काठमाडौं । गत आ.व. २०७४/७५ मा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा कामदार पठाउने उत्कृष्ट १० वटा म्यानपावर कम्पनीमध्ये द रिभर ओभरसिजले फेरि पहिलो स्थान हासिल गर्न सफल भएको छ । आ.व. २०७३/७४ मा पनि द रिभर ओभरसिज पहिलो स्थानमा थियो ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार द रिभरले आ.व. ०७४/७५ मा ५ हजार १ सय ४२ पुरुष र ६ सय ६२ महिला गरी ५ हजार ८ सय ४ जना कामदार वैदेशिक रोजगारीमा पठाएको थियो । द रिभर ओभरसिजका सञ्चालक युवा व्यवसायी रघुनाथ पुरी हुन् ।
विभागका अनुसार धेरै कामदार पठाउने म्यानपावर कम्पनीको दोस्रो स्थानमा कोशी इन्टरनेशनल सर्भिस प्रा.लि. परेको छ । कोशीले ४ हजार ६ सय ५८ जना पुरुष र ८ सय १४ जना महिला गरी ५ हजार ४ सय ७२ जना कामदारलाई वैदेशिक रोजगारीमा पठाएको छ । त्यस्तै एसओएस म्यानपावर सर्भिस प्रा.लि.ले ४ हजार ४ सय ९९ जना पुरुष र १ सय ७८ महिला गरी ६ हजार ६ सय ७७ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । त्यस्तै इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.ले ३ हजार ९ सय ९० जना पुरुष र ३ सय ३२ जना महिला गरी ४ हजार ३ सय २२ जना कामदारलाई वैदेशिक रोजगारीमा पठाएको छ ।
त्यस्तै भिजन एन्ड भ्यालु ओभरसिज प्रा.लि.ले ३ हजार ३२ जना, साउन्डलाइन्स रिक्रुमेन्ट प्रा.लि.ले २ हजार ६ सय ६३ जना, सान नेपाल प्रा.लि.ले २ हजार ५ सय ५४ जना, प्याराडाइज इन्टरनेशनल प्रा.लि.ले ३ हजार ४ सय ८७ जना, मोनटाज ओभरसिज प्रा.लि.ले २ हजार २ सय ५४ जना कामदार वैदेशिक रोजगारीमा पठाएका छन् । विभागको तथ्यांकअनुसार गत आ.व.मा १ हजार ७२ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार पठाएका छन् ।
सो आ.व.मा ३ लाख ४ हजार ५ सय ६९ जना पुरुष र १९ हजार ३ सय ८ जना महिला गरी ३ लाख २३ हजार ८ सय ७७ जना कामदार संस्थागत रूपमा (म्यानपावर कम्पनीमार्फत) वैदेशिक रोजगारीमा गएका छन् । उक्त संख्या अघिल्लो आ.व. भन्दा ३० हजार ६ सय ५६ जनाले कम हो ।अघिल्लो आ.व. ०७३/७४ मा ३ लाख ५४ हजार ५ सय ३३ जना कामदार म्यानपावर कम्पनी मार्फत वैदेशिक रोजगारीमा गएका थिए ।
प्रतिक्रिया