देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तरुणदलको प्रदर्शनमा प्रहरी हस्तक्षेत, अध्यक्ष बस्नेत सहित तीन दर्जन कार्यकर्ता घाइते

देशान्तर

काठमाडौं । डा गोविन्द केसीको समर्थनमा शनिबार नेपाल तरुण दलले आयोजना गरेको ¥यालिमा प्रहरीले हस्तक्षेप गर्दा नयाँ वानेश्वरमा झडप भएको छ ।

माइतीघरबाट सुरु भएको शान्तिपूर्ण ¥याली नयाँ वानेश्वरतर्फ अघि बढीरहेका बेला प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । झडपका क्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत सहित तीन दर्जन भन्दा बढी कार्यकर्ता घाइते भएका छन् ।

यस्तै प्रहरीतर्फ पनि दुई प्रहरी नायव उपरीक्षक सहित ११ प्रहरी घाइते भएको बताइएको छ । प्रदर्शनकारीले प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर शाह को बा १ झ ७२३४ नम्बरको गाडीमा तोडफोड गरेका छन् ।

यस्तै ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनको ग १ झ २७६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।

सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीको बैठकमा सहभागि हुन वानेश्वरको इन्द्रेणी फुडल्याण्डमा गाडी रोकेर बसेकोमा तरुण दलका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।

तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर इन्द्रेणी फुडल्याण्डकै बा ११ च १२६६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ । तोडफोडका क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

झडपका क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो । दुई तिहाइको दम्भमा सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै आन्दोलनको घोषणा गरेको कांग्रेसको आह्वानमा शनिबार उसको भ्रातृ संगठन तरुण दलले प्रदर्शन गरेको हो ।