काठमाडौं । निरन्तर परिरहेको भारी बर्षातका कारण देशको विभिन्न ठाउँ डुवानमा परेका छन् । बर्षासंगै आएको बाढी र पहिरोका कारण देशको मुख्य राजमार्गहरु नै अवरुद्ध भएका छन् ।
अरनिको राजमार्ग अन्तरगत काभ्रेको बनेपामा बाढीले पुल नै छोपिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । अहिले अरनिको राजमार्ग हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, जिरी, रामेछाप, ओखलढ्ुगा, शोलुखुम्वु र सिन्धुली लगायतका ठाउँहरुमा ओहोरदोहोर गर्ने कुनैपनि सवारी साधन चल्न सकेका छैनन् ।
भक्तपुर र मध्यपुर डुबानमा
गएराति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ ।
यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन्।
राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो ।
जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् ।
यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ । मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय सञ्चारकर्मी पुष्करराज बुढाथोकीले जानकारी दिनुभयो ।
बिपी राजमार्ग ठप्प
बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले राजमार्ग ठप्प भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार बिपी राजमार्गका तीन चार ठाउँमा सडक अवरुद्ध भएको छ । सडकका ठाउँ–ठाउँ भासिने र माथिबाट झरेको ढिस्काबाट सडक पुरिएका कारण काभ्रेभञ्ज्याङ, मंगलटारलगायतका ठाउँमा सडक अवरुद्ध रहेको उहाँले बताउनुभयो ।
पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध
अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण गएरातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो ।
गएराति झण्डै १० बजेदेखि नै पहिरो खस्न शुरु गरेका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधान रातिदेखि नै बीचैमा अलपत्र परेका छन् ।
बाटो खुलाउनका लागि रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ । बाटो खुलाउनका लागि डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडक पुनः सञ्चालन हुन सकेको छैन ।
मध्यपहाडी राजमार्ग अवरुद्ध
मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो । गएरातिदेखि परेको पानीका कारण सडकमाथिबाट माटो खसिरहँदा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।
राजमार्गमा माटो खस्ने क्रम जारी रहेकाले पन्छाउन सहज नहुँदा सडकमा सवारी आवागमन रोकिएको छ । सडकमा थुप्रिएको माटो पन्छाउन आवश्यक पहल भइरहेको जनाएको छ ।
मदन भण्डारी राजमार्ग अवरुद्ध
मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज बिहान परेको वर्षात्ले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ आज बिहानदेखि अवरुद्ध भएको छ ।
काठमाडाँैबाट आएका हल्का सवारी सुमो, जीप, कार र मोटरसाइकल पहिरो नजीक अलपत्र अवस्थामा रोकिनुपर्दा यात्रुलाई गन्तव्यमा पुग्न निकै कठिनाइ भएको छ । दुई सडकमा पहिरो हटाउन प्राविधिकसहित डोजर त्यसतर्फ पठाइसकिएको र मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्म यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।
नारायणगढ–मुग्लिन सडकखण्ड
निरन्तरका वर्षासंगै नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिक सडक भासिएको ठाउँमा भित्तो काटेर वैकल्पिक मार्ग तयार गर्ने तयारी गरिएको छ ।
सडकको भूगर्वविद् अच्युत कोइराला नेतृत्वको विज्ञ समूहले अनुगमन गरेको थियो । समूह विस्तृत प्रतिवेदन काठमाडौँ फर्किएर दिने बताइएको छ । कोइरालाका अनुसार ११ मिटर फराकिलो सडकमध्ये आठ मिटर भासिएको छ ।
भासिएको जति भित्तो काट्नुपर्ने देखिएको उहाँले बताउनुभयो । मंगलबार बिहानदेखि भासिन शुरु गरेको सडकमा भासिने क्रम निरन्तर बढिरहेको छ ।
आजको मौसम
काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा अबिरल वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहेकाले पूर्वदेखि पश्चिमका धेरै ठाउँमा पानी परिरहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् ।
विशेष गरी मध्य क्षेत्रको काठमाडौँ उपत्यकासहित अधिकांश ठाउँमा अबिरल वर्षा भएको छ । यो वर्षा रोकिन अझै केही घण्टा लाग्ने मौसमविद पोख्रेलको भनाई छ । यस्तै पश्चिमका अधिकांश क्षेत्र र सुदूरपश्चिमका तराई तथा पहाडी क्षेत्रमा पनि पानी परिरहेको छ ।
बिहीबार दिनभर देशभरको मौसम सामान्यतया बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम स्तरको पानी पर्ने सम्भावना रहेको छ । यस्तै मध्य तथा पश्चिमका केही ठाउँ र पूर्वका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
अझै केही दिन देशभरको मौसम यस्तै रहने देखिएको छ ।
प्रतिक्रिया