काठमाडौं । वीरगंजको शंकराचार्य गेट नजिकैबाट एक किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
वीरगंजबाट सुन बोकेर भारतीय सीमावर्ती शहर रक्सौलतर्फ लग्दै गरेको अवस्थामा इनर्वास्थित प्रहरी चौकीले सर्लाही हरिपुर –९, का सन्तोषकुमार साहलाई पक्राउ गरेको हो । प्रहरीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ । विशेष सुराकीको आधारमा प्रहरी चौकी इनर्वाबाट प्रहरी नायव निरीक्षक त्रिभूवन साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगन्जबाट रक्सौल जाँदै गरेका साहलाई पक्राउ गरेको हो ।
उनी चढेको ना ४८ प ३७७४ नम्बरको मोटरसाइल शंकराचार्य गेटमा रोकर चेक गर्दा मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको ६ वटा टुक्रामा रहेको अन्दाजी एक केजी सुन बरामद भएको हो ।सुनसहित पक्राउ परेका साहलाइ आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी नायव निरीक्षक साहले जानकारी दिनुभयो ।सुन वीरगन्जका एक सुनचाँदी व्यापारीको रहेको प्रहरीले दावी गरेको छ । तर ती व्यापारीको बारेमा भने प्रहरीले केही जानकारी गराएको छैन ।
प्रतिक्रिया