देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टोपेखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

देशान्तर

चितवन । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बिहानैदेखि अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार  बुधबार बिहान फेरि ठुलो पहिरो गएको छ र पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ ।

प्रहरीले बिहान ५ः३० बजेतिर पहिरो खसेको अनुमान गरेको छ । पहिरो अन्दाजी ५० मिटरभन्दा लामो छ । अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ । पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ ।

पहिरोका कारण सोमबार दिनभर बाटो अवरुद्ध थियो । हिजो पनि राम्रोसँग गाडी चल्न सकेको थिएन । राजधानी काठमाडौंको लाइफ लाइन यो सडक वर्षासँगै पहिरा आउँदा पटक पटक बन्द हुने गरेको छ ।
नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा पहिरो गएर सडक बन्द हुने गरेको हो । अघिल्ला वर्षहरुमा लगातार ४३ घण्टासम्म बाटो बन्द भएको थियो । यो वर्ष असार ११ गते सोमबार लगातार ११ घण्टा बाटो बन्द भएको थियो ।