नेपालको विडम्बना, जुन शासन आए पनि धेरै दुःख जनताले नै भोग्नु परेको छ । राणाशासन, पञ्चायती व्यवस्था, ससंदीय व्यवस्था र गणतन्त्र आयो, नेताहरू बने, जनताले अझसम्म के पाए ? गणतन्त्र आएपछि सर्वोच्च अदालतबाट कारबाहीमा परेको र हिन्दीमा शपथग्रहण गर्ने व्यक्ति देशको उपराष्ट्रपति बने । अहिले हावादारी कुरा गर्ने प्रधानमन्त्री, अपराधी हत्यारालाई माफी दिने हाम्रा राष्ट्रपति अनि करोडौंको सम्पत्ति हुने सर्वहारा नेता पाएका छौं । महँगी र करको बोझमा चुर्लुम्म डुबेका नेपाली जनता । नेपालको विडम्बना । समस्याको समाधान कस्ले गर्ने ? हाम्रा दुवैतिरका छिमेकी देश कहाँबाट कहा पुगिसके, हामी किन झन्झन् पिछडिँदै गएका छौं ? यसको एउटै उत्तर हो राजनीतिक अस्थिरता र तीव्र भ्रष्टाचार ।
एउटा प्रसंगमा एनआरएनका एकजना अग्रजले भनेका थिए– “हरिजी, नेपालका यस्ता कुनै नेताहरू छैनन् जसले मसँग पैसा नलिएका हुन्, बस एक जनालाई मात्र छाडेर” । अब क–कसले पैसा खाए त्यो जान्ने मलाई उत्सुकता भएन । तर कसले खाएन त भन्ने उत्सुकता हुँदा उहाँले भन्नुभयो– कृष्णप्रसाद भट्टराई ।
कांग्रेसलाई जनताले धेरै पटक विश्वास गर्दै ठाउँमा पु¥याएका पनि थिए । कांग्रेसले आफ्नो खुट्टामा आफैं बञ्चरो हानेको हो । कांग्रेससँग सम्पूर्ण नेपाली जनताको विश्वास थियो । तर विडम्बना, जनताको हुन सकेन । कांग्रेस नेताहरूको व्यवहारतर्फ इंकित गर्दै मानिसहरू भन्छन्– पहिला कांग्रेस पब्लिक थियो, २०४६ साल पछि लिमिटेड भयो, हाल आएर प्राइभेट लिमिटेड हुँदैछ । रूखले सबैलाई आश्रय दिने, छायाँ दिने र मीठो फल दिने हो । रूखले आफ्नो मर्यादा नाघेर ठूलो रूख बन्न खोजे ताड्को रूख हुन्छ । ताडको रूखले न फल दिन्छ न छायाँ नै । त्यस्तो रूख के काम ? कांग्रेस आफ्नो मर्यादामा रहने हो भने जनताले फेरि उचित ठाउँमा पु¥याउने छन् । अहिले देश अन्योलग्रस्त अवस्थामा छ । को राष्ट्रवादी हो र को राष्ट्रघाती हो, छुट्ट्याउन गाह्रो भएको छ । यस्तो संवेदनशील समयमा नेपाली कांग्रेसले बीपीको दर्शन, सिद्धान्त, चिन्तन र मेलमिलापको नीतिलाई आत्मसात् गर्दै राष्ट्रको स्वार्थलाई केन्द्रमा राखी अघि बढ्न अपरिहार्य छ ।
गुटबन्दी
