिरहे सभापतिजी चुप लागेर बस्नुहुन्न, आशा गरौं त्यस्तो अवस्था नआओस् ।’ यद्यपि, उनले सभापति देउवा निर्वाचन नै गराउने पक्षमा रहेको जिकिर गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

पार्टी सभापति देउवाले फर्जी प्रतिनिधि चयन गरेर नेविसंघको नेतृत्व कब्जा गर्न खोजेको आरोप पौडेल पक्षले लगाएको छ । पौडेल पक्षधार नेताहरूले आइतबार पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा भेला गरेका थिए । सो भेलामा पौडेल पक्षबाट उम्मेदवारी दिने भनिएका विद्यार्थी नेताहरू सहभागी थिए । भेलाले फर्जी प्रतिनिधि खारेज गर्न संस्थापन पक्षलाई दबाब दिने र त्यसका लागि संस्थान पक्ष तयार नभए निर्वाचनमा नै भाग नलिने निर्णय गरेको छ ।

पौडेल पक्षधर विद्यार्थीहरूले आइतबार रिपोर्टर्स क्बलमा पत्रकार सम्मेलन गरी फर्जी प्रतिनिधि खारेज नभएसम्म निर्वाचनमा भाग नलिने घोषण गरे । ‘आफूखुसी ढंगबाट ३ सयभन्दा बढी फर्जी प्रतिनिधि थपिएका छन् । फर्जी प्रतिनिधि खारेज हुनुपर्छ भन्ने हाम्रो माग हो । खारेज नभएसम्म हामी चुनाव भाग लिन्नौं,’ अध्यक्षका आकांक्षी क्षितिज भण्डारीले भने ।

अध्यक्षका आकांक्षी मनोजमणि आचार्य, क्षितिज भण्डारी, नीलकण्ठ रिजाल, पदमराज पन्त, विनिता अधिकारी, दीपक भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै फर्जी प्रतिनिधि खारेज गरेर मात्र निर्वाचन गराउन माग गरेका छन् ।

निर्वाचन समितिले सोमबार मनोनयन दर्ता गर्ने र मंगलबार चुनाव गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । यसअघि आइतबार मनोनयन गर्ने भनिएकोमा प्राविधिक कारण देखाउँदै सोमबारसम्मका लागि मनोनयन सारिएको निर्वाचन समितिले जनाएको छ । मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म चुनाव गराउने तालिका निर्वाचन समितले बनाएको छ ।

निर्देशन समितिमै विवाद

प्रतिनिधिको विषयलाई लिएर पार्टीले बनाएको निर्देशन समितिमै विवाद देखिएको छ । गोविन्द भट्टराई र गुरुराज घिमिरे पौडेल पक्षको लाइनमा छन् भने संयोजक महतसहित विश्वप्रकाश शर्मा र प्रदीप पौडेल देउवा पक्षको लाइनमा छन् । भट्टराई र घिमिरेले ३ सय प्रतिनिधि थपिएकोमा विरोध जनाएका छन् । निर्वाचन समितिले शनिबार राति ३ हजार ७ सय ६० प्रतिनिधिको नामावली प्रकाशित गरेको छ ।

सिटौला पक्षको साथ संस्थापनलाई

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर विद्यार्थीहरूले पनि मंगलबारको चुनावमा भाग लिने बताएका छन् । ‘हामी चुनावमा भाग लिन्छौं । चुनाव हुनुपर्छ भन्ने हाम्रो माग हो,’ अध्यक्षका उम्मेदवार कुन्दन काफ्लेले भने । यसैबीच, देउवा पक्ष र सिटौला पक्षबीच मिलेर चुनावमा जाने तयारी सुरु भएको छ । यसका लागि गृहकार्य भइरहेको विद्यार्थी नेताहरूले बताएका छन् । देउवा पक्ष र सिटौला पक्ष मिलेर चुनावमा गए भने देउवा पक्ष बलियो देखिन्छ । सिटौला पक्षबाट गगन थापा र प्रदीप पौडेलले गृहकार्य सुरु गरेका छन् । पौडेल पक्ष चुनावमा हार्ने डरले बहिष्कार गर्ने कुरा गरेको सिटौला पक्षधर नेताहरूको भनाइ छ ।

रामचन्द्र पौडेलको विरोध

कांग्रेसका नेता पौडेलले पार्टी कार्यालय सानेपामा गरिएको प्रहरी हस्तक्षेपको विरोध गरेका छन् । वार्ताको माध्यमबाट प्रतिनिधि विवाद समाधान गर्न उनले आग्रह गरेका छन् । ‘नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन विधि र प्रक्रियाअनुसार शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुको साटो उद्घाटनपश्चात् वास्तविक प्रतिनिधिहरूको नाम हटाएर विधि र प्रक्रिया मिच्दै महाधिवेशनमा थप प्रक्रिया अगाडि बढाइएकाले अहिले कांग्रेसको केन्द्रीय कार्यालयमा शान्तिपूर्ण वातावरण भड्काउने गरी ठूलो संख्यामा सुरक्षाकर्मी राखेर देशभरबाट आएका विद्यार्थी प्रतिनिधिमाथि बर्बरतापूर्वक प्रहरी दमन भएको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेता पौडेलले निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन पनि माग गरेका छन् । ‘तत्काल प्रहरी दमन रोकेर वार्ताका माध्यमबाट मतादाता नामावलीको विवाद समाधान गरी निष्पक्ष र धाँधलीरहित निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछु,’ पौडेलले भनेका छन् ।

]]>