काठमाडौँ । यसैसाता नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययनरपरीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा दिसामा पाइने जीवाणु इकोलाई भेटिएको छ ।
नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तका अनुसार ५० ब्रान्डका जारको पानीको नमुना परीक्षण गरिएकोमा कोलिफर्मसँगै इकोलाई पनि फेला परेको हो ।
कलेज, स्कुल, होटल, सार्वजनिक स्थानमा राखिएका ५० ब्रान्डका सिलभएका जारको पानी उक्त जीवाणु फेला परेको हो । राष्ट्रिय खानेपानी मापदण्डअनुसार खानेपानीमा इकोलाई र कोलिफर्म शून्य हुनुपर्छ ।
नाष्टका अनुसार इकोलाईले हैजा र माहामारी फैलाउने काम गर्दछ । केही कोलिफर्म अति हानिकारक पनि भेटिएका छन ।
परीक्षणका क्रममा कोलिफर्म ९२ प्रतिशत देखिएको छ । मापदण्डअनुसार भौतिक, रासायनिक, बाइलोजिकलगायत २२ वटा प्यारामिटरबाट परिक्षण गरिएको छ । यसमा पीएच, धमिलोपन, आइरन, आरसेनिक, क्याडमियम, मरकरी, कोलिफर्म, इकोलाईलगायत कुराहरु परिक्षण गरिएको नाष्टले जनाएको छ ।
परीक्षणका क्रममा १२ प्रतिशतमा अमिलोपना एसिड फेला परेको छ । मापदण्डअनुसार पीएच ६.५ देखि ८.५ बीचको हुनुपर्छ । तर, १२ प्रतिशतमा जारमा ६.५ भन्दा कम भएको नाष्टले जनाएको छ ।
अमिलोपनाले शरिर चिलाउने रोग उत्पन्न गर्दछ । दुई प्रतिशत जारमा आइरन बढी देखिएको छ। मापदण्डअनुसार एक लिटरमा ०.३ मिलिग्रामभन्दा बढी आइरन हुनुहुँदैन । ४८ जारको पानीमा अमोनिया फेला परेको छ ।
अमोनियाले श्वासप्रश्वासमा समस्या हुन्छ । पानीमा तिखो गन्ध हुन्छ । लामो समयसम्म प्रयोग गरे मुटुसम्बन्धी समस्या हुने नाष्टले जनाएको छ ।
मापदण्डअनुसार पानीमा फ्लोराइडको मात्रा ०.५ देखि १.५ हुनुपर्छ । तर, १८ प्रतिशतमा जारको पानीमा उच्च मात्रामा फ्लोराइड फेला परेको नाष्टले जनाएको छ।
नाष्टका अनुसार कम मात्रामा फ्लोराइड हुँदा हड्डी कमजोर हुने, हड्डी लुलो हुने समस्या हुन्छ । बढी हुँदा हड्डी खिइने, दाँत प्वाल पर्नेलगायत समस्या उत्पन्न हुने नाष्टले जनाएको छ ।
नाष्टका अनुसार बोतलको पानीमा पनि उस्तै समस्या छ । नाष्टले गरेको परीक्षणमा ५५ ब्रान्डमध्ये २० ब्रान्डको पानीमा कैफियत भेटिएको छ ।
प्रतिक्रिया