देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले संसदीय मूल्य र मान्यतालाई कुल्चिँदै गएकोमा कांग्रेसको आपत्ति

देशान्तर

काठमाडौं – सरकारले संसदीय मूल्य र मान्यतालाई कुल्चिँदै गएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
सभामुखले मन्त्रीसँगको प्रश्न उत्तरको समय नदिएको भन्दै प्रतिनिधिसभाको बिहीबारको बैठक बहिष्कार गरेको कांग्रेसले सरकारले संसदलाई पार्टीको रुपमा लिएको आरोप पनि लगाएको छ ।
बैठक बहिष्कारपछि संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संसदीय पद्धति र परम्पराको पालना गर्ने दायित्वबाट सरकारपछि हटेको र संसदीय मूल्य मान्यतालाई कुल्चिँदै गएको बताए । उनले समयमै सच्चिन सभामुख र सरकार दुवैलाई चेतावनी दिए। उहाँले प्रतिनिधिसभा नियमावलिको नियम २ सय १९ मा भएको व्यवस्था अनुसार मन्त्रीसँग थप जिज्ञासाका लागि समय माग गर्दा सभामुखले उपलब्ध नगराएकाले बैठक बहिष्कार गर्नुपरेको बताए ।

कांग्रेस सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारले संसदलाई पार्टीको रुपमा लिएको भन्दै आगामी दिनमा नसच्चिए कडा प्रतिकारमा उत्रने र त्यसको जिम्मेवार सरकार हुने चेतावनी दिए ।सभामुख कृष्णबहादुर महराले भने बैठक बहिष्कार गर्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन् । उहाँले शुन्य समय र विशेष समयमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले दिएको जवाफमा प्रश्न उत्तरको व्यवस्था नियमावलिले नगरेको बताए । कञ्चनपुरमा भएको बालिका बलात्कारपछिको हत्याको घटना बारे सदनलाई जानकारी दिएका गृहमन्त्री रामबहादुर थापासँग प्रश्न उत्तरको समय नदिएको भन्दै कांग्रेसले बिहीबारको बैठक बहिष्कार गरी बाहिरिएको हो ।