काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत सोमबारदेखि समूह चरणका अन्तिम खेलहरु सुरु हुँदैछन् । यो चरणका खेलले अन्तिम १६ मा पुग्ने टिमको टुंगो लगाउने छ भने समूह विजेता र उपविजेताको पनि ।
सोमबार समूह ए र बी का अन्तिम चरणका खेल हुनेछन् । समूह ए अन्तर्गतका दुई खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । समारा एरिनामा उरुग्वेले रुस तथा भोल्गोग्राड एरिनामा साउदी अरेबियाले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।
यो समूहबाट आयोजक रुस र उरुग्वेले अन्तिम १६ मा स्थान बनाएका छन् । अब उरुग्वेसँगको खेलमा हारबाट जोगिएमा रुस समूह विजेता बन्ने छ । यो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् ।
समूह बी अन्तर्गतका दुई खेल नेपाली समय अनुसार साती पौने १२ बजे हुने छन् । स्पेनले मोरक्कोसँग कालिनिन्ग्राड रंगशालामा तथा पोर्चुगलले इरानसँग मोर्डोभिक एरिनामा प्रतिस्पर्धा गर्नेछ ।
यो समूहमा अवस्था केही फरक छ । मोरक्कोसँगको खेलमा बराबरी गरेमा पनि स्पेन अघिल्लो चरण जानेछ । तर स्पेन हारेमा पनि उसको सम्भावना छ । त्यसका लागि पोर्चुगल इरानसँग फराकिलो अन्तरले पराजित हुनु पर्छ वा यो खेलमा कम गोलको बराबरी भएमा स्पेन मोरक्कोसँग एक गोल अन्तरले मात्रै पराजित भएको हुन पर्छ अघिल्लो चरण प्रवेशका लागि ।
पोर्चुगलको कुरा गर्दा इरानसँगको खेलमा बराबरी गरेमा पनि उ अघिल्लो चरण जाने छ । यदी स्पेन र पोर्चुगल दुवै पराजित भए भने बढी गोल अन्तरले पराजित हुने टिम बाहिरिने छ । यदी दुवै टिम विजयी भए भने बढी गोल अन्तरले विजयी हुने टिम समूह विजेता बन्ने छ ।
यो समूहको शीर्ष दुईमा रहेका टिमको अंक, गरेको गोल र गोल अन्तर समान छ । अन्तिम खेल पछि पनि यस्तै रह्यो भने फेयर प्लेका आधारमा समूह विजेता छानिने छ । यसरी हेर्दा अहिलेसम्म स्पेनले एउटा तथा पोर्चुगलले दुईवटा पहेँलो कार्ड पाएका छन् ।
इरानले पोर्चुगलसँगको खेल जितेमा उसले अघिल्लो चरणमा स्थान बनाउने छ र स्पेनले मोरक्कोमाथि जित ननिकालेमा उ समूह विजेता पनि बन्न सक्नेछ ।
प्रतिक्रिया