देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथर कारागारमा पाँचगुणा बढी कैदीबन्दी

देशान्तर

पाँचथर। सुधारगृहका रुपमा रुपान्तरण गर्ने भनिएको पाँचथर कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी रहेपछि कैदीबन्दीलाई समस्या भएको छ । यसका कारण कैदीबन्दीले कष्टकर जेलजीवन गुजार्नु परिरहेको गुनासो गरेका छन् । कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कोचिएर बस्नु पर्दा त्यस्तो अवस्था भोग्नु परिरहेको उनीहरुले बताएका हुन् ।

पाँच महिलासहित २५ जनाको क्षमता रहेको पाँचथर कारागारमा अहिले १२९ कैदीबन्दी राखिएको जेलर सुरेन्द्रबहादुर मुखियाले बताए । तीमध्ये दुईजना नाबालक र एक नाबालिकासहित १३ महिला र ११३ पुरुष कैदीबन्दी रहेको जेलर मुखियाले बताए । क्षमताभन्दा बढी राखिनाले कैदीबन्दीले असुविधा भोग्नु परिरहेको जेलर मुखियाले स्वीकार गरे । कैदीबन्दीले विशेषगरी शौचालय जाने र सुत्ने समयमा चरम समस्या भोग्नु परिरहेको चौकीदार टेकनाथ रिजालले बताए ।

जीर्ण भवन, त्यसमाथि साँघुरो कोठामा निसास्सिएर धेरै सङ्ख्यामा कैदीबन्दी सुत्नु तथा बस्नु परिरहेको चौकीदार रिजालले बताए । लामो समयदेखि प्रत्येक रात आलोपालो गर्दै आधा सङ्ख्याले खाटमुनि भुइँमा सुत्नु परिरहेको रिजालको भनाइ छ । बर्खायामको भुइँको चिसोले भिजेको ओछ्यान सुकाउँदै प्रयोग गर्नुपर्ने र घाम नलागेमा चिसै बिछ्यौनामा सुत्न बाध्य हुनु परिरहेको उनले गुनासो पोखे । गर्मीयाममा खाटमुनि उकुसमुकुस हुँदै सुत्नुपर्दा अझ धेरै कष्टको सामना गर्नु परिरहेको कैदीबन्दीले पीडा पोखेका छन् ।  

कारागार कैदीबन्दी मैत्री नभइरहेको विषयमा जेलर मुखियाले कारागारको प्रशस्त जग्गा भएकाले क्षमता विस्तारका लागि विभागको ध्यानाकर्षण गराउने बताए । पछिल्लो समय अदालतबाट दोषी ठहरिएका फरार प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेसँगै कारागार कैदीबन्दीले खचाखच हुन पुगेको हो । अहिले प्रहरीले २० वर्षभन्दा पहिलेदेखिका फरार प्रतिवादीलाई पक्राउ गरिरहेको पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । 

]]>