काठमाडौँ । रुसमा जारी फिफा विश्वकप फुटबलमा शुक्रबार तीन खेल हुँदैछन् । जस अन्तरगत समूह ई का दुई खेल र समूह डी को एक खेल हुँदैछ । पहिलो खेलमा समूह ई का ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा ब्राजिल र कोष्टारिकाबीचको खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे हुनेछ । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरी खेलेर १ अंक मात्रै बटुलेको ब्राजिल आज जित्नै पर्ने दवावमा हुनेछ ।
समूहको अन्तिममा कोस्टारिका छ । उ पहिलो खेलमा सर्बियासँग पराजित भएको थियो । पहिलो खेलमा जीत दर्ता गरेको सर्बिया शीर्ष स्थानमा छ । स्वीट्जरल्याण्ड र ब्राजिलको समान १ अंक मात्रै छ ।
यहि समूहको स्वीट्जरल्याण्डले राती पौने १२ बजे सर्बियाको सामना गर्दैछ । आजको खेल जितेमा सर्बिया अघिल्लो चरण प्रवेश गर्ने छ । तर वीट्जरल्याण्ड विजयी भएमा अन्तिम खेलबाट मात्रै समूह पार गर्ने टोलीको टुंगो लाग्नेछ ।
यस्तै पौउने ९ बजे समूह डी का आइसल्याण्ड र नाइजेरिया भिड्दै छन् । नाइजेरिया पहिलो खेलमा बोयसियासँग पराजित भएको थियो भने आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको थियो । आजको खेलमा जीत निकालेमा आइसल्याण्डको अघिल्लो चरणको संभावना बलियो हुनेछ ।
तर बराबरी अथवा हारले भने अर्जेन्टिनालाई मद्दत पुग्नेछ । त्यो अवस्थामा अन्तिम खेल फराकिलो गोल अन्तरले जितेमा अर्जेन्टिनाको अघिल्लो चरणको संभाबना रहनेछ । नाइजेरियाले जितेमा भने अर्जेन्टिनालाई फाइदा हुनेछ । अर्जेन्टिनाले अन्तिम खेल नाइजेरियासँग र आइसल्याण्डले क्रोयसियासँग खेल्दै छन् ।
प्रतिक्रिया