काठमाडौँ । श्रममन्त्री गोकर्ण विष्टले समयमै ध्यान नदिँदा उपत्यकाबाहिर श्रम कार्यालय खोल्ने सरकारी योजना विफल भएको छ ।
मन्त्री विष्टले वैदेशिक रोजगारीमा जाने युवाको चापलाई मध्यनजर गर्दै उपत्यकाबाहिर तीन स्थानमा श्रम कार्यालय खोल्ने योजना बनाएका थिए । तर यसमा विनियोजन गरेको बजेट फ्रिज भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०७४÷७५ मा इटहरी, बर्दिवास र बुटवलमा श्रम कार्यालय स्थापनाका लागि ५५ लाख ७० हजार बजेट विनियोजन गरेको थियो । मन्त्रालयले समयमा कार्यालय स्थापनाको काम अगाडि बढाउन नसक्दा विनयोजित बजेट फ्रिज भएको हो ।
सुरुमा वैदेशिक रोजगारीबाट फर्किएका कामदारको पुनः श्रम स्वीकृति वितरण गर्ने र पछि श्रम स्वीकृति सम्बन्धी सबै काम गर्ने उद्देश्यले गत मंसिरमा श्रम कार्यालय खोल्ने योजना मन्त्रालयले अघि सारेको थियो ।
गत बैसाखमा श्रम मन्त्रालय सम्हाल्न आएको श्रममन्त्री गोकर्णराज विष्टले उक्त निर्णय आफ्नो नयाँ योजनामा समावेश गर्दै काम अघि बढाउने घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया