काठमाडौँ । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणी उप्रेती गोरेसहित ३ जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।
मोरङ कारागारबाट गोरेसहित भुजुङ गुरुङ र छिरिङ वांग्दी गुरुङको सम्पत्ति छानविन गर्न काठमाडौं ल्याइएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ ।
गोरसहित छिरिङ र भुजुङमाथि आजबाट अनुसन्धान सुरू गरिने सम्पत्ति शुद्धीकरण विभागका सूचना अधिकारी विनोद लामिछानेले जानकारी दिए। अनुसन्धानपछि कुन कारागार राख्ने भन्ने अझै तय भएको छैन ।
लामिछानेले भने, ‘विभागको आफ्नै ‘कस्टडी’ छैन, सुरक्षा निकायहरूसँग समन्वय गरेर कतै राखिन्छ ।’ ३३ किलो सुन र सनमहत्याको छानविन गर्न बनेको समितिले उनीहरूको सम्पत्ति छानविन गर्न सुझाव दिएपछि सम्पत्ति शुद्धीकरण विभागले उनीहरूलाई काठमाडौं झिकाएको हो ।
समितिका सदस्य एसएसपी बसन्त लामाका अनुसार गोरे, भुजुङ र छिरिङको सम्पत्ति छानविन गर्न प्रतिवेदनमा सुझाव दिइएको थियो। ’हामीले उनीहरूको सम्पत्ति छानविन छिटो गर्न सुझाव दिएका थियौं त्यसैले सम्पत्ति शुद्धीकरण विभागले छानविन अघि बढाएको हो,’ उनले भने।
प्रतिक्रिया