काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण समृद्ध नेपाल निर्माणका लागि सहयोगी बनेको बताएका छन्। असार ५ देखि १० गतेसम्म मित्रराष्ट्र चीनको भ्रमण गरेका प्रधानमन्त्रीले स्वदेश फर्केको तेस्रो दिन प्रतिनिधिसभालाई आफ्नो भ्रमणका उपलब्धिबारे जानकारी गराएका हुन्।
मंगलबार बिहान बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा मुलुकको विकासको प्रयासमात्र पर्याप्त नहुने भएकोले छिमेकीहरूको सहयोग जुटाउन आफू लागेको बताए। हामीले छिमेकीसँग सम्बन्ध सुधारेका छौँ। विश्वास, समझदारी र सहकार्यको वातावरण निर्माण गर्न सफलता प्राप्त गरेका छौँ, प्रधानमन्त्रीले भने।
सरकार क्षणिक हिसाबले एक छिमेकीका विरुद्ध अर्को छिमेकीलाई उचाल्न नलागेको स्पष्ट पार्दै प्रधानमन्त्रीले छिमेकीहरूबीच समेत सहकार्य र विश्वासको वातावरण बनाउनु आफ्नो भूमिका रहेको बताए। हामी क्षणिक हिसाबले एउटा विरुद्ध अर्कोको कार्ड खेल्ने, उचाल्ने अथवा तात्कालीक हितका निम्ति गैरजिम्मेवार तरिकाले चल्ने काम गर्दैनौँ, प्रधानमन्त्रीले भने, हामी दुबै छिमेकीहरूसँग विश्वासयोग्य, भरपर्दो र पारस्परिक सहयोग तथा सहकार्यको वातावरण निर्माण गर्न चाहन्छौँ।
नेपालको विकासको प्रयासमा छिमेकीको साथ चाहिने भएकोले त्यसनिम्ति आफ्नो सरकारले प्रयास गरेको प्रधानमन्त्रीको भनाई छ। छिमेकी मुलुकहरूको सम्वेदनशीलता पनि नेपालले बुझेको बताउँदै प्रधानमन्त्रीले उनीहरूको जायज चासोको सम्बोधन गर्ने बताए। कतिपयले सरकारले बाहिर गर्ने कुरा र भित्री व्यवहारबीच तालमेल नरहेको शंका गरेकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले सरकार पारदर्शी रहेको बताए। कतिपयले भित्र के हो कसो हो रु बाहिर यस्तो देखिएको छ भन्ने गरेका छन्, प्रधानमन्त्रीले भने, हामी भित्र र बाहिरवाला कुरा गर्दैनौँ, उहाँहरूका सम्वेदनशीलतालाई पनि बझेका छौँ, उहाँहरूका जायज चासो र सरोकार बुझेका छौँ।
आफ्नो विकासको प्रयाससँगै अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि नेपालले भूमिका खेल्न चाहेको प्रधानमन्त्रीले बताए। हामी हाम्रा दुई छिमेकीबीच असमझदारी हटाउन सकारात्मक भूमिका खेल्छौँ। उहाँहरूबीचमा पनि सहकार्य विकास गर्ने कुरामा हाम्रो सकारात्मक योगदान रहन्छु, प्रधानमन्त्रीले भने, हामी यता ढल्कने वा उता ढल्कने गर्दैनौँ।
पञ्चशील, पारस्परिक लाभ र स्वाभिमानका आधारमा राष्ट्रिय हीतलाई केन्द्रमा राखेर काम गर्ने प्रधानमन्त्रीले स्पष्ट पारे। अन्तर्राष्ट्रिय सम्बधमा पनि हामी तनाव होइन, शान्तिको पक्षमा छौँ। अझ हामी हाम्रा छिमेकीहरूमा तनावको पक्षमा हुनै सक्दैनौँ। यो नै हाम्रो हीतमा छ। हाम्रा हरेक भेट र भ्रमणमा यो भावनालाई स्पष्ट पारेका छौँ।
बलिया छिमेकीहरूको सामर्थ्य र प्रविधिलाई नेपालको विकासका प्रयासमा मिसाउन चाहेको उनको भनाई छ। उहाँहरूको योगदान र सहकार्यको अपेक्षा गर्छौँ। अरुसँग पनि सहकार्य गर्न चाहन्छौँ, प्रधानमन्त्रीले भने, सबैसँग मिलेर समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूरा गर्न चाहन्छौँ। त्यस दिशामा भ्रमण सकारात्मक र सहयोगी बनेको छ।
प्रतिक्रिया