देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रेड युनियन कांग्रेसको महाधिवेशन सुरु : कांग्रेस नेताहरु आरोपप्रत्यारोपमा

देशान्तर

सरकारको कार्यशैलीविरूद्ध सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरू आक्रमकरूपमा प्रस्तुत भएका छन् । मंगलबार नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं राष्ट्रिय महाधिवेशनमा उनीहरू सरकारको कार्यशैलीप्रति चर्को विरोधमा उत्रेका  हुन् । सरकारले समृद्धिको सपना बाँडे पनि बढ्दो महंगीले त्यसलाई गिज्याएको आरोप सभापति देउवाले आरोप छ । ‘बजारमा महंगी दिनदिनै बढेको छ । तर, सरकारले देशमा समृद्धि ल्याउने आश्वासन बाढिरहेको छ । महंगी बढाएर कसरी समृद्धि आउँछ ?’ देउवाले भने, ‘अब त महंगीविरुद्ध आन्दोलन नै गर्नुपर्ने जस्तो भइसक्यो ।’

नेता रामचन्द्र पौडेल पनि सरकारविरूद्ध नै खनिए । ‘संविधानमा सभामुख र उससभामुख फरकफरक दलको हुनुपर्ने व्यवस्था भए पनि एउटै पार्टीभएपछि कम्युनिष्ट पार्टीले नछोड्ने संकेत गरिरहेका छन्’ पौडेलले भने, ‘संविधान विपरित प्रदेश प्रदेशमा प्रधानमन्त्रीले दुई तीन घण्टा भाषण गर्ने शैली पनि राम्रो भएन ।’

उनले बहुमत भएको सरकारले दुई तिहाईको लागि मरिहत्ते गर्नुलाई पनि उनले शंकाको नजरले हेरे । ‘सरकार चलाउनका लागि प्रष्ट बहुमत हुँदैहुँदै अनायासै दुई तिहाईको लागि सरकारले प्रयास गरिरहेको छ’ पौडेलले भने, ‘दुई तिहाईको प्रयस रहस्यमयी र शंकास्पद छ । यो खराब नियतविरूद्ध कांग्रेसले खबरदारी गर्नुपर्छ ।’ उससभापति विमलेन्द्र निधिले सरकारबाट संघीयता, लोकतन्त्र र संविधान विरोधी काम भइरहेको भन्दै पार्टीले खबरदारी गर्दै अघि बढ्नुपर्ने बताए ।

महामन्त्री डा. शशांक कोइरालाले एकतावद्ध कांग्रेस हुँदामात्र कम्युनिष्टसँग लड्न सकिने बताए । नेता कृष्णप्रसाद सिटौलाले पनि सत्तारूढको भन्दा प्रतिपक्षी कांग्रेसको दृष्टि टाढा हुनुपर्ने बताए । ‘संविधान कार्यान्वयन गर्नेदेखि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि सरकारको नियत राम्रो छैन’ सिटौलाले भने, ‘प्रतिपक्षीकारूपमा कांग्रेसले सशक्त प्रतिवाद गर्नुपर्छ । तर, हामी सुस्ताएका छौँ । यसरी हुँदैन, चल्दैन ।’

प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाईको बलमा संसदीय व्यवस्था नै मास्नेगरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा लाने षडयन्त्रविरूद्ध कांग्रेसले सशक्त प्रतिवाद गर्नुपर्ने जिरह सुनाए । नेता गगन थापाले सरकारका राम्रा काममा सहकार्य र गलत कामप्रति संघर्षको नीति लिनुपर्ने बताए । कार्यक्रममा बोल्ने सबै नेताहरुले सबै क्षेत्रमा काम गर्ने मजदुरको हितसँग ट्रेड युनियनको आन्दोलनलाई जोड्नुपर्ने बताए । श्रमिकका हित हुने विषयलाई नजोडेसम्म ट्रेड युनियन सान्दर्भिकता बढ्दै जाने बताए ।

पार्टीभित्रको मतभेद नेताहरूले यसरी पोखे

मलाई गाली गरेर पार्टी बलियो बन्दैन : शेरबहादुर देउवा

गिरिजा र सुशीलजी हुँदा पार्टीमा चुइक्क बोल्न नपाएकाहरुले अहिले बल्ल बोल्न पाएका छन् । शेरबहादुरको विरोध गरेर मात्र अहिलेको चुनौती सामना गर्न सकिँदैन । मलाई गाली गरेरमात्र पार्टी बलियो हुँदैन । कम्युनिस्टहरुविरूद्ध बोल्नुस् मविरुद्ध त बोल्न पाइहाल्नुहुन्छ नी !