कांग्रेसका नेताहरूले भाषण गर्दा पटकपटक बीपीको नाम लिन्छन् । उनीहरू बीपीले गरेको योगदानकै आधारमा आफ्नो राजनीतिलाई भजाइरहेका छन् । अनि मभन्दा ठूलो अरू हुनु हुँदैन भन्ने भावना बोकेका नेताहरूले एकअर्काको खुट्टा तान्ने काम गरी, आफ्नो पार्टीको योग्य व्यक्तिको मूल्यांकन नै नगरी आफूलाई समर्थन पाउने आफ्ना नजिकका चापलुसे र आफ्ना परिवारलाई बडी महत्व दिएको पनि देखियो । सिद्धान्तनिष्ट नेताका रूपमा चिनिने कृष्णप्रसाद भट्टराईजस्ता नेतालाई पनि आफन्तले नै षड्यन्त्र गरी दुई दुई ठाउँबाट हराए । २०४८ को निर्वाचनमा पराजित भएपछि बालुवाटारको प्रधानमन्त्री निवासबाट निस्किँदा यिनी हातमा छाता र लट्ठी लिएर पैदलै निस्केका थिए । हो यहीबाट बिस्तारबिस्तारै कांग्रेसी राजनीति व्यक्तिवादी हुँदै गयो । पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएर नेपाली कांग्रेस प्रजातान्त्रिकका रूपमा अर्को पार्टी गठन भयो । कांग्रेस पार्टीको विभाजन गर्नु एउटा ठूलो गल्ती थियो । आज त्यस गल्तीको परिणाम हामी सबै कांग्रेसी भन्नेहरूले स्वदेश र विदेशमा भोग्नु परेको छ । कांग्रेसमा गुटबन्दी एउटा क्यान्सर रोगजस्तो भएर फैलिएको छ । संसारभरि छरिएर बसेका नेपाली कांग्रेसका भातृ संस्था नेपाली जनसम्पर्क समितिमा विवाद नभएको मुस्किलले पाइन्छ ।
गुटबन्दीको राजनीति गर्नु कुनै पनि हालतमा कांग्रेसको लागि ठीक होइन । देश र विदेशमा केही यस्ता राजनीतिज्ञहरू अथवा भनुँ बीपीका अनुयायीहरू पनि छन् जो इमानदार कांग्रेसी हुन् । जो कुनै गुटबन्दीमा पर्न चाहँदैनन्, उनीहरू कता लाग्ने भनी अन्योलमा परेका छन् । चाहे पौडेल पक्षको, चाहे सिटौला, चाहे देउवा पक्षको भए पनि आखिर कांग्रेस नै हुन् । अनि हामी समग्रमा कांग्रेसको हौं भने हाम्रा महान नेता बीपी कोइरालाले देखाएको बाटोमा मरिमिट्ने नै हौं । त्यसकारण यहाँ यो बुझ्नु साह्रै जरुरी छ कि कुनै पनि समूहले आफ्नो हातमा मात्र शक्ति रहोस् भन्ने ठान्दछ भने त्योभन्दा मूर्ख नेता र नेताका भाइहरू अरू कोही हुँदैनन् । किनकि काग्रेस कसैको व्यक्तिगत सम्पत्ति होइन । जब हाम्रा अग्रज नेताहरूको आपसी स्वार्थको कारणले गर्दा नेपाली कांग्रेस दुई टुक्रा भयो, आज त्यस गल्तीको परिणाम हामी सबै कांग्रेसी भन्नेहरूले भोग्नुपरेको छ । अझै पनि इमानदार कांग्रेसी नेता नभएका होइनन् । यहाँ एक अर्काको खुट्टा तान्ने चलन छ ।
बीपी कोइरालाले परिकल्पना गरेको समाजवाद कांग्रेसी नेताका व्यवहारमा देखिँदैन । गरिब र धनीबीचको खाडल झन्झन् गहिरो हुँदै गएको छ र वास्तविक समाजवादको झलक पनि कतै देखिँदैन । बीपीले कल्पना गरेको समाजवाद भनेको आर्थिक र सामाजिक क्षेत्रमा गरिने सुधार थियो तर अहिले कांग्रेसले त्यस कुरालाई बिर्सेर आफ्नु स्वार्थ के गरी पूरा हुन्छ र शक्ति कसरी आफ्नै हातमा रहन्छ भन्ने होडबाजीमा मात्र लाग्नाले समाजवादले घुँडा टेकेको छ । हाम्रा नेताहरूले विगतमा जत्ति पनि त्याग गरेका थिए, शक्ति आफ्नो हातमा आउनेबित्तिकै त्यस त्यागको बदलामा ब्याजसहित असुल्न थाले । चरित्रको चिन्ता हुने नेताहरूको कमी देखियो । त्यागको भावना कसैमा छैन, पार्टीको आदर्श र मूल्यलाई बिर्सिसकेका छन् । देश र जनताप्रतिको जिम्मेदारी भन्दा उनको स्वार्थले बढी प्राथमिकता पाएको छ ।
