चन्द्र महर्जन
गएको एक हप्ताको २४ घन्टामा प्रमुख प्रतिपक्षी दलका आदरणीय नेता केपी शर्मा ओलीले संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई एउटा परिचय दिनुभयो । कसैले कसैलाई परिचय दिन पाइन्छ । यो पनि त्यहीमध्येको एउटा मानौं । तर यो एउटा परिचयलाई ‘एउटा परिचय’ भनेर मात्र पुग्दैन । राजनीतिको एउटा प्रवृत्ति र नेतृत्वले कस्ता विषयलाई कसरी हेर्छ र सोबमोजिम आफ्नो धारणा बनाउँछ भन्ने यो एउटा उदाहरण नै हो । एउटा विषयलाई एउटै व्यक्तिले एक दिनको अन्तरमा बिल्कुलै विपरीत हुने गरी दुई प्रकारले पहिचान गराउँछ भने त्यही आजको राजनीतिको सबैभन्दा ठूलो दुर्भाग्य हुनुपर्छ र नेतृत्वको आफ्नै पनि परिचय । त्यसकारण यसलाई एउटा व्यंग्यमा मात्र सीमित राख्न हुन्न भनिएको हो । यस्तो तत्काल परिवर्तन हुने पहिचानले नै राजनीतिलाई दुषित बनाउँछ ।
यहाँ चर्चा गरिएका नेता ओलीले नेपाली कांग्रेसका बारेमा अघिल्लो दिन बाघ भन्ने संज्ञा दिनुभयो र २४ घन्टा बित्न नपाउँदै त्यो बाघ भैंसीमा परिणत भयो । पहिलो दिन सिकार खाएर अघाएको बाघ भनियो र त्यस्तै सभामा दोस्रो दिन कुँडो खाएर अघाएको भैंसी । यो सार्वजनिक सभामा भनिएको हँुदा तिथिमितिको आवश्यकता नपर्ला । कांग्रेस बाघ हो कि भैंसी जसका लागि जे होस् तर एउटै व्यक्तिका लागि आजको भोलि नै यी दुइवटै चाहिँ हुन सक्दैन । तर यहाँ त्यही भयो । ओलीका बोली स्वतन्त्र हुन्छन् भन्ने जग जाहेर नै छ । त्यसकारण यसलाई उल्लेख नगरे पनि हुन्थ्यो होला तर हिजोको बाघ आज कसरी भैंसी भयो र त्यो पनि प्रमुख प्रतिपक्षी दलको नेताका आँखाले देखेको र मुखले भनिएको भन्ने सर्वसाधारणमा त प्रश्न उठ्छ नै । यी दुईवटा जनावर हिजोको आज नै यस प्रकारले रूपान्तरण हुने होइनन् । तर गराइयो । त्यो पनि यो हदसम्मको जिम्मेवार तह वा भनौ नेतृत्वबाट । त्यसकारण यो एउटा प्रश्न बन्यो आम तहमा यसलाई पत्याउने कि नपत्याउने भन्ने पक्ष जोडिएर आयो । नपत्याउँ, यस्ता नेताबाट सार्वजनिक रूपमा बोलिएको छ र त्यसलाइ जिब्रो चिप्लियो भनेर सच्याइएको पनि छैन । पत्याउँ भने कुरो पत्याइसक्नै छैन । बाघ मांसाहारी जनावर हो र भैंसी चाहिँ शाकाहारी । यी दुई जनावरको चरित्रको पहिचान गराउँदा बालबालिकाहरूलाई सानैदेखि यसरी नै सिकाइँदै आइएको छ । उहाँ कुनै समय कुनै स्कुलको मास्टर हुनु भएको भए यस्तै पढाउनु भएको हुनुपर्छ । उनीहरूको यो चरित्रले नै यी दुई प्राण्ीालाई चिनाउँछन् । यहाँ यिनको चरित्र फेर्न खोजियो भने यिनलाई चिनाउनै सकिँदैन । यी दुई प्राणी जव संसारमा आए त्यो बेलादेखि आजसम्म नै यिनलाई यसरी नै चिनिन्छ । जतिसुकै ठूलो नेता हुनुहोस् वा त्यतिकै ठूला प्राणी विज्ञ, यो जनावर हिजो बाघ थियो र आज भैंसी भयो भनेर पुष्टि गर्न कसैले सक्दै सक्नुहुन्न, किनभने त्यो हुँदै हुँदैन ।
