काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर र आसपासमा लगाइएको कर्फ्र्यु सोमबार (आज) साँझ ६ बजेसम्मका लागि हटाइएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी कुबेरबहादुर कठायतले साँझ ६ बजेसम्मका लागि कर्फ्र्यु हटाइएको बताए । एसपी कठायतले भने, ‘‘साँझ ६ बजेपछि फेरि मंगलबार बिहान ५ बजेसम्म फेरि कर्फ्र्यु लागु हुनेछ ।’’ एसपी कठायतले पछिल्लो समय जनजीवन सामान्य क्रमशः बन्दै गएको बताए ।
निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन हुँदा प्रहरीले गोली चलाउँदा एकको ज्यान गएपछि र दर्जनौं घाइते भएपछि शुक्रबारदेखि कञ्चनपुरमा कर्फ्र्यु लाग्दै र हटाइँदै आएको छ । निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने जिम्मा कञ्चनपुर प्रहरीले डिएपी कृष्णराज ओझालाई दिइएको छ ।
एसपी कठायतले रोश्नी बम र बबिता भनिने अनिता बमलाई पक्राउ गरेर सोमबारै अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको बताए । घटनाको अनुसन्धानका लागि गृहका सहसचिव नेतृत्वको टोली पनि कञ्चनपुरमै छ । यसअघि निर्मला हत्याको अनुसन्धान सिआइबीका डिएसपी अंगुर जिसीको टोली र कञ्चनपुर प्रहरीका प्रहरी निरीक्षक एकेन्द्र खड्काको टोलीले गरेको थियो ।
प्रतिक्रिया