१३औं अधिवेशनबाट देउवाज्यू कांग्रेसको सभापति चुनिएपछि गुटबन्दीको कारण टुक्रिएको पार्टीलाई एक बनाउने ठूलो सम्भावना थियो । देउवाले अलिकति बुद्धि पु¥याएको भए उहाँको नाम कांग्रेसको इतिहासमा सुनौलो अक्षरले लेखिन्थ्यो । उहाँ पटक–पटक प्रधानमन्त्री भइसक्नु भएको थियो । फेरि पनि प्रधानमन्त्री बन्ने लोभ उहाँले त्याग्न सक्नु भएन । त्यसबेला उहाँले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउनु भएको भए कांग्रेसीहरूको बीचमा एउटा धेरै राम्रो सन्देश जान्थ्यो कि अब गुटबन्दीको अन्त्य भयो भनेर । देउवाले पार्टीको एकताभन्दा आफ्नो स्वार्थलाई बढी महत्व दिएको प्रस्ट देखियो । प्रधानमन्त्री बन्नको लागि यहाँसम्म कि विरोधी पार्टीका छोरीलाई जिताउन आफ्नो कार्यकर्तासमेत खटाउनु कहाँसम्मको उचित कार्य हो ?
विदेशमा भ्रातृ संगठन
नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी भएकोले पार्टीमा भएका आन्तरिक प्रतिस्पर्धाको असर विदेशमा रहेका नेपाली जनसम्पर्क समितिहरूमा पनि गुट उपगुटको असर प्रत्यक्ष देखा पर्दै गइरहेको छ । जसको कारण युरोप अमेरिका जापान र अस्ट्रेलियामा ठूलो विवाद रहेको समाचारमा पाउँदा धेरै दुःख लाग्दछ । नेपाली जनसम्पर्क समितिमा देखा परेको कलह आन्तरिक हँुदै बाहिर छताछुल्लै हुने गरेको देखिएको छ । विगतका केही वर्षदेखि बेलायत, अस्ट्रेलिया, जापान र अहिले युरोपमा युरोपियन नेपाली कांग्रेसहरूका बीचमा ठूलो वादविवाद भइरहेको छ । आफूलाई अग्रज नेताहरूको नजिक छु भनी देखाउन र आफू बसेको ठाउँको ठूलो नेता मै हुँ भनी चिनाउनको लागि एवम् नेता बन्न त्यस देशमा रहेका कांग्रेसी नेपालीहरूको साथ सहयोग र समर्थनभन्दा नेपालमा रहेका नेताहरूको समर्थनबाट नेता हुने होडबाजीमा दिनमा १० पटक नेताहरूलाई फोन गर्ने गर्दछन् । विभिन्न किसिमका उपहार दिएर नेताहरूलाई भ्रष्ट बनाउने कोसिस पनि गर्दछन् ।
