देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोर्खा ब्रुअरीलाई कस्ले गर्ने कारबाही ?

देशान्तर

नवलपरासी । कुनै बेला युवा उद्योगपतिको रूपमा इज्जत कमाएका राजेन्द्र खेतान पछिल्लो समय बदनाम छन् । कहिले कर छलेको त कहिले जालसाझी र ठगी गरेर बिमा कम्पनी डुबाएको आरोप खेप्दै आएका उनी यतिबेला भूमिगत जस्तै छन् । केही समयअघि त उनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को फरार सूचीमा समेत परे । त्यसैले होला संविधानसभामा सभासदसमेत भइसकेका खेतान हिजोआज त्यति सार्वजनिक कार्यक्रमहरूमा देखिन रुचाउँदैनन् । तर उनको कालो कर्तुत र बदनामीको शृंखला भने अझै जारी छ ।

उनी सञ्चालक रहेको बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीले नवलपरासीमा प्रदूषणको कहर सिर्जना गरेको छ । नेपालको तेस्रो ठूलो र डल्फिन पाइने नारायणी नदीलाई गोर्खा ब्रुअरीले दूषित तुल्याउँदै स्थानीयलाई क्यान्सर, दमजस्ता घातक रोगको सिकार बनाउँदै आएपछि कारबाहीको माग गर्दै स्थानीयले प्रशासन र सरकार गुहारेको महिनौ भइसक्यो । तर कारवाही गर्नुपर्ने सरकारी निकायले त्यसलाई बेवास्ता गर्दा स्थानीय थप पीडित बनेका छन् ।

गोर्खा ब्रुअरीको आफ्नो ८० प्रतिशत सेयरमध्ये ७० प्रतिशत डेनमार्कको कम्पनीलाई बेचेर आफू दस प्रतिशतमा सीमित भएका खेतानले गोर्खा ब्रुअरीमा सुरेन्द्र सिलवाललाई महाप्रबन्धक नियुक्त गरेर सरकारी संयन्त्रलाई आफ्नो अनुकूलमा प्रयोग गर्दै आएका छन् । गोर्खा ब्रुअरी बिक्री गर्दा पनि खेतानले ‘ओभर स्टक’ देखाएर डेनिस कम्पनीसँग बढी मूल्य असुल गरेको जानकारहरू बताउँछन् ।

गोर्खा ब्रुअरीले प्रदूषण मात्रै होइन करिब डेढ अर्ब कर छली समेत गरेको पुष्टि भइसकेको छ । गोर्खा ब्रुअरीले गर्दै आएको कर छली र प्रदूषण रोक्न प्रधानमन्त्री कार्यालय, उद्योग मन्त्रालय, गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालयमा दर्जनौं उजुरी परिसकेका छन् । तर सरकारी प्रशासनमा पकट भएका सिलवालले पैसाको बलमा अहिलेसम्म ती उजुरीहरू उपर कारबाही हुनबाट बचाउँदै आएका छन् ।

गोर्खा ब्रुअरीले वातावरणमा प्रतिकूल असर पारेको विषयप्रति अन्तर्राष्ट्रिय जगत्को समेत ध्यानाकर्षण भइसकेको छ । डानवाट्च मिडियाले समेत गोर्खा ब्रुअरीले गरेको नारायणी नदी प्रदूषणको बारेमा प्रतिवेदन दिऐको छ जुन प्रतिवेदन डेनमार्कको संसद्मा समेत छलफल भइसकेको छ । ब्रुअरीले कारखानाबाट उत्पादन भएको फोहोरपानी फिल्टर नगरी सोझैं नारायणी नदीमा मिसाउने गरेको डानवाट्च मिडियाले गरेको जल परीक्षणमा पाइएको छ ।

कारखानाबाट निस्केको प्रदूषित पानी कारखानाले फिल्टर नगरीकन सोझै नारायणी नदीमा फालेको छ । प्रदूषित पानीलाई फिल्टर गर्न भनी जडान गरिएको प्रशोधन पद्धति प्रयोग केवल सरकारी निकायलाई देखाउन बनाइएको गोर्खा ब्रुअरीमा कार्यरत कर्मचारीहरू नै बताउँछन् । त्यस ट्रिटमेन्ट प्लान्ट (प्रशोधन पद्धति) बाट पानी शुद्धीकरण गरेर फाल्न निकै महँगो पर्ने हुँदा पानी फिल्टर नगरिकनै सोझै नदीमा फाल्ने गरेको एक कर्मचारीले बताए ।

गोर्खा ब्रुअरीमा ९० प्रतिशत सेयर डेनमार्कको कम्पनीको छ । सो कम्पनीले अरू विभिन्न मुलुकहरूमा समेत वातावरण प्रदूषण गर्ने गरेको रेकर्ड छ । मलावी, लाओस, चीनमा यसले गरेको जल प्रदूषणको कारण सो देशको सरकारले विभिन्न मितिमा सो कम्पनीलाई कडा कारबाहीसमेत गरिसकेको छ । नेपालको सन्दर्भमा अन्य देशको तुलनामा सो कम्पनीद्वारा गरिएको लापरवाही र प्रदूषणबारे डेनमार्ककै संसद्मा छलफल भइसकेको छ ।

प्रदूषित पानीले गर्दा जलचरहरूसमेत मासिँदै गएका छन् र बढेको प्रदूषणका कारण यस क्षेत्रमा गोहीसमेत हराएका छन् । गोही सफा पानीमा बस्ने र बालुवामा गुँड बनाउँछन् तर पानी प्रदूषित हुनु र नदीकिनारमा बालुवाको कमीका कारण गोहीका लागि आवश्यक वातावरण बन्न सकेको छैन । प्रदूषण बढ्नाले जलचरमा समेत कमी आएको छ स्थानीयहरू बताउँछन् ।

स्थानीय जनतालाई समेत यसको प्रत्यक्ष असर परिरहेको छ । यसले वातावरण प्रदूषण गरी हावा, पानीहरू पूर्ण रूपमा प्रदूषित गरिसकेको छ जसको असरले टाइफाइड, हैजा, झाडापखालाजस्ता विकराल रोगको महामारी फैलिसकेको छ । यसरी स्थानीय जनताको स्वास्थ्य माथि खेलबाड गरी गुणस्तरहीन वस्तु उत्पादन गरी अवैध रूपमा, नक्कली अन्तःशुल्कको नक्कली होलोग्राम स्टिकर टाँसी बिक्री वितरण गरेबापत सरकारलाई बुझाउनुपर्ने करसमेत नबुझाई राजस्व छली समेत गरेको छ । २०६५ सालमा ३३ लाखको कर छली गरी अनियमितता गर्दै आएको गोर्खा ब्रुअरीले हालसम्म डेढ अर्बभन्दा बढीको कर छली गरिसकेको देखिन्छ ।

विकसित देशका ठूलाठूला कम्पनीहरूले नेपालजस्तो विकासोन्मुख राष्ट्रका केही बिकाउ व्यवसायी, नेता र कर्मचारीलाई पैसाको प्रलोभनमा पारी मनलागी गर्ने, देशका अमूल्य प्राकृतिक स्रोतहरूको दुरुपयोग गर्ने, विकसित देशको कानुनले कडा कारबाही गर्छ भन्ने डरले अविकसित साना देशहरूमा उद्योग सञ्चालन गर्ने गर्छन् । गोर्खा ब्रुअरी पनि यस्तै शोषण गर्ने मानसिकता बोकेको ९० प्रतिशत वैदेशिक लगानी भएको कम्पनी भएको पुष्टि भएको छ ।