देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले संसदमा दर्ता गरेको सार्वजनिक महत्वको प्रस्तावमाथि आज छलफल

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको जरुरी प्रस्ताव माथि सोमवार छलफल हुने भएको छ । कांग्रेसले संसदमा डा. गोविन्द केसीको अनशनसम्बन्धी जरुरी सार्वजनिक महत्तवको प्रस्ताव शुक्रवार दर्ता गराएको थियो ।

कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले चिकित्सा शिक्षा अध्यादेशका मूल भावनाअनुरूप विधेयक तत्काल ल्याई अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य उपचार गरी जीवनरक्षा गरियोस भन्दै प्रस्ताव दर्ता गरेका थिए । उक्त पस्तावमा अतहर कमाल मुसलमान र पार्वता डिसी (चौधरी) ले समर्थन जनाएका थिए ।

सोमबारको बैठकमा बडुले प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची रहेको संसद सचिवलयले जनाएको छ । चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान विसंगतिलाई समाप्त गर्न तथा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले जारी गरेको अध्यादेशअनुसार विधेयक ल्याउनुपर्ने कांग्रेसको माग छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको अध्यादेशअनुसार बेलैमा प्रतिस्थापन विधेयक ल्याउन नसकेपछि केपी ओली सरकारको सिफारिसमा वैशाख १३ मा पुनः अध्यादेश जारी गरेको थियो । तर, सरकारले अध्यादेशमा भएको व्यवस्था परिवर्तन गर्दै प्रतिस्थापन विधेयक संसदमा पस्तुत गर्न लागेपछि कांग्रेसले विरोध गर्दै आएको छ ।

सोमबारको बैठकमा संसदीय समितिमा रहने सदस्यको नामावली घोषणा गर्ने सम्भावित कार्यसूची पनि छ । शुक्रबार सार्वजनिक गर्ने भनिए पनि कांग्रेसले संसद् अवरुद्ध गरेपछि नामावली घोषणा रोकिएको थियो । आज कांग्रेसले राखेको प्रस्ताव माथिको छलफल सकिएपछि संसदीय समितिमा रहने सदस्यको नाम घोषणा हुने संसद सचिवालयले जनाएको छ ।