काठमाडौं । कञ्चनपुरमा प्रहरीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई जोगाउन प्रयास गरेको भन्दै स्थानीयबासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।
झण्डै ७ सयको संख्यामा रहेको स्थानीय नागरिकको समूह जिल्ला प्रशासन कार्यालय कञ्चनपुर भित्र छिर्न प्रयास गरेको भन्दै प्रहरीले ४ राउण्ड हवाई फायर र १० शेल अश्रुग्यास प्रहार गरेको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।
उनीहरुले घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिन बलात्कार र हत्याको अभियोगमा मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको भन्दै मंगलबार महेन्द्रनगर बजार बन्द गराएका छन् ।
१३ वर्षीय निर्मलाको हत्या भएको तीन सातासम्म अभियुक्त प्रक्राउ गर्न नसकेपछि चर्को विरोध भएको थियो । प्रहरीले निर्मलाको बलात्कार गरी हत्या गरिएको अभियोगमा भिमदत्त नगरपालिका १९ का अन्दाजी ४१ वर्षीय दीलिप सिंह विष्टलाई शनिबार पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया