काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता भरत शम्शेर राणाको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको कलकत्ता स्थित आफ्नै निवासमा रााणाको गए राती निधन भएको हो । उनको सुतेको अवस्थामा नै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको शव चिकित्सा अध्ययनका लागि अस्पताललाई बुझाइने भएको छ । परिवारका अनुसार राणाले आफ्नो शव नजलाउन छोराछोरीलाई भनेका थिए । उनले दाहसंस्कारमा आफूलाई विश्वास नभएकोले मृत्युपछि शव अस्पताललाई बुझाउन भन्दै छोराछोरीलाई पत्रमार्फत आग्रह गरेका थिए । उनको शव कलकत्ताको अस्पताललाई बुझाइने पारिवारिक स्रोतले बतायो ।
राणा नेपाल गोरखा परिषदका संस्थापक महासचिव एवं २०१५ सालमा गठित नेपालको पहिलो संसदको विपक्षी दलका नेता समेत हुन् । राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
२०१७ सालको ‘कु’ पछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी गोरखा परिषदलाई भरत शम्शेरले विना शर्त नेपाली कांग्रेसमा विलय गराएका थिए । पछिल्लो समय उनी राजनीतिभन्दा लेखनमा सक्रिय थिए । कांग्रेस युवा नेता उदय शम्शेर राणा भरत शम्शेरका भतिजा हुन् ।
प्रतिक्रिया