देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भाग खोज्ने लोभमा नफस्न कांग्रेस नेतृत्वलाई सिटौलाको आग्रह

देशान्तर

काठमाडौं। नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले केहि संसदीय समितिको सभापित र केहि संवैधानिक पदमा नियुक्तीको लोभमा बर्तमान सरकारको सहयोगी नबन्न पार्टी सभापति शेरबहादुर देउवालाई सचेत गराएका छन्। संवैधानिक व्यवस्था, संसदीय अभ्यास र पद्धती छाडेर प्रतिपक्षले सरकारसँग लेनदेन अल्मलिए काँग्रेस झनै कमजोर बन्ने सिटौलाले बताए।

पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९५औं जन्मजयन्तिका अवसरमा नेपाल विद्यार्थी संघ प्रदेश ३ ले राजधानीमा गरेको ‘गणतन्त्र स्थापना, गिरिजाप्रसाद कोइरालाको नेतृत्व र यूवा विद्यार्थीको भूमिका’ विषयक अन्तक्रियामा बोल्दै सिटौलाले काँग्रेस कमजोर बन्दा संसदीय व्यवस्था नै कमजोर हुने भएकाले व्यवस्थालाई बलियो बनाउन काँग्रेस मोलाहिजामा नलागि शशक्त रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । ‘सत्ता पक्षले त भुल्यो प्रतिपक्ष के हेरेर बस्या हो, म आफैं अचम्ममा छु, संसदीय समितिको लोभमा कांग्रेस लत्रिनु हुँदैन, संसदीय व्यवस्था बलियो बनाउँने जिम्मा कांग्रेसकै हो,’ नेता सिटौलाले भने । सभामुख र उपसभामुख फरक दलको हुनु पर्ने व्यवस्था संविधानले नै गरेको भन्दै सो विषयमा समेत कांग्रेसले शशक्त भूमिका देखाउनु पर्ने जनाए ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाले वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी एकिकरण पछि पार्टींको दूई नम्बरको बरियतामा राखेर डोर्‍याएकाले नै पार्टी सभापति बनेको भन्दै सिटौलाले त्यही लिगेसीबाट प्रधानमन्त्री बनेका देउवा निरंकुश हुनु जायज नभएको पनि स्पष्ट पारे। ‘गिरिजाबाबुको उत्तराधिकारी भएर त्यही लिगेसीबाट देउवाजी सभापति हुँदै प्रधानमन्त्री बन्नु भएको हो, आज उहाँ नै पार्टीको घरमूली हो, उहाँ ठीक ठाउँमा नरहे पछि पार्टी कसरी एकताबद्ध हुन्छ, गिरिजाबाबुको चरित्र उहाँमा देखिएन,’ सिटौलाले थपे । उनले पार्टीलाई एकताबद्ध बनाउँने काम सभापतिको भएको भन्दै निरंकुश भएर पार्टी चलाउँन नसकिने जनाए ।

२०६२/६३ सालको आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीलाई पार्टीका तर्फबाट मनाउनुपर्नेमा पार्टीले जन्मजयन्ती मनाउन आवश्यक नठानेका बेलामा नेपाल बिद्यार्थी संघ प्रदेश नम्बर ३ ले मनाएको हो । नेपाल बिद्यार्थी संघको केन्द्रीय समितिले पनि गिरिजाप्रसादको जन्म जयन्ती मनाउन आवश्यक नठानेपछि आफुले कोइरालाको जन्म जयन्ती मनाएको नेपाली बिद्यार्थी संघको उपाध्यक्ष एंव नेपाल बिद्यार्थी संघ प्रदेश नम्बर ३ का संयोजक रामप्रसाद अधिकारीले जानकारी दिए ।