काठमाडौँ । नेपाली सेनाका विवादास्पद प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल सकिएपछि बढुवाबाट वञ्चित भएका नेपाली सेनाका अधिकृतहरूमा न्याय पाउने आशा पलाएको छ ।
सेनापति क्षत्री गत शुक्रवारदेखि एकमहिने बिदामा बसेपछि अहिले नेपाली सेनाको जिम्मेवारी पूर्णचन्द्र थापाले पाएका छन् । थापा नेपाली सेनाको संरचना सुधारका पक्षधर भएको सैनिक अधिकारीहरू बताउँछन् ।
नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरेका क्षत्रीले ४० वर्षसम्म नेपाली सेनामा काम गरेका थिए । उनको आगामी भदौ २४ गतेदेखि पदावधि सकिँदैछ ।
क्षत्री बिदामा बसेपछि मन्त्री परिषद्को बैठकले बलाधिकृत रथी पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको जिम्मेवारी दिएको छ । थापाले जिम्मेवारी सम्हालेपछि यसअघि भएको महासेनानी बढुवा सिफारिसको विवादको अन्त्य हुने अपेक्षा गरिएको छ ।
तत्कालीन प्रधानसेनापति क्षत्रीको गरेको बढुवा सम्बन्धीको विवादित फाइल अहिले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले छानबिन गरिरहेको छ ।
प्रधानसेनापति क्षत्रीका कारण रक्षामन्त्री ईश्वर पोखरेलसमेत विवादमा तानिएका थिए । नेपाली सेनाका ४७ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवाका लागि सिफारिस गरेका क्षत्रीले मनोमानी गरी कनिष्ठलाई प्राथमिकता दिएको भन्दै उनीविरुद्ध मन्त्रिपरिषद्मा उजुरी परेको थियो ।
यो विषयमा प्रधानसेनापतिको जिम्मेवारी पाएका थापाले न्याय गर्ने धेरैजसो महासेनानीहरूले अपेक्षा गरेका छन् । बढुवा सिफारिसमा अन्यायमा परेका वरिष्ठ अधिकृतले सिफारिस फिर्ता गर्न ध्यानाकर्षण गराउँदै मन्त्रिपरिषद्मा उजुरी दिएका हुन् ।
प्रधानसेनापति क्षत्रीले रकम लिएर नौ वर्ष जुनियर प्रमुख सेनानीहरूलाई अग्रपंक्तिमा बढुवा गरेर सिनियरलाई अन्यायमा पारेको उजुरी अहिले पनि मन्त्रिपरिषद्मा कायमै रहेको छ । सैनिक मुख्यालयका अनुसार आगामी २०७५ सालमा खाली हुने महासेनानीको संख्या ४७ रहेको छ ।
कात्तिकमै पहिलो वरीयतामा रहेका महासेनानीमा बढुवा गर्नुपर्ने नियमावलीको व्यवस्था विपरीत प्रधानसेनापतिले आफू निकटलाई अगाडि ल्याउन अहिलेसम्म रोकेर राखेको आरोप उजुरीमा छ ।
क्षत्रीले दुई पटक पदोन्नति गरिदिएका भए २०६९ मा बढुवा भएका २८ देखि ३१ प्रमुख सेनानी कात्तिकमै महासेनानी भइसक्ने थिए । बाँकी ३२ देखि ३६ का अधिकृतलाई आउने असोज कात्तिकमा बढुवा गर्दा रोलक्रम मिचिने र बढुवामा अन्याय परेर घर जानुपर्ने अवस्था नआउने उजुरीमा उल्लेख छ ।
सेनापति क्षत्रीले आफू अवकाश हुनै लाग्दा आफू निकटहरूलाई बढुवाको शीर्ष स्थानमा राखेर सिफारिस गरेपछि जंगी अड्डाको सिफारिस विवादमा परेको थियो ।
बढुवामा नपरेका सिनियर अधिकृतले नियमअनुसार दिएको निवेदनसमेत सुनुवाइ नभएपछि यो विषयमा रक्षा मन्त्रालयसमेत मुछिए र प्रधानमन्त्री कार्यालयसम्म पुगेको हो ।
प्रधानसेनापति क्षत्रीको सिफारिसलाई रक्षामन्त्री ईश्वर पोखरेलले पनि जस्ताको त्यस्तै सदर गरेर मन्त्रिपरिषद्मा पठाएपछि अन्यायमा परेकाहरूको गुनासो प्रधानमन्त्रीसम्म पुगेको हो ।
नेपाली सेनामा बेसिकका आधारमा सैनिक अधिकृतलाई एउटै लटमा बढुवा गर्ने प्रचलन छैन । तर, यसमा रक्षामन्त्री पोखरेलको समेत हात रहेको बताइएको छ ।
नेपाली सेनाको ऐन अनुसार २८, २९, ३० र ३१ ब्याचका अधिकृतहरू २०६९ सालमा प्रमुख सेनानीमा बढुवा भएका थिए । २०७० मा ३२, ३३, ३४, ३५ र ३६ ब्याचका अधिकृत प्रमुख सेनानीमा बढुवा भएका थिए । तर, अहिले महासेनानी बढुवा गर्ने क्रममा २८ देखि ३६ बेसिकसम्मका सबैलाई एकै ठाउँमा राखेर ३६ बेसिकका पदमबहादुर बुढालाई एक नम्बरमा पु¥याइएको गुनासो सैन्य अधिकारीहरूको छ ।
मन्त्रिपरिषद्मा परेको उजुरी अनुसार नौ वर्ष जुनियर अधिकृतलाई सेनाजस्तो मर्यादाक्रममा चल्ने संस्थामा सबैभन्दा पहिलो नम्बरमा बढुवा गराएर सिनियर बनाउने कुराले चेन अफ कमान्डमै असर गर्ने पूर्वसैनिक अधिकारीहरू नै बताउँछन् ।
एकै पटक ४७ जनाको बढुवा गर्नुपर्ने भएमा वरिष्ठ अधिकृतलाई कनिष्ठभन्दा बढी नम्बर दिनुपर्ने प्रचलन पनि भत्काइएको गुनासो उजुरीमा छ । अहिले कामु प्रधानसेनापतिको जिम्मेवारीमा रहेका पूर्णचन्द्र थापा भोलिका प्रधानसेनापति हुन् । उनले अन्यायमा परेका महासेनानीहरूलाई कसरी न्याय दिन्छन् त्यो भने हेर्न बाँकी नै छ ।
प्रतिक्रिया