काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोट खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार मलेसियाको यूकेएम ओभलमा भएको नेपाल र सिंगापुरबीचको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो ।
सिंगापुरले दिएको १५२ रनको लक्ष्य पछ्याएको नेपालले २८.१ ओभरमा पूरा गर्दै सिंगापुरलाई ४ विकेटले पराजित गरेको हो । लक्ष्य भेट्टाउन नेपालका लागि सर्वाधिक रन अनिल कुमार शाहले बनाए । उनले ३२ बलमा ४३ रन बनाएका थिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए । त्यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्लले २९, सुवास खकुरेल र सागर पुनले समान १४—१४ र कप्तान पारस खड्काले ११ रन बनाए ।
त्यस्तै, बलिङतर्फ सिंगापुरका अनन्त कृष्ण र सेल्लादोरे विजय कूमारले समान २—२ विकेट लिए । त्यस्तै, कार्थिकेयन सुप्रमुनियम र सरन कुमार स्वामिनाथमले समान १—१ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले ४२ ओभर खेल्दै सबै विकेट गुमाएर १५१ रन बनाएको थियो । सिंगापुरका चेतन रामचन्द्र सूर्यवंशीले ६० रन, अनिस एडवार्ड रामले ३१ रन बनाएका थिए । त्यस्तै, कार्थिकेयन सुप्रमिनीयमले २० रन बनाए ।
सिंगापुरलाई १५१ रनमै समेट्न नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । ललित नारायण राजवंशी र सन्दीप लामिछानेले समान ३—३ विकेट लिएका थिए । त्यस्तै, नेपालका लागि सोमपाल कामीले २ र वसन्त रेग्मीले १ विकेट लिए ।
आजको जितसँगै नेपाल ४ अंकसहित चौथो स्थानमा रहेको छ । आजै भइरहेको ओमान र हङकबीचको खेलमा ओमान हारेको खण्डमा नेपाल नेपालको एसिया कप पुग्ने सम्भावना कायम रहनेछ । यसअघि हिजो (शनिबार) नेपालले मलेसियालाई १९ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया