काठमाडौं । सनम शाक्य हत्या काण्डसंग जोडिएको चर्चित सुन काण्डको छानविन अन्तिम चरणमा पुगेको छ । गृहमन्त्रालयले सह–सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय छानविन समितिले सो सुन काण्डको छानविन अन्तिम चरणमा पु¥याएको हो । चैत २० गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार गठन भएको समितिले असार मसान्तसम्म सरकारलाई अन्तिम प्रतिवेदन बुझाउने गरी अनुसन्धान प्रक्रियालाई अन्तिम चरणमा पु¥याउन लागिएको बताइएको छ । गत माघ ९ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्राएको र बेपत्ता पारिएको भनिएको तस्करीको साढे ३३ किलो सुनका भरिया भनिएका मोरङका सनम शाक्यको हत्या भएपछि सरकारले सुन तस्करी र सनमको हत्याबारे छानबिन गर्न समिति गठन गरेको थियो ।
समिति गठन भएपछि प्रहरीका बहालबाला उच्च अधिकारीसहित व्यवसायी गरी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । सुन तस्करी प्रकरणमा गोरेका सहयोगी भनिएका जग्गा व्यवसायी राम तिवारी, काठमाडौंमा घरजग्गा व्यवसायी बिमल पोद्दार र रेस्टुरेन्ट व्यवसायमा संलग्न भनिएका अकबर साह लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।
पोद्दार पक्राउ परेपछि नेपालस्थित सामसुङ मोबाईलका अधिकृत बिक्रेता तथा प्रतिष्ठित व्यवसायी दीपक मल्होत्राको पनि सुन तस्करी काण्डमा नाम जोडेर समाचार सार्वजानिक भएको थियो । पोद्दार मल्होत्राका घरजग्गा ब्यवसायका साझेदार भनिएका कारणले मात्र मल्होत्राको नाम मुछेर बदनाम गराउने प्रयास भएको तथ्य सार्वजानिक भएको छ । उच्चस्तरिय छानविन समिति स्रोतका अनुसार व्यवसायी दीपक मल्होत्राको नाम कसैले नपोलेको तथा समिति सुचना संयन्त्रले खोजी एवं मिहीन अनुसन्धान गर्दापनि कहींकतैबाट पनि उनको संलग्नता पुष्टि हुने काम कारवाही देखिएन । ‘मल्होत्राको नाम केहि संचार माध्यमले जोडेकाले खोजीनीति गर्दा उनको संलग्नता कतैबाट पनि देखिएन’ छानविन समितिका एक सदस्यले भने ।
व्यवसायी मल्होत्रा नेपाल चेम्बर अफ कर्मशको तर्फबाट प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा रहेका बेलामा उनी फरार भएको भन्दै चरित्र हत्या गर्ने समेत प्रयास भएको थियो । उनी चेम्बरको उपाध्यक्ष पनि हुन । वर्षौदेखि मल्होत्रा मोबाईल, घरजग्गा तथा कोरियन गाडी साङयोङको व्यापारमा संलग्न रहदै आएका छन् । अहिले मल्होत्रालगायत केही व्यवसायी र पूर्व सरकारी अधिकारीहरुलाई यत्तिकै सुनकाण्डमा जोडेर बदनाम गर्ने प्रयास हुँदै आएको छ ।
प्रतिक्रिया