देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. केसीको अनशनमा ऐक्यबद्धता बढ्दै, माइतिघरमा आज बिशाल प्रदर्शन हुदै

देशान्तर

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा गोविन्द केसी आमरण अनसनमा बसेको आज २२ दिन पुगेको छ । पछिल्लो समय केसीको अनसनप्रति विभिन्न संघसंस्था, राजनीतिक दल तथा पेशाकर्मीहरुको ऐक्यबद्धता बढ्दै गइरहेको छ । यसैक्रममा डा केसीको जीवनरक्षा र उहाँले राख्नुभएका मागहरुको सम्बोधनका लागि सरकारलाई थप दबाव दिन आज काठमाडौंको माइतिघर मण्डलामा विशाल प्रदर्शन हुदैछ ।

माइतिघरमा आज मध्यान्ह १२ बजे प्राध्यापक, विश्लेषक, पूर्व प्रधानन्यायाधिश, पूर्व उपकुलपति, नेता, लेखक, कलाकार, पेशाकर्मीदेखि सर्वसाधारण जम्मा हुने भएका छन् । डा. केसीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी नेता कृष्ण पहाडी, खगेन्द्र संग्रौला, डा देवेन्द्रराज पाण्डे, केदारभक्त माथेमा, श्याम श्रेष्ठ, प्राध्यापक सुरेन्द्र लाभ लगायतका व्यक्तित्व तथा सर्वसाधारणहरू माइतीघर मण्डलामा सहभागी भई डा. केसीको अनशन प्रति ऐक्यबद्धता जनाउने कार्यक्रम रहेको छ ।
प्रदर्शनमा चिकित्सक, नर्स, कानुन व्यवसायी सम्मिलित विभिन्न संघसंस्थाले पनि आज माइतिघरमा प्रदर्शन गर्ने भएका छन्।

जुम्लाबाट अनसन सुरु गर्नुभएका डा केसीलाई गत बिहीबार सरकारले सरकारी हेलिकप्टरबाट काठमाडौं ल्याएको हो । त्रिवि शिक्षण अस्पतालमा आइसकेपछि पनि लगातार अनसनरत डा. केसीले औषधी लिन मान्नुभएको छैन । चिकित्सकहरुले डा. केसीको स्वास्थ्य अवस्थामा थप जटिलता देखिएको बताएका छन् । केसीलाई जुम्लाबाट काठमाडौं ल्याएपछि वार्ताको वातावरण बन्छ भनेको सरकारले पछिल्लो समय वार्ताका लागि कुनै चासो दिएको छैन ।

यसैबीच केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा गठन भएको टोली कामबिहिन बनेको छ । सरकारले सीधै अनशनरत केसीसंग वार्ता गर्ने बताएको छ । केसीसंग वार्ता भयो भने वार्तामा बस्दा सरकारले गठन गरेको वार्ता टोली नहुने भएको छ ।