देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भेलाले कांग्रेसमय हेटौँडा

देशान्तर

काठमाडौं । कांग्रेस जिल्ला सभापतिहरूको भेला आजदेखि हेटौँडामा सुरु हुँदै छ । निर्वाचनमा पार्टीको हारबारे समीक्षा गर्न केही समयअघि बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार जिल्ला सभापतिहरूको भेला डाकिएको हो ।

समीक्षा बैठकले निर्वाचनमा हारको वास्तविक कारण खोतल्न र पार्टीलाई थप प्रभावकारी बनाएर अघि बढ्ने बाटो पहिल्याउन नसकेपछि थप सुझाबका लागि जिल्ला सभापतिहरूको भेला आह्वान गरेको थियो । आगामी भदौमा महासमिति बैठक पनि बोलाइएको छ ।

भेलामा जिल्ला सभापतिहरूले निर्वाचनमा पराजय भोग्नुको कारण, तल्ला तहका कार्यकर्ताको सुझाब र गुनासो, पार्टीको विधान संशोधनबारे धारणा राख्नेछन् । ७ असारसम्म चल्ने भेलामा केन्द्रीय कार्यसमितिका सदस्य, ७७ जिल्लाका सभापति सहभागी हुँदै छन् ।

आजदेखि सुरु हुने राष्ट्रिय भेलाले हेटौँडालाई कांग्रेसमय बनाएको छ । मुख्य बजारको दुई किलोमिटर सडकका दायाँबायाँ पार्टी र चुनाव चिह्नअंकित झन्डा सजाइएका छन् ।

भेला प्रचारप्रसार संयोजक प्रदीप कोइरालाका अनुसार मकवानपुर उद्योग वाणिज्य संघ चोकदेखि फरेस्टी क्याम्पस गेटसम्म झन्डा र चुनाव चिह्न राखिएको छ ।

प्रत्येक चोकमा स्वागत गेट पनि बनाइएका छन् । कार्यक्रम स्थल पल्पसा सभाहल व्यवस्थित बनाइएको छ । सभाहलबाहिर पनि कार्यकर्ता, मिडिया डेक्स र सुरक्षाकर्मीका लागि व्यवस्थापन गरिएको कोइरालाले बताए  ।

तीन सय जनालाई बस्न होटेलको व्यवस्थापन गरिएको छ । आज बिहान ११ः३० बजे कांग्रेस सभापति शेरबहादुर देउवाले भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।