देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीको प्रस्ताव डा. केसीद्धारा अस्वीकार

देशान्तर

काठमाडौँ । विगत १० दिनदेखि जुम्लामा अनसनरत डा गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीसँग फोनमा वार्ता गर्न अस्वीकार गरेका छन् । आफ्ना मागका विषयमा थप बोल्न नपर्ने भन्दै केसीले प्रधानमन्त्रीको संवाद सन्देश लिएर जानुभएको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठलाई आफ्ना सातबुँदे माग पुरा नभएसम्म वार्ता नगर्ने जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले सचिवालय माफर्त डा. केसीसँग कुराकानीको वातावरण बनाउन नेपाल चिकित्सक संघ सँग आग्रह गरेपछि उक्त प्रस्ताव लिएर संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले केसी लाई जानकारी दिए ।

चिकित्सक संघका तर्फबाट डा केसीको अनसनलाई सहयोग र समर्थन गर्न जुम्ला पुगेका डा प्रकाश बुढाथोकीका अनुसार अहिले कुराकानीका लागि केसीलाई मनाउने प्रयास भइरहेको छ । डा. बुढाथोकीले कुराकानीबाटै समाधान निस्किने भएकाले प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न आग्रह गरिरहेको बताए ।

केसीले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गर्न माग गर्नुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गर्नुपर्ने माग पनि केसीको रहेको छ ।

माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गर्नुपर्ने र चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठर्हयाएका पदाधिकारीहरुलाई आयोगको सिफारिस बमोजिम कारबाही गर्नुपर्ने लगायतका सातबुँदे माग पनि केसीले राखेका छन् ।