यथार्थ हो, कांग्रेस बाघ पनि होइन र भैंसी पनि होइन । यसलाई नेपाली जनताले कांग्रेस नै मानेका छन् । कसैले यसको यस्तो पहिचान दिन आवश्यक पर्दैन । नेता ओली आफं जसको मतबाट संसद्को दोस्रो ठूलो दल बन्नुभयो त्यस्तै जनताको मतबाट नेपाली कांग्रेस उहाँभन्दा ठूलो दल बनेको हो, अर्थात् सबैभन्दा ठूलो । होला, राजनीतिमा जसको जस्तो अपमान पनि गर्न पाइन्छ तर यहाँ त यी दुई स्वतन्त्र जनावरको नै यस्तो अपमान भयो । बाघ जंगलको राजा मानिन्छ । यसबाट नडराउने कुनै प्राणी हँुदैनन् । उसलाई यति सजिलै भैंसी बनादिएपछि त्यो बाघ कहाँ गयो । यहाँ पनि अनुमानै गरौं, हिजो आफंैले कसैलाई बाघ बनाइदिँदा उसको परिचय जसरी दिन खोजिएको थियो त्यसको ठीक उल्टो भएको ठानेर त्यसलाई तत्काल सच्याउन आवश्यक मानियो होला । तर भैंसीको पनि त आफ्नो छुट्टै संसार छ । ऊ शाकाहारी छ, सोझो र भरपर्दो तथा गुणकारी पनि । कसैका जिउधनलाई हानि गर्दैन । बरु उल्टो मान्छेले जो भन्यो त्यही मान्ने, आफ्नो बच्चाले पाउनुपर्ने दूध कसै अरूले खाइदिँदा पनि प्रसन्न नै रहने र मान्छेको हितका लागि नै जन्मिएको जस्तो । उसको यस्तो विशेषता र चारित्रिक गुणलाई एउटा दलको नेता भएको हैसियतबाट नै यसरी होच्याएको कुरा उसलाई पनि मन नपरेको होला । यदि उसको बोली हुन्थ्यो भने तत्कालै प्रतिक्रिया पनि आउनेथियो कि । बाघ जतिसुकै बुढो होस् घाँस खाँदैन र भैंसी पनि जति भोको होस मासु खाँदैन । उनका ती विशेष चरित्रलाई पूरै परिवर्तन हुने गरी बाघबाट भैंसीमा रूपान्तरण गरिदिएपछि यो एउटा उदाहरण बनेको हो । यो परिचयबाट भैंसीका वंशज बाघ भए, बाघको भैंसी ।
कुरा हिजोको बाघ आज भैंसी भयो भन्नेमात्र होइन । यसले समाजका हरेक कुरामा छिटोछिटो कसरी मान्यता र हेर्ने दृष्टिकोणमा परिवर्तन आउँदा रहेछन् भन्ने पक्षबाट पनि बुझ्नुपर्ने हुन्छ । यतिबेला देशले गर्नुपर्ने धेरै काम छन् खासगरी यो तहको नेतृत्वबाट । हिजो जुन कुरालाई जसरी पहिचान गरियो आज त्यसको ठीक उल्टो हुन्छ भने, त्यो पनि चरित्रगत रूपले नै र आकाशपाताल जस्तै अन्तर आउँछ भने त्यसले सिंगो समाजको विषयलाई कसरी हेर्ने गरिएको रहेछ भन्ने देखाउँछ नै । हिजोको बाघ नै आज भैंसीमा परिणत भएको हो भनी समाजलाई पढाउन थालियो र यो आफ्नो अडान नै भयो भने त्यस्तो नेतृत्वबाट के अपेक्षा गर्ने भन्ने प्रश्न उठ्छ नै । माथि पनि भनियो यसलाई एउटा व्यंग्यको रूपमा मात्र नलिइयोस् । यसले विषयको पहिचान कसरी गरिँदै छ वा गरिँदोरहेछ भन्ने संकेत गर्छ । जस्तो अहिले संविधानको कार्यान्वयन मूल समस्या छ तर यता यति जिम्मेवार तहबाट त्यसको पहिचान चाहिँ यस्तो प्रकारले भइरहेको छ भने परिणाम कस्तो आउँला ? अनुमान गर्न सकिन्छ । वस्तु अर्थात् यथार्थ एउटै हो, जस्तो हिजो त्यो बाघ थियो र आज पनि बाघ नै छ । तर यता हिजोको बाघलाई आज भंैसीमा रूपान्तरण गरिएर मुलुकका समस्याको निकास खोज्न थालियो भने त्यसले समस्या बढाउला कि घटाउला अनुमान गरौं ।
यस्तो एउटै वस्तुलाई विल्कुलै विपरीत र चरित्रगत रूपले पनि बिल्कुलै भिन्न हुने गरी प्रस्तुत गरिएको उदाहरण विगतमा पनि कायम भइसकेका छन् । हिजोको बाघ नै आज भैंसी भएकै हो भनी जवर्जस्त रूपले स्थापित गराउन खोज्ने दल एमालेले हिजो के कुरालाई कसरी परिचय गराएको थियो र आज त्यही कुरा अर्को रूपले कसरी आयो भन्ने खोजियो भने यो बाघ र भैंसीको प्रसंग झनै प्रष्ट होला । यो संविधानको पहिलो संशोधन एमालेको नेतृत्वमा भएको हो । अहिले संविधानको स पनि परिवर्तन गर्न हुँदैन भनिरहिएको छ । यो बेला संविधान संशोधनको चर्चामात्रै चलेको छ । यसका विषयवस्तु आएका छैनन् । विषयवस्तु नै नआई संशोधन गर्न हुँदै हुँदैन, गर्न दिइँदै दिइँदैन भन्नु आफंैमा संविधानप्रतिको दुई मान्यता हो पहिले र अहिलेको । पहिले जुन समस्याको समाधान गर्न संशोधन गर्नै पर्ने थियो र गरिएको पनि थियो । अहिलेको समस्या पनि त्यही, यसलाई सर्वस्वीकार्य बनाउनु हो । अहिले चाहिँ भनियो संविधान कतै पनि सर्वस्वीकार्य हुँदैन । यहाँ विषयमा अडान होइन संशोधन नै गर्न पाइँदैन भन्नेमा अडान कायम भयो ।
प्रदेशहरूको सीमानाको कुरा पनि त्यस्तै । अहिले भनी रहिएको छ निर्धाारित सीमामा एक इन्च पनि यताउता हुँदैन । पहिले जब यो दल सरकारमा थियो त्यही सीमा परिवर्तनका लागि तत्कालीन उपप्रधानमन्त्रीको नेतृत्वमा राजनीतिक समिति पनि गठन भएको थियो । त्यसबेला मधेसकेन्द्रित दलहरू र कांग्रेसले आफ्ना प्रतिनिधि नदिएकै कारण त्यो समितिले काम गर्न सकेन, यो अलग कुरा हो । तर, नेकपा एमाले त्यसैबेला सीमांकनमा पुनर्विचार गर्न र संविधान संशोधनमा तयार भएकै हो भन्ने त यसले बुझाउँछ नै । आफू प्रधानमन्त्री हुँदा सीमांकनमा हेरफेरका लागि संविधान संशोधन गर्न तयार हुनु अनि अहिले सत्ताबाहिर रहँदा संविधान संशोधन नै गर्न दिइन्न भन्नु बाघ नै भैंसीमा रूपान्तरण भएजस्तो नै त होला । अघिल्लो संविधानसभाताका यो दलको अडान थियो पहिचानसहितका १५ प्रदेश । यी अभिलिखित भएका कुरा हुन् । पछि अडान फेरिँदै यो संख्या ११–१० हुँदै ८ प्रदेशमा कायम भयो । यतिखेर भन्न थालियो यिनका संख्या र सीमामा इन्च पनि यताउता गर्न दिइन्न । धेरै टाढा जानु पर्दैन । संविधान बन्ने बेलामा एमाले र कांग्रेसले ७ प्रदेशको खाका ल्याएका थिए । त्यो खाकालाई मानियो भने मात्रै पनि मधेस र थारूको मुद्दा सहजै समाधान हुने देखिन्छ । तर यसका लागि संविधान संशोधन हुनुपर्छ त यता त्यसो गर्नै नदिने अडानमा बसिएको छ ।
विशेष दूतका कुरा पनि त्यस्तै देखिए । पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुअघि दलका तर्फकाट विशेष दूत पठाइएको थियो भने सरकार बनेपछि चार बुँदाको विशेष पत्र बोकेर उपप्रधानमन्त्रीलाई भारत पठाइएको थियो । अहिलेको सरकारले गरेको पनि त्यही हो । त्यसवेला आफूले जे काम जसरी गरिएको थियो अहिले अरूले त्यसरी नै त्यो काम गरिँदा यो चाहिँ अस्वीकार्य भयो । हिजोको बाघ नै आज भैंसीमा रूपान्तरण भएको हो भनी दाबी गरिएको जस्तो अवस्था ।
(लेखक सांसद हुन् ।)
]]>
प्रतिक्रिया