नेताहरु सहमति र विधान अनुसार पार्टी चलाउनु भन्नहुन्छ । यो दुईवटै एकपटकमा हुँदैन । कि सहमति अनुसार हुन्छ की विधान अनुसार हुन्छ । आफूलाई चाहिएको बेला सहमति भन्नुहुन्छ । नचाहिएको बेला विधानको कुरा गर्नुहुन्छ । यसरी हुँदैन । निर्वाचनमा सहमतिमै दुई महिना लगाएर टिकट बाँडेका हौं । कोही जित्यौँ कोही हा¥यौँ ।

फेरी हाम्रो विधानले दुईवटकभन्दा बढी सभापति बन्न नपाइने भन्ने छ । मलेसियामा ९२ वर्षका प्रधानमन्त्री भएका छन् । म त कहाँ त्यति भएको छु र ?

पार्टीमा नैतिक शक्ति आवश्यक : रामचन्द्र पौडेल

पार्टी सच्चिुपर्छ । नसच्चिदा कस्तो हालत भएको छ यो हामी सबैले देखेका छौँ । तर, अहिले पार्टीमा एकता आवश्यक छ । पार्टीभित्र न्याय, निष्पक्षता आवश्यक छ । विधानको दायराभित्र पार्टी चल्नुपर्छ । सहमतिमा चल्नुपर्छ । एकता गर्नुपर्छ भन्नेमा छौँ तर, यसका लागि प्रष्ट आधार हुनुपर्छ । हामी कम्युनिस्टसँग लड्नुपर्ने बेलामा हौँ । तर, उनीहरुसँग लड्न हामीसँग कति नैतिक शक्ति छ ? जनताको मन जितेर बलियो हुनुपर्छ । पार्टी सिद्धान्तले जित्ने तर संगठनले हार्ने अवस्था आएको छ यसको मूल्यांकन गर्नुपर्छ ।

हार्न मात्र होइन जित्न पनि जानेका छौँ : विश्वप्रकाश शर्मा, प्रवक्ता

हामी एक निर्वाचनमा हारे पनि अर्कोबाट जित्न जानेका छौँ । सधै यस्तो हुँदै आएको छ । यसको लागि हामीले एकतावद्व भएर अघि बढ्नुपर्छ । भिन्न–भिन्न बाटोमा हिँडेका ओली र प्रचण्डहरू त एक भएका छन् । हामी एउटै थालमा खाएका कांग्रेस नेताहरू किन नमिल्ने ?

पुरानो होइन नयाँ ठाउँमा लानुपर्छ : गगन थापा

कांग्रेसलाई सभापति (शेरबहादुर देउवा) पुरानो ठाउँमा लानुपर्छ भन्नहुन्छ । तर, अब पुरानो ठाउँमा लगेर हुँदैन । नयाँ ठाउँमा लानुपर्छ । १५ साल र ५६ सालमा हामीले बहुमत ल्याउँदा पाएको मत प्रतिशत क्रमशः ३७ र ३८ हो । अहिले पनि हामीले सयमा ३० हाराहारी मत पाएका छौँ । तर, कम्युनिस्ट पार्टीले ५३ प्रतिशत मत ल्याएका छन् । अब उनीहरुलाई जित्न १५ लाख मत थपेर मात्र पुग्दैन । नयाँ थपिएका मतदातामा पनि बहुमत हासिल गर्नुपर्छ । यसका लागि पार्टीभित्र सहकार्य र संघर्ष गर्नुपर्छ । नयाँ पत्रिकाबाट