देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली र सीबीच आज भेटवार्ता

देशान्तर

काठमाडौँ । चीन भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिङपिङबीच आज भेटवार्ता हुनेभएको छ ।

चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार ओलीले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर समेत हुनेछ ।

प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्र्नुका साथै तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयले चीनका राष्ट्रपति सीले अघि सारेको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ६ वटा मुख्य क्षेत्रमा सहकार्य गर्न सकिने बताएका छन ।

चीन भ्रमणको पहिलो दिन हिजो मंगलबार बेइजिङमा नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा उनले यातायात तथा कनेक्टिभिटी, पर्यटन तथा संस्कृति, व्यापार तथा लगानी, कृषि, उद्योग तथा प्रविधि स्थानान्तरण, मानव क्षमताको प्रयोग र प्राकृतिक स्रोत तथा वातावरण गरी ६ मुख्य क्षेत्रमा चीनसँग सहकार्य गर्न सकिने बताएका छन ।

विगतमा भएको व्यापार तथा पारवहन सम्झौता अघि बढाउन नेपालले थप पहल गरेको भन्दै प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित मुलुक नेपालका लागि यातायातको सहजतापछि व्यापार तथा पारवहनमा खर्च कटौती हुनाका साथै अन्तर्राष्ट्रिय व्यापारमा समेत बढोत्तरी हुने बताएका छन ।

नेपाल र चीनले आगामी दिनमा परस्पर विश्वास, मित्रता, समझदारी, सहकार्य र सहयोगका आधारमा शान्ति र समृद्धिका लागि साझा गन्तव्य तय गरी काम गर्ने विश्वास व्यक्त गर्दै उनले सन् २०१६ मा आफ्नो भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयनका लागि आफूहरुले थप पहल गरेको बताए ।

सीमापार रेलमार्गको विकासले नेपाललाई नयाँ युगमा परिणत गर्ने र दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका छन ।

नेपाल र चीनबीच रेलमार्गका साथै सडकमार्ग, हवाई मार्ग, सञ्चार र ऊर्जाका क्षेत्रमा भएका समझदारी अगाडि बढ्नेमा आफू विश्वस्त रहेको दोर्होयाउँदै उनले प्रभावकारी सम्पर्क सञ्जालले नेपाललाई विश्व बजारको उत्पादन र वितरणका क्षेत्रमा प्रवेश गराउने र यसले क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारमा पनि महत्वपूर्ण आयाम प्रदान गर्ने बताएका छन ।