काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा आयोजना हुने ब्रिक्स सम्मेलनमा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र सरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनअघि आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालका खाडीका प्रयास बिमस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा समेत प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । उनले गोवामा शनिवार नै चिनियाँ राष्ट्रपति सी जिनपिङसंग भेटवार्ता गर्ने तय भएको छ । दाहालले शनिबार अपराह्न ६ बजे सीसँग आधा घन्टा भेट्ने तय भएको छ ।
दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन विशेष कुराकानी हुने आफू निकटस्थलाई बताएका छन् । चिनियाँ राष्ट्रपति गोवा जाँदा वा गोवाबाट फर्कंदा नेपाल भ्रमण गर्ने भनिए पनि उनको भ्रमण अन्तिम समयमा रद्द भएको थियो । त्यस्तै विगतमा भएका पारवहन तथा यातायात सम्झौतालगायत चीनसँगका सबै सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता दाहालले व्यक्त गर्नेछन् ।
गोवामा रहदा प्रधानमन्त्री दाहालको चीनका राष्ट्रपति सी जिनपिङसँग शनिबार बेलुका र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आइतबार भेटवार्ता हुने परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले बताए । प्रधानमन्त्री दाहाल नेतृत्वको टोलीले भुटानका प्रधानमन्त्री, श्रीलंकाका राष्ट्रपति, दक्षिणअफ्रिकाका राष्ट्रपति, ब्राजिलका राष्ट्रपति, रुसका राष्ट्रपतिलगायतसँग भेट्ने कार्यक्रम छ ।
चिनियाँ राष्ट्रपतिसँगको भेटघाटमा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणका लागि अनुरोध गर्ने मन्त्री महतले बताए । शनिबार र आइतबार आयोजना हुने ब्रिक्स शिखर सम्मेलन तथा त्यससँगै हुने बिमस्टेक शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री १५ सदस्यीय टोलीको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्रीका साथमा पत्नी सीता दाहाल, पुत्र एवं स्वकीय सचिव प्रकाश दाहाल, परराष्ट्रमन्त्री महत, परराष्ट्रसचिव शंकरदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा, शिष्टाचार महापाल दीपक अधिकारी, परराष्ट्रका सहसचिव मणि भट्टराई, उपसचिव हरिप्रसाद ओडारी, दिल्लीस्थित कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाललगायत सहभागी हुने भएका छन् ।
]]>
प्रतिक्रिया