देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रभाव चोरी हो ?

देशान्तर

केही दिनदेखि केही महिनाअघि कान्तिपुर कोसेलीमा प्रकाशित विवश पोखरेलको कविता ‘बग्दैबग्दै जाने छोरासँग’लाई लिएर सामाजिक सञ्जालमा निकै बहस र विवाद भइरहेको छ । कवि प्रोल्लास सिन्धुलीयले नयाँ पत्रिका दैनिकमा उक्त कविताको सन्दर्भ उठाएर ‘के यो कविताको चोरी होइन ?’ शीर्षकमा एउटा लेख लेखे, छोटो । त्यसमा उक्त कविता कवि टीका आत्रेयले पहिले लेखेको र धनकुटा जाँदा सँगैका साथीलाई यात्रामा सुनाएको कविता ‘आँसुको कोसीमा जीवनको अन्त्येष्टि’सँग मिल्दो भएको । त्यही यात्रामा कवि विवश पोखरेल पनि रहेका र उनले सुनेका अनि पछि विवशले उक्त विषयमै कविता लेखेका उल्लेख छ । र, घुमाउरो पाराले (भन्न त शीर्षकले नै भनिसकेको छ कि यो कविताको चोरी नै हो भन्ने आशयले) विवशले टीकाको कविता चोरेको भन्न खोजेका छन् ।

दुई जनाकै कविता सामाजिक सञ्जालमा सार्वजनिक भइसकेपछि पनि बहस र विवाद निचोडमा पुगेन । कविताका सामान्य पारखीले समेत ती दुई कविता पढिसकेपछि भन्न सक्छन्– एउटै विषय–भावमा रचना गरिएका दुई भिन्न कविता भनेर । तर सञ्जालमा बहस र विवादमा सहभागीका आँखामा लागेको/लगाइएको चस्माको रङ फरक परिरह्यो । कोही विवशले टीकाको कविता चोरेको भनेर तथानाम भन्न थाले भने कोही समकालीन सन्दर्भमा विषय, भाव मिल्नु सामान्य भएको तर्क गर्न थाले ।

वास्तवमा विषय एउटै भए पनि भाव विस्तृत छ विवशको कवितामा, दुवै कवितामा आमाको संवेदना प्रस्तुत गरिए पनि पुरुष स्रष्टाले प्रस्तुत गरेको मातृसंवेदना व्यापक र अत्यन्तै हृदयविदारक छ भने बिम्ब, प्रतीक र शिल्पमा पनि निकै भिन्नता छ दुई कवितामा । तब कसरी भन्न सकियो कि ती दुई कविता उस्तै वा उही हुन् र चोरी गरियो– कसैले कसैको ?

सन्दर्भ केही वर्ष अगाडिको । प्रोल्लास सिन्धुलीय मेरा अग्रज र मैले सम्मान गरिहेका÷गरिरहने साहित्यकार हुन् । गजलप्रधान संस्था अनाममण्डलीमा हामी केही ठिटा सहभागी थियौं– संस्थापकका रूपमा । र, हरेक शनिबार गजलगोष्ठी गथ्र्यौं । त्यही क्रममा रचना गरिएका धेरै गजलकारका त्यसबेलाका धेरै गजल भाव र विषय मिल्छन्, जुन स्वाभाविक हो । कवि सुरेश सुवेदी र म निकै घनिष्ठ थियौँ (अझै छौं) । उनका र मेरा प्रायः त्यस समयका रचना भाव, विषय र कति त शब्द पनि मिल्छन् । मेरो बहरबद्ध गजलकृति ‘बल्झेर याद तिम्रो’ प्रकाशन भयो, २०६२ मा र सुरेशको ‘अनुभूतिका डोबहरू’ २०६४ मा । हामीले दुई वर्षअघि नै लेखेका थियौं एउटै विषय, भावमा एउटै छन्द पञ्चचामरमा गजल । तर दुवैले दुवैका गजलबारे पछि मात्र थाहा पायौँ, जब एकले कहीँ कतै आफ्नो गजल सुनायौँ । कवि दाजु प्रोल्लासले ती दुवै गजल फेला पार्नुभएछ । उहाँले हामीलाई सोध्नुभयो– ‘कसले कसको चोरेको ?’

हामीले भन्यौंँ– ‘कसैले कसैको पनि चोरेको होइन । एकै समय र सन्दर्भमा लेखेका हौं । समय र परिस्थितिअनुसारका विषय र भाव दुवैका रचनामा आएको हो ।’ उहाँ यो कुरा स्वीकार्न तयार हुनुभएन र निकै ढिपी गर्नुभयो– कोही एक जनाले चोरेको स्वीकार गरिदेओस् भन्ने आसयले । हामी चकित के कुरामा पर्यौ भने– आखिर हामी जो ‘चोर्ने र चोरिने’ हौँ, हामी नै प्रस्ट छौँ आफ्ना रचनाबारे भने अर्को कसैले किन हामीलाई चोर बनाउन मरिहत्ते गरिराखेको होला ?

