देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनभावनाअनुसार काम गर्न प्राधिकरण कर्मचारीलाई मन्त्री पुनको निर्देशन 

देशान्तर

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जनभावना अनुसार चल्न नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् । प्राधिकरणप्रति सेवाग्राहीको गुनासो बढिरहेका बेला मन्त्री पुनले जनभावना अनुसार चल्न प्राधिकरणका कर्मचारीहरुलाई सचेत गराएका हुन् ।

उनले जनताको सेवक हुँ भन्ने भावनाका साथ काम नगर्ने कर्मचारीलाई पदबाट बर्खास्त गर्ने चेतावनी पनि दिए । शुक्रबार नेपाल विद्युत् प्राधिकरणको ३३ औं वार्षिकोत्सव कार्यक्रमलाई काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पुनले प्राधिकरणका कर्मचारीहरुले जनताको आवाज नसुनेको गुनासो आफूसँग आएको उल्लेख गर्दै त्यस्ता कर्मचारीलाई पदबाट हटाउन सकिने स्पष्ट पारे ।

उनले राम्रो काम गर्ने कर्मचारीलाई जनताले पनि सम्मान गर्ने गरेको पनि स्मरण गराए । मन्त्री पुनले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेगरी कामलाई अघि बढाउन पनि नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिए ।

मन्त्री पुनले प्राधिकरणको नियमनका लागि विद्युत नियमन आयोग गठन गर्ने घोषणा पनि गरे । मन्त्रालयका सचिव एवम् प्राधिकरणका अध्यक्ष अनुपकुमार उपाध्यायले नागरिकलाई गुणस्तरीय सेवा वृद्धिमा ध्यान दिन प्राधिकरणलाई सचेत गराए । कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको बार्षिक प्रगति विवरण पेश गर्दै यसको सेवालाई भरपर्दो, गुणस्तरीय र सर्वसुलभ बनाउनु प्राधिकरणको मुख्य चुनौति रहेको बताए ।

प्राधिकरणले यस वर्ष १ अरव १ करोड कुद मुनाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले नियमित विद्युत आपूर्ति र चुहावट नियन्त्रणका कारण प्राधिकरणले सो मुनाफा आर्जन गर्न सफल भएको पनि स्पष्ट पारे ।