देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली सरकारका सञ्चार मन्त्रीमा हिटलरको प्रेतात्मा

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका सबैभन्दा विश्वासपात्रमार्फत सरकारको अधिनायकवादी चरित्र उदाङ्गो भएको छ । ओलीका अत्यन्तै विश्वासपात्र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा सरकार र आफ्नो विरोध गर्ने सबैलाई तह लगाउने अधिनायवादी सोच देखाएका छन् । मन्त्री भएपछि प्रम ओलीको बालकोटको घरकुरुवाजस्तै गरेर मन्त्रीनिवास बनाएका बाँस्कोटाले नेपाल टेलिभिजनमा प्रम कार्यालयमा बुझाएको सम्पत्ति विवरणसम्बन्धी विषयमा कडा प्रश्न सोधेको भन्दै १२ वर्षदेखि सञ्चालित नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा प्रश्न’ बन्द गरिदिएपछि बाँस्कोटामार्फत ओलीको चरित्र उदाङ्गो भएको हो । बास्कोटाले टेलिभिजनका व्यवस्थापकलाई शनिबार प्रसारण हुने सो टक शो रोक्न मौखिक निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । मन्त्रीले प्रोग्राम रोक्न टीभीलाई मौखिक जानकारी दिएको र गएको मंगलबार न्यूज च्यानलले मन्त्रीजी रिसाउनुभयो, अब यो हप्ताबाट तपाईंको कार्यक्रम नजाने भयो भनेर सञ्चालक राजु थापालाई खबर गरिएको थियो ।

जेठ १२ गते प्रसारण भएको लाइभ टक शोमा अन्तर्वार्ताका क्रममा मन्त्री बास्कोटाले दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल भएपछि रिसाएर आफ्नो कार्यक्रम बन्द गरेको पत्रकार थापाले बताए । अन्तर्वार्ताका क्रममा पत्रकार थापासँग सञ्चारमन्त्री बास्कोटा उनले मन्त्री भएपछि बुझाएको सम्पत्ति विवरणमा दाइजोसम्बन्धी प्रसंगमा रिसाएका थिए । देशका जनताको सूचनाको संवैधानिक हक प्रत्याभूत गराउने, स्वतन्त्र प्रेसलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेका सरकारका प्रवक्ताको यो कदमले के यो सरकार स्वतन्त्र प्रेस गतिविधिको विपक्षमा भएको सन्देश गएको छ । सत्तालाई जवाफदेही बनाउने पत्रकार र सञ्चारमाध्यम नियन्त्रण गर्न चाहेको र त्यस्तो कदम लोकतान्त्रिक हुन सक्दैन । सत्ताको भूत र मातले गरिने यस्ता गतिविधिले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा हात्तीको देखाउने दाँतमात्रै त भएको तथ्य पुष्टि हुन्छ ।

अन्तर्वार्ताको दिनमा भित्र र बाहिरसमेत मन्त्री बास्कोटाको शैली ‘श्री ३ महाराज’भन्दा कम नभएको महशुस टेलिभिजनका कर्मचारीले गरेका गिए । सञ्चारमन्त्री बास्कोटाले अन्तर्वार्ताका दिन टेलिभिजन पुग्दा त्यहाँका पत्रकार र कर्मचारीलाई दासको व्यवहार गर्दै हप्काएको, आफूले नमस्कार गर्दासमेत नमस्कार नर्फाउनेगरी अपमान गरेका थिए । उनले टेलिभिजनका कर्मचारीलाई रैतीजस्तो व्यवहार गरेका थिए ।
अन्तर्वार्तापछि सञ्चारमन्त्री बास्कोटाले सञ्चालक थापालाई घाँटीमा ‘सुर्केनी’ लगाउने चेतावनी दिएका थिए भने नेपाल टेलिभिजनका महाप्रबन्धकलाई समेत थर्काएका थिए ।

यसैबीच मन्त्री बाँस्कोटाविरुद्ध यतिबेला वामपन्थी पत्रकार पनि देखिएका छन् । विशेषगरी राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनमा नियुक्तिका बिषयलाई लिएर तत्कालीन एमालेनिकटका पत्रकार असन्तुष्ट बनेका हुन् । राज्यमन्त्रीको ढोकाबाट प्रवेश गरेर एक्कासि कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य र फूल मन्त्री केपी ओलीको कृपाले पाएका बाँस्कोटाका कारण सिंगो सरकार बदनाम भएको भन्दै उनलाई हटाउन वामपन्थी विशेषगरी तत्कालीन एमालेनिकट प्रेस चौतारी आबद्ध पत्रकारले लबिङ सुरु गरेका छन् । प्रेस चौतारीका पूर्व तथा वर्तमान पदाधिकारी तथा चौतारीको अग्रजले समेत बाँस्कोटाले गरेको नेपाल टेलिभिजन र राससको नियुक्तिमा घुमाउरो पाराले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।