यसरी सिर्जना/रचनामा विषय वा भाव दोहोरिनुलाई चोरी भन्ने हो भने विश्वका सबैजसो रचना वा सिर्जना चोरी हुन् । हामीले जे लेखिरहेका छौं, ती विषय, भाव हामीभन्दा अगाडि लाखौंले लेखिसकेका छन् । मात्र फरक यति हो कि सर्जकको क्षमता, प्रतिभा, शब्दभण्डार, शिल्प आदिका कारण प्रस्तुतिमा फरक हुने हो । हामीले कुनै अघिल्ला सिर्जना, विषय वा वस्तुको प्रभावकै कारण नयाँ सिर्जना गर्ने हो । कविता के हो ? कस्तो हुन्छ ? कसरी लेखिन्छ ? भन्ने सामान्य ज्ञान पाउन पनि कसैका अघिल्ला कविता पढेकै हुनुपर्छ । पढेपछि, देखेपछि व्यक्ति तटस्थ रहन सक्दैन वा प्रभावविहीन रहिरहन सक्दैन । त्यही प्रभावले उसमा अर्को सिर्जनाका लागि ऊर्जा दिन्छ । यसर्थ सिर्जनामा प्रभावलाई चोरी भन्नु भनेको ९९ प्रतिशत सर्जक चोर हुन् भन्नु हो ।

त्यसो त सिर्जना चोरी पनि हुन्छ । हुबहु वा आंशिक अर्काको रचनालाई सारेर आफ्नो नाममा प्रस्तुत गर्नु चाहिँ चोरी हो । गजलकार राधा कणेलको ‘बाटो अझै छ बाँकी’, २०६५ गजल कृतिभित्रको गजल ‘तिमीले उषाको बिहानी नमाग्नू/कसैको कुनै जिन्दगानी नमाग्नू’लाई सिन्धुपाल्चोककी एक स्रष्टा/पत्रकार/नेतृले आफ्नो गजलकृतिमा ‘तिमीले उषाको बिहानी नमाग्नू ल/कसैको कुनै जिन्दगानी नमाग्नू ल!’ भनेर सारेकी छन् । उक्त पूरै गजलमा अन्त्यमा ‘ल’ थपेर आफ्नो पुस्तकमा ‘साभार’ गरेकी छन् । यस्तो भएमा चोरी भन्न सकिएला तर उनले त्यही विषय र भावमा आफ्नै मौलिक प्रस्तुति दिएकी भए त्यसलाई चोरी भन्न सकिँदैनथ्यो ।

कसैले कुनै विषय वा सन्दर्भले छोएको वा त्यस विषय र सन्दर्भमा सिर्जना गरेको छ र उक्त सिर्जना अर्को कसैले पढ्यो, सुन्यो अनि त्यही विषयमा आफ्नै शब्द, शिल्प र बिम्ब प्रयोग गरेर अर्को रचना ग¥यो भने के त्यो चोरी हो ? अवश्य होइन । त्यसो हो भने विगत लामो समयदेखि हालसम्म हामी अघिल्ला स्रष्टाका सिर्जनामा आएकै विषय, भाव र शब्द÷वर्णको पुनरावृत्ति गरिरहेका छौँ, जुन माथि उठाइएको विवादका आधारमा भन्ने हो भने चोरी नै हो । हो, हामीले आजसम्म मौलिक विषय, भाव र शब्द सिर्जनामा दिन सकेका छैनौँ । यो सरासर हामीले गरेको सिर्जनाको चोरी नै हो । हामी सर्जकहरू चोर हौं र यस्तो चोरीबाट हामी कोही एक जना पनि अछुत छैनौं ।

तर यदि विषय, भाव, शब्द, शिल्प, प्रस्तुतिलाई सिर्जनाको फरकपनका मापदण्ड मान्ने हो भने हामीले हरेकजसो सर्जकका रचनामा भिन्नता, फरकपन वा छुै वैशिष्ट्य पनि पाउन सक्छौं । स्वाभाविक हो कि यो संसारका सबै मानिसका संवेदना उस्तै हुन्छन्, दुखाइ उस्तै हुन्छ, भोगाइ (जीवनशैलीका कारण केही फरक भए पनि) र अनुभूति समान जस्तै हुन्छन् । अनि हरेक व्यक्तिले गरेका सिर्जना चाहिँ कसरी पूर्ण रूपमा भिन्न हुन सक्छन्– विषय र भावका हिसाबले ? सिर्जना भिन्न हुने भनेको मात्र शिल्प, बिम्ब र प्रस्तुतिका कारण हो, अन्य कुरामा समानता हुनु स्वाभाविक हो । र, यसैलाई वा विषय र भाव मिलेकै आधारमा सिर्जनाको चोरी भयो भन्नु अत्यन्तै सङ्कीर्ण र छोटो सोचाइ मात्र हो भन्ने लाग्छ ।

निष्कर्षमा पंक्तिकारको धारणा के छ भने हरेक सर्जकले आफूले बाँचेको, भोगेको, देखेको र अनुभूत गरेको विषयमा लेख्ने वा सिर्जना गर्ने हो र समकालीन परिवेश, भोगाइ, देखाइ र अनुभूति धेरैसँग मिल्नु स्वाभाविक हो । अर्को कुरा, मानिसले कुनै पनि काम वा सिर्जना कुनै विषयको वा घटनाको प्रभावबाट नै गर्ने हो । कसैले भनेको सुनेको आधारमा वा कहीँ कतै केही पढेको/देखेको आधारमा प्रभावित भएर ‘त्यस्तै वा त्योभन्दा राम्रो’ गर्न चाहने हो मानिसले । यसर्थ कोही कसैका रचना सुनेर वा काम देखेर वा पढेर कुनै विषय वा सन्दर्भलाई फरक तरिकाले प्रस्तुत गर्छ भने वा फरक बिम्ब, प्रतीक र शिल्पमार्फत् प्रस्तुति दिन्छ भने त्यो प्रभाव हो, जुन स्वाभाविक हो र त्यसलाई चोरी भनिनु अन्यथा हो, अस्वाभाविक हो ।