प्रतिपक्षी कांग्रेसका शीर्ष नेताहरू सरकारका कार्यशैलीप्रति आक्रामक भएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा मंगलबार सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा र युवा नेता गगन थापा सरकारको कार्यशैलीप्रति आक्रामक भएका हुन् ।
सरकारले समृद्धिको सपना बाँडे पनि बढ्दो महँगीले त्यसलाई गिज्याएको सभापति देउवाले आरोप लगाए । ‘बजारमा महँगी दिनदिनै बढेको छ । तर, सरकारले समृद्धि ल्याउने आश्वासन बाँडिरहेको छ । महँगी बढाएर कसरी समृद्धि आउँछ,’ उनले भने, ‘अब त महँगीविरुद्ध आन्दोलन नै गर्नुपर्ने जस्तो भइसक्यो ।’ नेता पौडेल पनि सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत भए । ‘संविधानमा सभामुख र उससभामुख फरक–फरक दलको हुनुपर्ने व्यवस्था भए पनि एउटै पार्टी भएपछि कम्युनिस्ट पार्टीले नछोड्ने संकेत गरिरहेका छन्,’ पौडेलले भने, ‘संविधानविपरीत प्रदेश प्रदेशमा प्रधानमन्त्रीले दुई तीन घन्टा भाषण गर्ने शैली राम्रो छैन । सरकार चलाउनका लागि प्रस्ट बहुमत हुँदाहुँदै अनायास दुईतिहाइका लागि सरकारले प्रयास गरिरहेको छ, यो रहस्यमय र शंकास्पद छ ।’
उससभापति निधिले सरकारबाट संघीयता, लोकतन्त्र र संविधान विरोधी काम भइरहेको भन्दै पार्टीले खबरदारी गर्दै अघि बढ्नुपर्ने बताए । महामन्त्री डा. कोइरालाले कांग्रेस एकताबद्ध हुँदा मात्र कम्युनिस्टसँग लड्न सकिने बताए । नेता सिटौलाले पनि सत्तारुढको भन्दा प्रतिपक्षी कांग्रेसको दृष्टि टाढा हुनुपर्ने बताए । ‘संविधान कार्यान्वयन गर्नेदेखि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारको नियत राम्रो छैन,’ सिटौलाले भने, ‘प्रतिपक्षीका रूपमा कांग्रेसले सशक्त प्रतिवाद गर्नुपर्छ । तर, हामी सुस्ताएका छौँ । यसरी हुँदैन ।’
प्रवक्ता शर्माले दुईतिहाइको बलमा संसदीय व्यवस्था नै मास्ने गरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा लाने षड्यन्त्रविरुद्ध कांग्रेसले सशक्त प्रतिवाद गर्नुपर्ने बताए । युवा नेता गगन थापाले सरकारका राम्रा काममा सहकार्य र गलत कामप्रति संघर्षको नीति लिनुपर्ने बताए ।
कार्यक्रममा नेताहरूले सबै क्षेत्रमा काम गर्ने मजदुरको हितसँग ट्रेड युनियनको आन्दोलनलाई जोड्नुपर्ने बताए । श्रमिकका हित हुने विषयलाई नजोडेसम्म ट्रेड युनियन सान्दर्भिकता बढ्दै जाने बताए । ट्रेड युनियनका अध्यक्ष खिलानाथ दाहालले श्रम कानुन सबै मजदुरको हितका लागि आफूहरूले सक्रियतापूर्वक काम गर्ने बताए । नयाँ पत्रिकाबाट
प्रतिक्रिया