देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्र अझै लथालिङ

देशान्तर

काठमाडौं । १० ओटा माओवादी घटकबीच एकता भएको चार महिना बितिसक्दा पनि सत्तारूढ नेकपा माओवादी केन्द्रका कुनै पनि कमिटीले पूर्णता पाउन सकेका छैनन् । माओवादी केन्द्रको एक जिल्लाबाहेक कुनै पनि जिल्लामा एकता सम्मेलनको प्रक्रियासमेत अघि बढ्न सकेको छैन ।

भ्रातृ संगठनमा पनि पत्रकारबाहेक अन्य कुनैको एकता सम्मेलन हुन सकेको छैन । ६ जेठमा राजधानीमा एक कार्यक्रमबीच १० माओवादी घटकले एकताको घोषणा गरेका थिए । त्यस अवधिदेखि हालसम्म जिल्ला, प्रदेश तथा भ्रातृ संगठनहरूको एकता सम्मेलन धेरै अघि बढिसक्नुपर्नेमा त्यसो हुन नसकेको हो । केही नेताले एकले अर्काको अस्तित्व सहजै स्वीकार्न नसक्दा एकता सम्मेलन तीव्र गतिमा अघि बढ्न नसकेको आरोप लगाएका छन् ।

कतिपय नेताले भने अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेकाले सरकारको कामलाई ध्यानमा दिँदा संगठनको एकता सम्मेलन भाँडिएको बताएका छन् । पार्टी हेडक्वार्टर सदस्य तथा प्रदेश–१ का इन्चार्ज गोपाल किराँतीले आफ्नो प्रदेशमा एकता भेला सम्पन्न भइसकेको र अब गाउँ तहदेखि सदस्यता वितरण तथा अद्यावधिक सकेर चाँडै पार्टीको जिल्ला सम्मेलन हुने बताए । माओवादीले केही जिल्लाबाहेक सबै जिल्लाको एकता भेला सम्पन्न गरिसकेको छ । रसुवामा भने एकता सम्मेलन सम्पन्न भए पनि अन्य कुनै जिल्ला पार्टीको एकता सम्मेलन हुन सकेको छैन । माओवादी केन्द्र निकटका भ्रातृ संगठनको एकता सम्मेलनसमेत रोकिएको छ । १३ र १४ असोजमा पार्टीनिकट पत्रकारको संगठन प्रेस सेन्टर नेपालको महाधिवेशन सम्पन्न भएको थियो । तर, अन्य भ्रातृ संगठनको अधिवेशन तथा महाधिवेशन प्रक्रियासमेत अघि बढ्न सकेको छैन । पार्टीको एकता भेलामा ४ सय ९९ सय महाधिवेशन आयोजक समिति गठन गरिएको थियो । त्यो समिति क्रमशः ६ सय ९९, ९ सय ९९, १४ सय ९९ हुँदै २५ सयको हाराहारीमा पुर्याइएको छ । आयोजक समितिको संख्या २५ सय पुर्याउँदा पनि सबैको चित्त बुझाउन नसकेपछि अब संख्या थप्नभन्दा घटाउनेतिर माओवादी नेतृत्व लागेको छ ।

माओवादी केन्द्रले सांगठानिक स्वरूपका विषयमा छलफल गर्न आगामी १० र ११ कात्तिकमा राष्ट्रिय भेला बोलाएको छ । राष्ट्रिय भेलामा हालका महाधिवेशन आयोजक समितिका सदस्यहरू उपस्थित हुने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । भेलामा महाधिवेशन आयोजक समिति संख्या नै सानो बनाएर जाऊँ भन्ने प्रस्ताव गरिने र बहुमत संख्याले हुन्न भन्ने आएमा यसैलाई महाधिवेशनसम्म लगेर जान सकिने पार्टी हेडक्वार्टर सदस्य मणि थापा बताउँछन् । यसअघि, ६ जेठमा काठमाडौंमा भएको भेलामा पदाधिकारी चयन गरिने घोषणा गरिए पनि विवादका कारण पदाधिकारी चयन नै नगरी ३३ सदस्यीय हेडक्वार्टर गठन गरिएको थियो । त्यस्तै, ९९ सय सदस्यीय सचिवालय र २ सय ९९ सय सदस्यीय पोलिटब्युरोसमेत गठन गरिएको छ । ३३ सदस्यीय हेडक्वार्टरमा १० जना, ९९ सदस्यीय सचिवालयमा करिब २५ जना तथा २ सय ९९ सय सदस्यीय पोलिटब्युरोमा समेत झन्डै सयजना सदस्य थप्न बाँकी रहेको छ । माओवादी केन्द्रका एक नेताले आकांक्षी धेरै भएको र एउटालाई समेट्दा अर्को रिसाउने भएपछि तत्कालका लागि समितिलाई पूर्णता नै नदिई छाडेको बताउँछन् ।

कार्यालय सदस्य मणि थापा राष्ट्रिय भेलाले पार्टी संगठनको एकरूपता आउने र आयोजक समितिलाई पनि सकेसम्म सानो बनाएर लैजाने बताएको आजको राजधानी दैनिकमा समाचार छ । माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेको र चैतभित्र स्थानीय तहको निर्वाचन हुने बताइरहेका बेला माओवादीभित्रको सांगठनिक भद्रगोलले असर पार्ने भन्दै नेता कार्यकर्ताले चिन्ता जनाएका छन् । तर, नेता किराँतीले भने पार्टीले जतिसुकै ठूलो पराजय भोग्ने स्थिति आए पनि चैतभित्रै निर्वाचन गराउनुपर्ने बताए । ‘भारी पराजय बेहोर्नुपरे पनि निर्वाचन हुनैपर्छ,’ किराँतीले भने, ‘यसअघिको निर्वाचनमा हामीले पराजय भोगेकै हौं, अझै धेरैले भुइँमा नटेकेको जस्तो भान भएको देख्छु, भुइँमा टेकेपछि उठ्ने हो, अहिलेलाई संविधानको रक्षाका लागि भए पनि निर्वाचन जरुरी छ ।’

]]>