काठमाडौं । नेपाल विद्यार्थी संघले माइतिघर मण्डलाको निषेधित क्षेत्र तोडेको छ । बुधबार दिउँसो ३ बजे कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेल र नेविसंघ महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा माइतिघर मण्डलाको निषेधित क्षेत्र तोडेको हो । उनीहरुले गोविन्द केसी र गंगामाया अधिकारीको पक्षमा चर्को नारावाजी गर्र्दै माइतिघर मण्डलामा प्लेकार्डसहित चर्को नारावाजी गरे । केन्द्रीय सदस्य पौडेलले नागरिकको विरोधको स्वर थुन्ने सरकारको प्रयास विरुद्ध आफुहरुको प्रदर्शन भएको बताए ।
प्रहरीहरुको बाक्लो घेराबन्दी तोड्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्को नारावाजी गरे । सो क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबिच असामान्य अवस्था सिर्जना भएको थियो । चिकित्सा शिक्षा सुधारका लागि जुम्लामा प्रहरी नियन्त्रणमै अनसनरत डा गोविन्द केसीको माग पुरा गर्न पनि उनीहरुले माग गरे ।
संघका महामन्त्री काफ्लेले मायतिघर मण्डलाको निषेधित क्षेत्र तोड्नु कास्टिङ मात्र भएको बताए । “शासकहरको यस्ता निषेध जनता सडकमा आएको दिन चकनाचुर हुन्छ,” काफ्लेले भने, “माइतिघर मण्डलामा कास्टिङ देखिएको छ । विस्तारै सरकारले जनताको आवाज थुन्ने गरि गरे्का सबै निषेधित क्षेत्र तोडिन्छ ।”
प्रदर्शनको क्रममा केहीबेर प्रहरीसँग धकेलाधकेल भएको थियो । धकेलाधकेलका क्रममा नेविसंघका कार्यकर्ता दोलखाका अर्बत खड्का र नुवाकोटका निरन्जन थापा घाइते भएको उपाध्यक्ष रामप्रसाद अधिकारीले जनाकारी दिए । उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया