काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेलाको पूर्वसन्ध्यामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कांग्रेसले आजकालागि मकवानपुरको हेटौंडामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज अपरान्ह ४ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिँदै बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने जानकारी दिए ।
मंगलबारबाट सुरु हुने जिल्ला सभापतिहरुको भेलालाई केन्द्रित गरेर पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले पराजय ब्यहोरेपछि सभापति देउवाको आलोचना हुँदै आएको छ । कांग्रेसले सभापतिहरुको भेलाका लागि तीन वटा एजेण्डा तय गरेको मुख्य सचिव पौडेलले जानकारी दिए ।
उनले भेलाका लागि विधान संशोधन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने गरी एजेण्डा तय गरिएको बताए । कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले विधान संशोधन गरेर पार्टी सुदृढीकरणलाई प्राथमिकता दिने बताइएको छ ।
सभापतिहरुको भेलामा निर्वाचनमा व्यहोर्नु परेको पराजयमा पार्टी नेतृत्व तहबाट भएका कमी–कमजोरी, आगामी दिनमा अंगिकार गर्नुपर्ने रणनीति लगायतका विषयमा छलफल हुने पार्टी कार्यलयका मुख्य सचिव पौडेलले बताए ।
प्रतिक्रिया