सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले आमनागरिकको स्वतन्त्रतामाथि धावा बोल्ने तथा नागरिकको शान्तिपूर्ण रूपमा विरोध गर्ने अधिकारमाथि धावा बोल्दै राजधानीका धेरै स्थानमा निषेधाज्ञा घोषणा गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले समेत जनताका प्रतिनिधि सांसदहरूको पनि मुख थुन्ने प्रयत्न गरेका छन् । सभामुख महराले सांसदहरूको मुख थुन्ने मात्र होइन कहिले मन्त्रीको त कहिले प्रधानमन्त्रीको प्रवक्ता जस्तो गरी मन्त्री र प्रधानमन्त्रीहरूका बारेमा संसद्लाई सूचना दिँदै गरेका दृश्य संसद्को प्रत्यक्ष प्रसारणमार्फत नियालिरहेका राजनीति विश्लेषकहरूले जिब्रो टोक्न बाध्य छन् ।
सभामुख महराले गत सोमबारको प्रतिनिधिसभाको बैठकमा संसद्कै गरिमामाथि धावा बोले । मुलुकमा कम्युनिस्ट राज चलिरहेका बेलामा विधि र शासनमा चल्ने संसद्मा सभामुख महराले कम्युनिस्ट पार्टीका एजेन्डा जसरी दुई तिहाइको दम्भ प्रस्तुत गर्दै सांसदहरूलाई बोल्न रोक्ने प्रयास गरे । सभामुख महराले विभागीय मन्त्रीको उपस्थिति बिना जबर्जस्ती विनियोजन विधेयकमा छलफल चलाउन खोजे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नियमापत्ति जनाउँदासमेत सभामुख महराले धेरै विनियोजन विधेयकमा छलफल गर्नुपर्नेछ अगाडि बढौं भनेर कांग्रेस सांसदहरूलाई रोक्न खोजे । जबकि विभागीय मन्त्रीको उपस्थितिबिना उक्त मन्त्रालय बारेमा सांसदहरूले जिज्ञासा राख्नुको कुनै औचित्य रहँदैन । विभागीय मन्त्रीको उपस्थिति बिना विनियोजन विधेयकमाथि छलफल हुनै सक्दैन । तर उनले गृह मन्त्रालयको बारेमा विनियोजन विधेयकमा छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संसद् बैठकमा उपस्थित नभएको अवस्थामा संसदीय मूल्य र मान्यता विपरीत छलफल चलाउने प्रयास गरेर संसद्को मर्यादाको खिल्ली उडाउने प्रयास गरे ।
विपक्षी नेपाली कांग्रेसका सांसदहरूले मन्त्री बिना कसरी छलफल गर्ने भनी प्रश्न सोध्दा सभामुख महरा भने सभामुखको हैसियत बिर्सेर मन्त्रालयका कर्मचारी साथीहरू हुनुहुन्छ उहाँहरूले जिज्ञासा टिप्नु हुनेछ भन्दै थिए । संसद्मा बोल्ने मर्यादित भाषा हुन्छ तर महरा मन्त्रालयका कर्मचारी साथी भन्दै थिए । त्यसपछि कांग्रेसका सबै सांसद उठेर विरोध जनाए । कांग्रेस सांसदहरूले सभामुखको कार्यशैलीको समेत विरोध जनाए । त्यति हुँदा पनि सभामुख महराले गृहमन्त्री थापालाई कहिले मन्त्रालयबाट हिंडिसकेको जानकारी दिने त कहिले ट्राफिक जाममा परेको जस्तो जवाफ दिएर संसद् जबर्जस्ती चलाउने प्रयास गरिरहेका थिए ।
सभामुख महरा र रामबहादुर थापा बादल पहिले एउटै दलका थिए । दुवै तत्कालीन नेकपा माओवादी केन्द्रका नेता थिए । माओवादी र नेकपा एमालेबीच पार्टी एकीकरण भएपछि अहिले (नेकपा) बनेको छ । (नेकपा)का नेता हुनुपूर्व नै महरा सभामुख बने । सभामुख बन्दा पार्टीको सदस्यता त्याग्नुपर्ने प्रावधान छ । सदस्यता त्याग्नुपर्ने भए पनि महरामा कम्युनिस्ट पार्टीको ह्वाङ अझै बाँकी रहेका देखाएका छन् । महरा संसद्को सभामुखको कुर्सीमा बसेर गृहमन्त्री थापाको प्रवक्तको जस्तो व्यवहार प्रदर्शन गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । ती राजनीतिक विश्लेषकले सभामुखले आफ्नो पदीय मर्यादा नाघेको बताए । उनका अनुसार सभामुखले नाटकीय ढंगले संसद्को प्रमुख विपक्षी दल नेपाली कांग्रेसको समेत अपमान गर्न खोजेका थिए । सरकारमा बसेका कम्युनिस्टले कानुन र विधिको शासनको खिल्ली उडाइरहेका बेलामा संसद्मा रहेका कम्युनिस्ट नेता महराको पनि विधि नियम र पद्धतिलाई छोडेर हुकुमी पाराले सांसद चलाउने प्रवृत्ति गम्भीर खालको भएको विश्लेषण गर्न थालिएको छ ।
सभामुख महराको संसद्मा बलमिच्याइँ त्यतिमा मात्रै सीमित रहेनन् । उनले भोलिपल्ट अर्थात् मंगलबारको संसद् बैठकमा पनि फेरि बलमिच्याईँ गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गरेपछि संसद्लाई जानकारी गराउनका लागि उपस्थित भए । उनले बोलिसकेपछि सांसदहरूसँग प्रश्नोत्तर गर्नुपर्ने थियो । तर सभामुख महराले ओली आफ्नै पार्टीका अध्यक्षसमेत रहेकाले त्यहाँ प्रधानमन्त्रीको प्रवक्ता बन्दै एकजनाले मात्र बोल्न मिल्ने सर्त राखेर एकजनालाई बोल्न दिए । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले बोले । त्यसपछि सभामुख महराले अरूलाई बोल्न दिएनन् । महराले प्रधानमन्त्रीको व्यस्तता र स्वास्थ्यलाई ख्याल राख्दै भन्दै बोल्न रोकेका थिए । अघिल्लो दिन गृहमन्त्रीको प्रवक्ता जस्तो गरी मन्त्रालयबाट हिँडेको र ट्राफिक जाममा परेको सूचना संसद्लाई दिने सभामुख महराले दोस्रो दिन प्रधानमन्त्रीको प्रवक्ता बनेर प्रधानमन्त्रीको स्वास्थ्य र व्यस्तताको सूचना दिँदा संसद्को प्रत्यक्ष प्रसारण हेरेर बसेका कतिपयले जिब्रो टोकेका थिए ।
प्रतिक्रिया