हिजो आज युरोप भेला भनेर सोसल मेडियामा ठूलो चर्चा बिचर्चा भइरहेको छ । एउटा मित्रले मलाई, तपाईंले गुटबन्दीलाई बढाउनु भयो भनी आरोप पनि लगाउनु भयो । बेल्जियमको गंगा भाइसँग र पोर्तुगालको पूर्ण हमाल भाइसँग डुल्दा देउवा ग्रुपमा जोड्ने रैछन् । बेल्जियमकै सीता बैनी र स्पेनका चिन्तामणि भाइसँग डुल्दा कोइराला ग्रुप वा रामचन्द्र दाइको ग्रुपभन्दा रैछन् । अब भन्नेको मुख कसले रोक्न सक्छ ? आफूलाई चित्त नबुझेको कुरो अथवा मेरो मन आत्मा र बुद्धिले यदि कुनै कुरा गलत वा सही हो भन्ने कुरामा कन्भिन्स भएमा त्यस्को समर्थन वा विरोध गर्न डराउदिनँ । म कुनै गुटवादीमा संलग्न छैन । मैले विगतमा लेखेका पत्रपत्रिकाको आर्टिकल पढ्ने हो भने प्रस्ट हुन्छ । मैले यसबारेमा सफाइ दिने आवश्यकता पनि ठान्दिनँ । हामी प्रजातन्त्र र लोकतन्त्रलाई मान्ने व्यक्ति हौं । हामीले प्रेस स्वतन्त्रता, वाक स्वतत्न्त्रता पाएका छौं त्यसकारण कसैको मानहानी नहुने किसिमले, सभ्य आलोचना गर्दा सबैलाई मनपर्छ भन्न् सकिँदैन र सबैलाई खुसी पनि पार्न सकिँदैन । मलाई युरोप कांग्रेसको सभापति बन्न खोजेको भनी आरोप पनि लगाए । खोइ कसलाई र कहिले मैले भने मेरो अगाडि ल्याउभन्दा उत्तर पाइनँ । कसलाई बनाउने त युरोपको प्रेसिडेन्ट ? नेपालमा राजनीति गरी ठूलो मान्छे भएका, भ्रष्टाचार गरी विदेश छिरेकालाई प्रेसिडेन्ट बनाउने हो कि अराजकतावादी, घमण्डी चरित्रहीनलाई प्रेसिडेन्ट बनाउने ? आवश्यकता परेपछि साधारण सदस्यदेखि अध्यक्षसम्म हुने क्षमता राख्दछु ।
मैले सधैं आफू पछि अरूलाई अगाडि बढाएको धेरै उदाहरणहरू छन् । नेपाली जनसम्पर्क समितिमा आबद्ध भई अनुभव भएका इमानदार, योग्य जो क्षेत्र, जाति र गुटलाई नहेर्ने, नयाँ सोच भएको युवा वर्गलाई अगाडि बढाउनुपर्ने हो । आफूलाई त आशीर्वाद दिन पाए पुग्छ । यस्को आवश्यकता छ वा छैन भन्ने कुरोको निर्णय गर्ने अधिकार कुनै व्यक्ति विशेषको नभै युरोपका सबै नेपाली कांग्रेसको सहमतिमा हुनुपर्छ । त्यस्का लागि युरोपका कुनै एक नेपाली जन सम्पर्क समितिलाई भेला गराउने कार्यको जिम्मेवारी दिनुपर्छ । त्यस भेलाले युरोपका नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधिहरू चुनी अधिवेशन कहाँ गराउने र कसरी गराउने भन्ने निर्णय लिन सक्छ । यो मेरो आफ्नो व्यक्तिगत विचार हो । केन्द्रबाटै गुटबन्दीलाई बढावा दिने कार्य भएकोले यस्तो अवस्था आएको हो । नेपाली कांग्रेसको विधान अनुरूप चलेर केन्द्रले इमानदारी देखाएको खण्डमा नेपाल र विदेशमा पनि गुटरहित बलियो कांग्रेस बन्न सक्छ ।
