देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर वर्षा, भक्तपुर फेरी डुब्यो

देशान्तर

काठमाडौँ । उपत्यकासहित देशका अधिकांश स्थानमा सोमवार बिहानैदेखि पानी परेको छ । दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।

 

मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले मनसुनी गतिविधि सक्रिय भएकाले दिनभरजसो देशभरको मौसम बदली हुने र पानी पर्ने मौसमविद मञ्जु बासीले जानकारी दिए । दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।

 

पूर्वी, मध्य र पश्चिमका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना रहेकाले सचेत हुनु पर्ने मौसमविद बासीले बताए । सोमवार राति मध्य र पश्चिमी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

 

अहिले काठमाडौँ उपत्यकाको अधिकांश क्षेत्रमा पानी परिरहेको छ । केही घण्टामा पानी पर्न रोकिने तर फेरि केही समयपछि पानी पर्ने सम्भावना रहेको मौसमविद बासीले बताएत । गृह मन्त्रालय अन्तर्गतको विपद व्यवस्थान महाशाखाले सकेसम्म क्षति हुन नदिने र भए पनि कम गराउनका लागि आफूहरु तत्पर रहेको बताएको छ ।

आज देशभरका विभिन्न ठाउँमा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । केही हप्ताअघि बाढी गएको भक्तपुर क्षेत्रका खोलमा पानीको सतह केही बढेको छ । आज दिनभरजसो पानी पर्ने भएकाले बाढी आउने खतरा रहेको मौसमविदले बताएका छन् ।

काठमाडौं उपत्यकामा समेत सचेत रहन आग्रह गरिएको छ । बाग्मती–खोकना बाढी केन्द्रमा बहाब सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको जनाइएको छ । त्यसैगरी काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमती लगायतमा बहाब बढ्दो रहेको शाखाले जनाएको छ ।

शाखाले होचो क्षेत्रमा डुवान हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । सिनामंगल क्षेत्रमा बागमती नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्ती बागमतीमा आएको बाढीले खतरामा परेको छ ।

भक्तपुरको मध्यपुरथिमिस्थित राधेराधे क्षेत्र फेरि डुबानमा परेको छ । आइतबार ७० घर डुबानमा परेका थिए भने सोमबार बिहान पनि डुबानमा परिने डरले स्थानीय त्रसित भएका छन् । केही घरहरु हनुमन्ते खोलाले डुबाएको छ । स्थानीय प्रहरीले उद्दारका लागि तयार रहेको जनाएको छ ।

यस्तै कन्काई, कमला, बागमतीसहितका नदीमा पानीको बहाब दिउँसोसम्म सतर्कताको आसपास पुग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, झापा, मोरङ्ग, सुनसरी, सिन्धुलीसहितका जिल्लामा नदी तथा चुरे आसपासका बासिन्दा सचेत हुनु पर्नेछ ।

आज देशका प्रमुख नदीहरु कन्काई, सप्तकोशी र यसका शाखा नदीहरु, कमला, नारायणी तथा यसका शाखा नदीहरु, पश्चिम राप्ति, बबई, कर्णाली तथा यसका शाखा नदीहरु र महाकाली लगायका नदीमा बहाब बढ्ने देखिएको छ । यस्तै पहाडी क्षेत्रका खहरे खोलामा एक्कासी बाढी आउने सम्भावना रहेकाले सचेत हुन आग्रह गरिएको छ ।