युरो कांग्रेससम्बन्धी अन्तिम भेलामा मेरो सहभागिता फ्रन्कफर्टमा थियो । यसलाई सफल बनाउने जिम्मेदारी हाम्रा केन्द्रीय नेता सुरेन्द्र पाण्डेको थियो । उहाँले आफैं अधिवेशनको म्याद तोकेर समयभित्र अधिवेशन नभएको खण्डमा यसको अस्तित्व भंग हुन्छ भनी जानु भएको थियो । समयमा अधिवेशन नहुँदा किन नभएको भन्ने कसैलाई जानकारी दिइएन । गल्ती र गुटबन्दी माथिबाटै भएको छ । अहिलेको सन्दर्भमा युरोपका विभिन्न नेपाली जनसम्पर्क समिति, जो वैधानिक छ र युरोपका देशहरूमा कानुनी रूपले मान्यता पनि पाएका छन्, ले हामी भेला गराउछौं भन्दा भन्दै पनि उनीहरूलाई एकातिर पन्छ्याई अनि उनीहरूले यो भेला किन नगर्न पाउने भनी नखुलाएर एउटा अवैधानिक र युरोपमै गैरकानुनी भएको संस्थालाई यत्रो कार्य गर्न कसरी र किन पत्र पठाएका हुन् ? मैले माथि नै लेखिसकेको छु नेताहरूले गरेका गल्तीलाई ढाकछोप नगरी सम्मानसाथ औंँल्याउन पनि सक्नुपर्छ ।
युरोपका सबै कांग्रेसी साथीहरूसँग एउटा अनुरोध गर्न चाहन्छु कि विगतमा के भयो भनेर एक छिन् बिर्सौं र भविष्यमा के गर्न सकिन्छ भनेर सोचौं । एउटा कुरो सत्य हो कि गुटबन्दी गरेर कांग्रेस सपिँ्रदैन । हामीले देउवा, पौडेल र सिटौला भनेर गुटबन्दीको राजनीतिलाई धेरै बणवा दियौं भने कांग्रेसको शक्ति बलियो हुनुको साटो झन्झन् कमजोर भएर जानेछ ।
भर्खरै सभापति देउवाले आफ्न गुटका मात्र साथीहरू बोलाई मिटिङ गर्नु भएछ भने त्यसैगरी राम्चन्द्र पौडेलले पनि आफ्ना गुटका मात्रलाई बोलाई मिटिङ गर्नुभएको खबर सुनियो । अब कम्युनिस्टहरूका बिभिन्न पार्टीहरू कांग्रेसका विरुद्धमा एक भएका छन् भने हामी कांग्रेसीहरू गुट बनाएर बसेका छौं । भोलि हामी कसरी कम्युनिस्टहरूलाई पराजित गर्ने ? यी बूढा नेताहरूले केही गर्लान् भन्ने देखिँदैन ।
६५ वर्षमा कर्मचारीहरूले पनि पेन्सन पाउँछन् भने नेताहरू ७० नाघ्दा पनि किन पेन्सनमा नजाने ? यो डिजिटल युग हो । आजकल जन्मँदा पनि आइफोन लिएर जन्मिन्छन् । पुरानो सोचको नेताहरूले बिदा लिने बेला आएको छ । अब युवा नेताहरूलाई बाटो दिनु परेको छ । जनताले र युवा कांग्रेस समर्थकहरूले चाहेको अनुसार कांग्रेसलाई बलियो बनाउने हो युवा पुस्तालाई मौका दिनुपर्छ । शशांक कोइराला राजनीतिमा आउँदा परिपक्व थिएनन् तर अहिले केही अनुभव भयो होला । बीपीको सपना साकार पार्नको लागि शंशाक कोइरालाको कर्तव्य पनि हुन जान्छ । एउटा कारण पार्टीको महामन्त्रीजस्तो महत्वपूर्ण पदमा भएको हुनाले र अर्को महत्वपूर्ण कारण बीपीको छोरा भएको हुनाले ।
अन्त्यमा एकअर्कालाई दोषारोपण गर्न छोडी सबैले पार्टी एकताको नाममा ऐना हेर्नु परेको छ र ऐना हेर्ने काम माथिबाट नै सुरु गर्नुपर्ने आवश्यकता भएको छ । परिवर्तन भन्ने कुरो कसैले ल्याएर दिने होइन, परिवर्तन हुन्छ तर आफूबाटै सुरु गर्नु पर्दछ । जय नेपाल !!
(पौडेल नेदरल्यान्ड निवासी गैरआवासीय नेपाली हुन् ।)
प्रतिक्रिया